छाउपडीविरुद्ध धामीझाँक्री नै सक्रिय - Naya Patrika
eNaya Patrika
  • ePaper

छाउपडीविरुद्ध धामीझाँक्री नै सक्रिय

तिला गाउँपालिका–५ डुङरी मष्टोका धामी ८० वर्षीय सन्तके रावतले महिनावारी भएको अवस्थामा सरसफाइ गरेर घरभित्रै बस्न सल्लाह दिए । नियमित सरसफाइ गरी आफ्नै कोठामा सुत्नुपर्ने उनको भनाइ छ । छाउगोठमा बस्दा स्वास्थ्य समस्या हुने उनले बताए । छाउगोठमा महिला असुरक्षित हुने गरेका छन् । रावतले भने, उहिलेको जस्तो समय छैन, गोठमा एक्लै बस्दा कुनै पनि आपराधिक घटना हुन सक्छ, महिनावारी हुँदा घरभित्रै बस्नुपर्छ ।’


सोही गाउँका अर्का धामी कालीबहादुर रावतले पहिला आफूहरूले नबुझेर महिनावारी भएको समयमा गाईगोठमा राख्ने गरेको बताए । ‘अहिले विस्तारै हामी सचेत हुँदै गएका छौँ,’ उनले भने, ‘अब महिनावारी भएका  वेला गोठमा होइन, सरसफाइ गरेर  घरभित्रै बस्नुपर्छ ।’

के छ कानुनी व्यवस्था ?
मुलुकी अपराध आचारसंहिताको धारा १६८ मा अपमानजनक व्यवहार गर्न नहुने, महिला रजस्वला तथा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै, अन्य किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु वा गराउनु नहुने व्यवस्था छ । छाउपडी निर्देशिका ०६४ ले पनि छुइ अर्थात् महिनावारी भएको अवस्थामा छुट्टै गोठमा राखी दुव्र्यहार वा भेदभाव गर्न नहुने र त्यस्तो गरिएको पाइएमा ऐन कानुनअनुसार कारबाहीको भागेदारी हुनुपर्ने उल्लेख छ ।

स्थानीय सरस्वती रावतले गाउँमा महिला सशक्तीकरण तथा जीविकोपार्जनमा सुधार कार्यक्रम सञ्चालन भएकाले नराम्रा कुरामा सुधार हुन थालेको बताइन् । उनले भनिन्, ‘महिनावारी भएका वेला गाईगोठमा बस्न नहुने सिकाइएको छ, गोठमा बस्दा स्वास्थ्यका हिसाबले पनि राम्रो नहुने र विभिन्न आपराधिक घटना हुन सक्ने भएकाले हामी अहिले सचेत भएका छौँ ।’ महिनावारी हुँदा घरभित्रै बस्न थालेको  उनले बताइन् ।

सामाजिक अभियन्ता कमल खत्रीका अनुसार तिला गाउँपालिकामा महिनावारी अर्थात् छुइ भएको अवस्थामा सात दिनसम्म गाईगोठमा बस्ने चलन थियो । उनले भने, ‘अहिले विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट महिलाहरूलाई सचेतीकरण गर्दै गएपछि महिला आफैँले छुइ भएको अवस्थामा गोठमा बस्नु भनेको सामाजिक अपराध भन्ने बुझेका छन्, उनीहरू छुइ प्रथा उन्मूलन अभियानमा लागेका छन् ।’

छाउपडी उन्मूलन अभियान
तिला गाउँपालिका उपप्रमुख विष्णुमाया बुढाले छाउपडी प्रथा गाउँपालिकाबाटै उन्मूलन गर्ने अभियान सुरु गरिएको बताइन् । उनले भनिन्, ‘हाम्रो गाउँपालिकाका तीन गाउँबाट छुइ प्रथा उन्मूलन गरी महिलाले सामाजिक न्याय प्राप्त गर्न सफल भएका छन् ।’ ढिमकोट, रावतवाडा र जोगीवाडा छुइप्रथा उन्मूलन गरी छाउपडीमुक्त गाउँ घोषणा गरिएको उनले बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु