प्रादेशिक राजधानी प्रस्तावप्रति डोटीले किन चित्त दुखायो ? - Naya Patrika
eNaya Patrika
  • ePaper

प्रादेशिक राजधानी प्रस्तावप्रति डोटीले किन चित्त दुखायो ?

सरकारले मंगलबार ७ वटै प्रदेशको राजधानी प्रस्ताव गरेसँगै देशका विभिन्न ठाउँमा आन्दोलन सुरु भएको छ । ७ नम्बर प्रदेशको राजधानी डोटी बनाउनु पर्ने माग राखी डोटीका स्थानीयहरुले अनिश्चितकालीन जिल्ला बन्दको घोषणा गरे ।

सरकारले प्रदेश ७ को अस्थायी प्रादेशिक राजधानी धनगढी बनाउने प्रस्तावसँगै डोटीका नागरिक आन्दोलित भएका हुन् । डोटीको दिपायलमा संघर्ष समितिको बैठक सम्पन्न भएसँगै अनिश्चितकालिन बन्द सुरु भएको हो ।

बन्दका कारण दिपायल, पिपल्ला लगायतका मुख्य बजारहरु बिहानैदेखि सुनसान भएको छ । भने, सरकारी कार्यालय, बजार, गैरसरकारी संस्था, शिक्षण संस्थाहरुसमेत बन्दले प्रभावित भएको छ ।

एम्वुलेन्स, दमकल, प्रेस, शव वहान, निलो प्लेटका केही सवारी साधन चल्न दिने समितिले निर्णय गरेको छ । केही समय अघि आन्दोलनकारी तोडफोड तथा आगजनी लगायतका कार्य गरेको भएता पनि अहिले त्यहाँको स्थिति शान्तिपूर्ण रहेको डोटी प्रहरीले जनाएको छ ।

संघर्ष समितिका सदस्य दीपकबहादुर खड्काले पहाडका जनताको पिर मर्का नबुझी सरकारले प्रादेशिक राजधानी तोकेकाले बाध्य भएर आन्दोलित हुनुपरेको प्रतिक्रिया दिए ।

उनले भौतिक पूर्वाधारदेखि भौगोलिक दूरीका हिसाबले पनि दिपायल प्रदेश राजधानीका लागि उपयुक्त भएको तर्क गर्दै माग पूरा नभएसम्म अनिश्चितकालिन डोटी बन्द गरिने जानकारी दिए । डोटीमा ग्रामिण भागमा पनि बिरोध प्रर्दशन सुरु भएको छ ।

तपाईको प्रतिक्रिया