प्रदेश राजधानी नतोक्दै सुरू भयाे आन्दोलन ! - Naya Patrika
eNaya Patrika
  • ePaper

प्रदेश राजधानी नतोक्दै सुरू भयाे आन्दोलन !

७ नम्बर प्रदेशको प्रदेश राजधानीको माग राख्दै डोटी जिल्ला अनिश्चितकाल बन्दको घोषणा गरिएको छ । पुस १२ गतेदेखि १८ गतेसम्म शान्तिपूर्ण आन्दोलन गरेको संघर्ष सितितिले बुधबारबाट सडक आन्दोलन गरेको हो ।

प्रदेश नम्बर ७ को राजधानी डोटी कायम राख्नुपर्ने भन्दै सरकारलाई दबाब दिन संघर्ष समिति गठन गरिएको थियो । डोटी उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्रबहादुर खड्काको संयोजकत्वमा बनेको संघर्ष समितिले आज डोटीका सबैजसो बजार क्षेत्रमा यातायात तथा बजार बन्द गराई प्रदर्शन गरिएको थियो ।

बन्दका कारणबीच बाटोमै अड्किएका सवारीसाधनहरुलाई गन्तव्यमा पु¥याउन आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म सडक तथा बजार खुल्ने निर्णय गरेको र भोलिबाट पूर्णरुपमा बन्द गरिने संघर्ष समितिका संयोजक नरेन्द्रबहादुर खड्काले जानकारी दिए ।

सरकारले प्रदेशको राजधानी डोटी कायम नगरेसम्म आन्दोलन जारी रहने खड्काले बताए । ‘भौगोलिक दृष्टिकोण, ऐतिहासिक तथा भौतिक संरचनाका आधार लगायत सम्पूर्ण आधारले राजधानी डोटीनै हुनुपर्छ’, खड्काले भने,‘साबिकको सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम समेत डोटीनै भएका कारण डोटी बाहेक अन्यत्र यदि राजधानी घोषणा गरिएको भने प्रदेश नम्बर ७ का सात वटा पहाडी जिल्ला ठप्प गरिने छन् ।’

भोलिदेखि डोटीको बुडर क्षेत्रमा समेत बन्द गरिने संघर्ष समितिले जानकारी दिएको छ । बुडर क्षेत्रमा बन्द गर्दा प्रदेश नम्बर ७ का सात वटै पहाडी जिल्लामा जाने नाका बन्द हुने छ । यदि आन्दोलन हिंसात्मक भए त्यसको सबै जिम्मा सरकारले लिनुपर्ने संयोजक खड्काले बताए । डोटी राजधानी कायम गराउन सरकारलाई सबैले दबाव दिनुपर्ने निबर्तमान सभासद् कल्पना सोपले बताइन् ।

आन्दोलनमा नागरिक समाज तथा डोटीमा क्रियाशील राजनीतिक दलहरुले समेत साथ दिइएरहेका छन् । राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुको समेत आन्दोलनमा सहभागिता छ । ‘डोटेली जनता माथि अन्याय भएकाले सरकारलाई दबाव दिन सबैले एक हुनुपर्छ’, एमालेका अध्यक्ष चक्रबहादुर मल्लले भने, ‘हामीले निर्वाचनका बेलै प्रदेश नम्बर ७ को राजधानी डोटी बनाउछौँ भनेका थियौँ ।’ मल्लले भने, ‘यो विषय नितान्त राजनीतिक बिषय भएकाले हामी जसरी भएपनि डोटेली माथि अन्याय हुन दिँदैनौँ ।’

‘हामीले नयाँ कुरा मागेका हैनौं’, कांग्रेसका क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति विजय खड्काले भने, ‘डोटीमा क्षेत्रीय सदरमुकाम भएकाले पाएको सुबिधा नखोस्न सरकारलाई दबाव स्वरुप आन्दोलनमा गएका हौं ।’ खड्काले यदि जायज मागको सरकारले व्यवास्ता गरे परिणाम नराम्रो हुने चेतावनी दिए ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य जनार्दन जोशीले सरकारले प्रदेश नम्बर ७ को राजधानी डोटी घोषणा गर्नुपर्ने बताए । यदि प्रादेशिक राजधानी डोटी नबनाए प्रदेश नम्बर ७ का सात वटा पहाडी जिल्ला टुक्र्याएर अलग प्रदेश बनाउनुको विकल्प नरहेको जिकिर गरे ।

तोडफोडमा उत्रिए आन्दोलनकारी

आन्दोलनकारीले सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय भवनका झ्यालका सिसा तोडफोड गर्नुका साथै क्षेत्रीय प्रशासन कार्यालयमा ढुङ्गा–मुडा प्रहार गरेका छन् । साबिकको क्षेत्रीय सदरमुकाम दिपायल तथा जिल्ला सदरमुकाम सिलगढीका चोक–चोकमा टायर बालेर दिनभर आन्दोलनकारीले प्रदर्शन गरे । बन्दका कारण छोटो तथा लामो दुरीका सवारी साधनहरु चल्न सकेनन् ।

सरकारको स्पष्टोक्ति

सरकारले प्रदेश राजधानीका विषयमा आधिकारीका धारणा सार्बजनिक गरेको छ । आज सरकारले प्रादेशिक राजधानी टुंगो लागिनसकेको प्रष्टिकरण दिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ,‘संविधानको धारा २८८ को उपधारा ३ बमोजिम प्रदेशको कार्यसञ्चालन गर्ने स्थान तोक्ने सम्बन्धमा हालसम्म कुनै निर्णय भएको छैन ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको थियो ।

पन्थीका अनुसार प्रदेश नंं १ को विराटनगर, प्रदेश नंं २ को जनकपुर, प्रदेश नंं ३ को भक्तपुरको ठिमी, प्रदेश नंं ४ को पोखरा, प्रदेश नंं ५ को दाङ, प्रदेश नंं ६ को सुर्खेत र प्रदेश नंं ७ को धनगढी अस्थायी मुकाम प्रस्ताव गरिएको छ । शहरी विकास मन्त्रालयले स्थलगत अध्ययनपछि ती ठाउँ उपयुक्त हुने भएपछि मुकाम राख्नका लागि प्रस्ताव गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु