३२ महिनापछि बन्यो अस्पताल भवन - Naya Patrika
eNaya Patrika
  • ePaper

३२ महिनापछि बन्यो अस्पताल भवन

विनाशकारी भूकम्प गएको ३२ महिनापछि जिल्ला अस्पताल रसुवाको भवन बनेको छ । अस्पतालका लागि रेडक्रसले प्रि–फ्याब भवन बनाइदिएको हो । भूकम्पले भवन पूर्ण क्षति भएपछि अस्पतालले त्रिपालबाटै सेवा दिँदै आएको थियो । रेडक्रस रसुवाका सभापति बाबुलाल तामाङले नवनिर्मित भवनको साँचो मंगलबार जिल्ला स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरे । तामाङले जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गुणनिधि शर्मालाई साँचो हस्तान्तरण गरेका हुन् ।

भवन हस्तान्तरण भए पनि स्वास्थ्य सेवा भने त्रिपालबाटै सञ्चालन भइरहेको छ । हस्तान्तरण गरिएको भवनबाट अबको केही दिनभित्रै सेवा सुचारु गरिने जनाइएको छ ।

सो भवन करिब चार करोड २५ लाखको लागतमा बनेको सभापति तामाङले बताए । भवनमा पाँचवटा शौचालयसहित २० कोठा छन् । सभापति तामाङले भने, ‘विभिन्न समस्याको बाबजुद पनि हामीले १५ शड्ढयाको फ्रिफयाब भवन निर्माण गरी हस्तान्तरण गरेका छौँ, अब बिरामीको उपचारमा सहज हुनेछ ।’

अस्पतालका लागि ४२ लाख ९५ हजारको लागतमा उपकरणसमेत खरिद गरी हस्तान्तरण गरिएको तामाङले बताए । अस्पताललाई १५ वटा शड्ढया, डेन्टल चेकअप सेट, इलेक्ट्रोकाडियोग्राम मेसिन र पोट्रेबल, अक्जिन कन्सन्टे्टर, अल्टासाउन मेसिन र फिन्टर, जेनेरेटरलगायतका सामग्री हस्तान्तरण गरेको उनको भनाइ छ ।

भूकम्पपश्चात् रेडक्रसको सहयोगमा टेन्ट तथा त्रिपालबाट जिल्ला अस्पताल सञ्चालनमा ल्याइएको थियो । करिब डेढ वर्षसम्म प्रयोग गर्न सकिने टेन्ट, भूकम्प गएको ३२ महिना पुग्दासम्म पनि प्रयोग भइरहेको थियो । अहिले निर्माण भएको ‘सेमिपर्मानेन्ट प्रि–फेब्रिकेटेड’ भवन करिब ३० वर्षसम्म प्रयोग गर्न सकिने रेडक्रस सोसाइटीले जनाएको छ ।

गत असारमा १५ शैयाको प्रिफ्याब भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि विभिन्न समस्याका कारण करिब ६ महिना ढिलाइ भएको रेडक्रस सोसाइटी रसुवाका संयोजक मधुसुदन थापाले बताए । भवन हस्तान्तरण भए पनि स्वास्थ्य सेवा भने त्रिपालबाटै सञ्चालन भईरहेको छ । हस्तान्तरण गरिएको भवनबाट अबको केही दिनभित्रै सेवा सुचारु गरिने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख गुणनिधि शर्माले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु