टहरामा निमोनियाको प्रकोप - Naya Patrika
eNaya Patrika
  • ePaper

टहरामा निमोनियाको प्रकोप

भूकम्पपछि जस्ताको टहरामा बसेका बालबालिकालाई चिसोका कारण निमोनियाको संक्रमण हुन थालेको छ । जिल्लाको उच्च क्षेत्रमा तुषारो र हिमपातका कारण चिसो अत्यधिक बढ्दा बालबालिका र वृद्धवृद्धा बिरामी परेका छन् ।


भूकम्प गएको ३० महिना बितिसक्दा पनि पीडितका घर बन्न सकेका छैनन् । टहरामा बसेका इलमपोखरी, कोल्की, दूधपोखरीलगायत ठाउँका बालबालिका र वृद्धवृद्धामा निमोनिया देखिएको स्थानीयले बताएका छन् । भुइँको चिसो र जस्ताबाट झरेको शीतले बालबालिका बिरामी भएको कोल्की–५, बेतेनीकी आइतकुमारी गुरुङले बताइन् ।

भूकम्प गएको ३० महिना बितिसक्दा पनि पीडितका घर नबन्दा टहरामा बसेका इलमपोखरी, कोल्की, दूधपोखरीलगायत ठाउँका बालबालिका र वृद्धवृद्धालाई निमोनिया

भुइँबाट आउने चिसो र तुषारोबाट समेत अत्यधिक चिसो बढ्न थालेपछि बालबालिकासँगै वृद्धवृद्धा प्रभावित छन् । गुरुङले भनिन्, ‘जाडो बढ्न थालेपछि बालबालिका र वृद्धवृद्धा निकै प्रभावित भएका छन्, बिरामीको संख्या दिनदिनै बढिरहेको छ ।’

बिचौरकी कमला गुरुङले जस्ताको टहारामुनि बस्दा आफ्नो दुई वर्षको छोरालाई निमोनिया भएको बताइन् । ‘जाडोमा बस्दा बच्चालाई निमोनिया भयो,’ उनले भनिन् ‘बच्चामा जाडोका कारण अन्य रोगसमेत देखिन थाल्यो ।’ इलमपोखरी–३, ठूलोकाभ्रेका बालबालिकासमेत निमोनियाको संक्रमण देखिन थालेको स्थानीय राजमान गुरुङले बताए । ‘तुषारो पर्दा जस्ताबाट चिसो आइराख्छ,’ उनले भने, ‘निकै कष्टकर छ जनजीवन ।’

बिचौर स्वास्थ्यचौकीका प्रमुख प्रकाश चौधरीले स्वास्थ्यचौकीमा चेकजाँचका लागि आउने अधिकांश बालबालिकामा रुघाखोकी, श्वासप्रश्वास र निमोनियाको संक्रमण देखिएको बताए । जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङका वरिष्ठ जनस्वास्थ्य अधिकृत केशवप्रसाद चापागाइँले न्यानो कपडाको अभावमा निमोनिया भएको हुन सक्ने बताए । ‘जाडोका कारण पाँच वर्षमुनिका बालबालिका निकै जोखिममा छन्’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु