वारि दार्चुलाबाट शौच गर्न पारि धार्चुला - Naya Patrika
eNaya Patrika
  • ePaper

वारि दार्चुलाबाट शौच गर्न पारि धार्चुला

तपाईं दार्चुला सदरमुकाम पुग्नुभयो भने शौच गर्न भारतको धार्चुला जानुपर्ने हुन्छ । ०७० सालमा महाकालीमा आएको बाढीले सदरमुकाममा रहेको सार्वजनिक शौचालय बगाएपछि शौच गर्न भारतीय सीमावर्ती बजार धार्चुला पुग्नुपर्ने भएको हो ।


‘सदरमुकाममा कतै सार्वजनिक शौचालय छैनन्, बजारमा भएका वेला शौच लाग्यो भने उत्तम विकल्प धार्चुलाको सार्वजनिक शौचालय जानु नै हो,’ स्थानीय माधवप्रसाद अवस्थीले भने । त्यसो त, दार्चुला सदरमुकाममा चारवटा सार्वजनिक शौचालय छन् । तर, ती सबै प्रयोगविहीन भएको अवस्थीले बताए ।

तीनवटा सार्वजनिक शौचालय झन्डै एक वर्षअगाडि निर्माण सम्पन्न भएका हुन् । बसपार्कनजिक हालै अर्को पनि बनाइसकिएको छ । तर, एक वर्षअघि बनेका दुई शौचालय हस्तान्तरण नभएका कारण प्रयोगमा ल्याउन नसकिएको महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले बताए । बसपार्कनजिकको शौचालय पनि व्यवस्थापकको टुंगो नलाग्दा प्रयोगमा आउन नसकेको उनको भनाइ छ ।

सदरमुकाममा काम लिएर जानेहरू या त चिनेजानेको व्यक्तिको घरमा शौच गर्न जान्छन्, अथवा भारत नै पुग्छन् । महाकालीमाथिको झोलुंगे पुल तरेपछि भारतको धार्चुला बजार पुगिन्छ । अहिले जिल्लालाई खुला दिसामुक्त गर्ने अभियान चलिरहेको छ । जिल्लालाई सन् २०१४ को अन्त्यमा नै खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य राखिएको थियो ।

महाकालीमै ढल निकास
दार्चुला सदरमुकामको मुख्य बजार क्षेत्रका घरधनीले शौचालयको निकास सोझै महाकालीमा हालेका छन् । नदीमा शौचालयको निकास मिसाउने घरधनीलाई कुनै कारबाही भएको छैन ।
गत फागुनमा महाकाली नगरपालिकाले मुख्य बजार क्षेत्रमा ९३ घरले महाकालीमा शौचालयको निकास पठाएको तथ्यांक सार्वजनिक गरेको थियो । तर, असोजमा सोसम्बन्धी तथ्यांक संकलन गर्ने जिम्मेवारी पाएको समितिले एक सय तीन घरमा त्यस्तो समस्या रहेको प्रतिवेदन बनाएको थियो ।

१५ पुसमा बसेको समितिको बैठकमा नदीमा ढल मिसाउने घरको संख्या एक सय ११ देखाइएको छ । शौचालयको निकास महाकालीमा पु¥याउने र आफ्नो शौचालय नै नभएका घरहरूको संख्या दुवैलाई राख्दा तथ्यांक बढेको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु