१८ महिनाको सम्झौता ३ वर्षमा पनि पूरा भएन - Naya Patrika
eNaya Patrika
  • ePaper

१८ महिनाको सम्झौता ३ वर्षमा पनि पूरा भएन

एक घर, एक धाराको परिकल्पनासहित १८ महिनामा सम्पन्न गर्ने सम्झाैता भएको मुसीकोट तेस्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजना ३ वर्षसम्म पनि सम्पन्न हुन सकेको छैन् ।

खानेपानी मन्त्रालयको सहयोगमा २०७१ फागुनमा कन्काइ इन्टरनेशनल विल्डर्स प्रा.लि सुरुंगा झापाले निर्माणको जिम्मा लिएको थियो । सम्झौता अनुसार, २०७३ भदौमा काम सम्पन्न हुनुपर्ने हो । निर्धारित समय सकिएको डेड वर्षसम्म पनि कामले पुर्णता पाउन सकेको छैन् ।

अहिलेसम्म आयोजनाको करिब ९० प्रतिशत काम सकिएको आयोजनाको स्थानिय संयोजन गर्ने जिम्मा लिएको मुसिकोट खलंगा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष महेन्द्र केसीले जानकारी दिए ।

उनका अनुसार, आयोजनाका कुल ६ ओटा ड्याम मध्यमा ६ ओटै निर्माण भैसकेका छन् भने मुख्य लाईनको करिब करिब पाईप विस्तार भैसकेको छ भने घर घरमा पाईप विस्तारको काम पनि करिब अन्तिम चरणमा पुगेको छ । अव आयोजना अन्तरगतका मुहानमा इन्टेक निर्माण, तारवार, २ ठाउँमा फिल्टर मिडियाको काम बाँकी रहेको अध्यक्ष केसीले बताए । त्यस्तै आयोजनाको भवन निर्माणका काम भने सकिएको छ ।

नाकाबन्दी र भुकम्पलाई कारण बनाउँदै म्याद थप
भारतले गरेको नाकाबन्दी र २०७२ सालमा गएको भुकम्पका कारण काममा ढिलाई भएको भन्दै पटक पटक आयोजनाको म्याद थप गरिदै आएको छ । सोही कारणले नै आयोजना निर्माणमा ढिलाई भैरहेको निर्माणको जिम्मा लिएको कन्काई इन्टरनेशनल विल्डर्स प्रा.लिले दाबी गरेको छ ।

‘निर्धारित समयमै निर्माण सम्पन्न गर्ने गरी काम भैरहेको थियो, कन्काइ इन्टरनेशनल विल्डर्स प्रा.लिका अथोराईड डाईरेक्टर यामवहादुर केसीले भने, ‘२०७२ असोज देखि भारतले नाकामा गरेको अवरोधका कारण निर्माण सामाग्री आयातमा समस्या भयो त्यस्तै २०७२ बैशाखमा गएको भुकम्पले पनि निर्माणमा केही असर पुर्याएको हो ।’

आयोजनाका लागि आवश्यक पाईप देखि अन्य सम्पुर्ण सामान भारतबाट ल्याउनुपर्ने भएकाले नाकाबन्दी हुँदा समयमै सामान ल्याउन नसकिएको कम्पनिको भनाई छ । त्यस्तै केही मुहानबाट पानी ल्याउने विषयमा मुहानवासीले असहमति जनाएको र उक्त विवाद मिलाउँदा पनि केही समय खर्चनु परेको उनको भनाई छ ।

निर्धारित समयमा काम सम्पन्न नभएपछि सुरुमा तीन महिनाको समय थपिएको थियो । त्यो समयमा पनि काम सम्पन्न नभएपछि पछिल्लो पटक थपिएको दुई महिनाको म्याद पनि गतवर्षको माघ १८ गते नै सकिएको थियो । त्यसपछि फेरी पाँच महिनाको समय थप्दा पनि काम सम्पन्न हुन सकेन ।

उक्त ५ महिनाको समय चैत्र मसान्तमा सकिएको थियो भने त्यसपछि हालसम्म पटक पटक म्याद थपिएको छ । पछिल्लो पटक थप गरिएको २ महिनाको म्याद आगामी माघ मसान्तमा सकिदैछ छ ।

निर्धारित समयमा काम नसकेपछि कम्पनी कारवाहीमा

१४ करोड लागतमा १८ महिनामा काम सम्पन्न गर्ने गरी निर्माणको जिम्मा लिएको कन्काई इन्टरनेशनल विल्डर्स प्रालिले निर्धारित समयमा काम सम्पन्न गर्न नसक्दा जरिवानामा काम गरिरहेको छ ।
पटक पटक म्याद थप गर्दापनि काम सम्पन्न गर्न नसेपछि कम्पनिले हाल जरिवानामा काम गरिरहेको आयोजनाको स्थानिय संयोजन गर्ने जिम्मा लिएको मुसिकोट खलंगा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष केसीले जानकारी दिए ।

कम्पनीले करिब १ करोड ३० लाख जरिवाना सरकारलाई तिर्नुपर्ने छ । पटक पटक म्याद थप भैसकेको र कम्पनिले समेत जरिवानामा काम गरिरहेकाले अव आयोजनाको काम पछिल्लो पटक थप गरिएको म्याद माघ मसान्तसम्म जसरी पनि सम्पन्न गर्ने गरी काम भैरहेको कम्पनिले जनाएको छ । पछिल्लो पटक थप गरिएको २ महिनाको म्याद माघ मसान्तमा सकिदै छ ।

नगरवासी आक्रोशित

निर्धारित समयमै काम सकिएर घर घरमा स्वच्छ पानी पाउँने आशामा बसेका मुसीकोट नगरवासी आयोजनाको काम ३ वर्षसम्मपनि नसकिदा आक्रोशित बनेका छन् । आयोजनाका लागि आफ्नो तर्फबाट तिर्नुपर्ने पैसा समेत तिरेको लामो समय हुँदा पनि आयोजनाको काम सम्पन्न नभएपछि नगरवासीमा आक्रोस बढेको हो ।

ठेकेदार कम्पनीको ढिला सुस्तिका कारण आयोजनाको काम सम्पन्न हुन नसकेको मुसीकोटका व्यवशायि धनवहादुर खड्काले बताए । ‘निर्धारित समयमा आयोजना सम्पन्न नहुँनमा सबै भन्दा ठुलो कमजोरी निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनिको छ खड्काले भने–त्यसपछि स्थानीय संयोजन गर्ने जिम्मा लिएको खानेपानी संस्था र जिल्लाका राजनितिक दल तथा सरोकारवालाहरुको पनि यसमा कमजोरी देखिएको छ ।’

निश्चित पटक सम्ममात्र म्याद थप्न पाईने व्यवस्था रहेपनि यस आयोजनाको पटक पटक म्याद थप्दापनि कसैले चासो दिन नसकेको भन्दै उनले आक्रोस पोखे । पछिल्लो पटक थपिएको २ महिनाको म्यादा माघ मसान्त सम्म रहेको र उक्त समयमा आयोजनाको काम सम्पन्न गर्ने भनिएपनि आफुहरु त्यसमा विश्वस्त नरहेको नगरवासीले बताएका छन् । यसरी पटक पटक म्याद थप्ने र आयोजनाको काम नसक्ने परिपाटी विगत एक वर्षदेखि चल्दै आएकाले अहिलेपनि विश्वस्त रहने अवस्था नरहेको व्यवसायी खड्काले बताए ।

१४ करोड बजेटमा यस्तो बन्दै छ आयोजना

एक घर, एक धाराको अवधारणा सहितको यो आयोजना खानेपानी मन्त्रालयको हो । यसमा खानेपानी मन्त्रालयले कुल १४ करोडको ७० प्रतिशत खर्च ब्यहोरी रहेको छ । २५ प्रतिशत उपभोक्ताले ऋण लगानी गरेका छन् भने पाँच प्रतिशत उपभोक्ताले अनुदान सहयोग गरेका छन् ।

आयोजना मार्फत अहिले तत्काललाई जिल्ला सदरमुकामका करिब १४ सय घरधुरीलाई नेपाल गुणस्तर मापदण्डको पानी २४ सैं घण्टा उपलब्ध गराउने आयोजनाको लक्ष छ । यो आयोजनाबाट मुसिकोट एक, दुई र छ नम्बर वडाका सबै तथा चार नम्बर वडाका केही स्थानीय लाभान्वित हुने छन् । क्रमशः उपभोक्ता संख्यालाई बढाउँदै जाने लक्ष रहेको बताईएको छ ।

आयोजनाका लागि सदरमुकामका पाँच ओटा खानेपानी मुहानलाई छनौट गरिएको छ । उक्त मुहानबाट पानी संकलन गरी ट्यांकीमा जम्मा गरेर घरघरमा पु¥याईने छ । आयोजनाका ६ ओटा ड्यामको भण्डारण क्षमता करिब ७ लाख लिटर रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु