पृथ्वी प्रज्ञा पुरस्कार शर्मालाई - Naya Patrika
eNaya Patrika
  • ePaper

पृथ्वी प्रज्ञा पुरस्कार शर्मालाई

नेपाल प्रज्ञा प्रतिष्ठानले हरेक चार वर्षमा दिने चार लाख रुपैयाँ राशिको पृथ्वी प्रज्ञा पुरस्कार साहित्यकार डा. तारानाथ शर्मालाई प्रदान गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्या भण्डारीले शर्मालाई सो पुरस्कार प्रदान गरेकी हुन् ।

सो अवसरमा प्रज्ञा प्रतिष्ठानले यसअघि घोषणा गरेका अरू आठवटा पुरस्कार पनि विभिन्न स्रष्टालाई प्रदान गरिएको छ । प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव २०७४का विजयी कविलाई पनि राष्ट्रपति भण्डारीले पुरस्कार प्रदान गरेकी छिन् ।

प्रतिष्ठानले हरेक दुई वर्षमा प्रदान गर्ने नेपाल प्रज्ञा भाषा पुरस्कार प्रा.डा. रामावतार यादवलाई प्रदान गरिएको छ । धनुषाका यादवका झन्डै डेढ दर्जन कृति प्रकाशित छन् । त्यस्तै, हरेक दुई वर्षमा दिइने नेपाल प्रज्ञा संस्कृति पुरस्कार प्रा.डा. विणा पौड्याल घिमिरेलाई प्रदान गरिएको छ । उनका संस्कृतिसम्बन्धी आधा दर्जन पुस्तक प्रकाशित छन् । दुवै पुरस्कारको राशि एक लाख रुपैयाँ छ ।

त्यस्तै, २०७३ को नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार कवि विमल निभालाई प्रदान गरिएको छ । २०७४ सालको सोही पुरस्कार कथाकार ध्रुव सापकोटालाई प्रदान गरिएको छ । यो पुुरस्कारको राशि पनि एक लाख रुपैयाँ नै छ ।

नेपाल प्रज्ञा मातृभाषा पुरस्कार (२०७३)बाट नेपालगन्जका अब्दुल लतिफ सौक र भोजपुरका पदमकुमार राई पुरस्कृत भए । सौक उर्दू भाषाका गजलकार हुन् । राई भने राई–बान्तवा भाषाका लेखक हुन् । २०७४ सालको यही पुरस्कार सोमबहादुर धिमाल र धनबहादुर माझीलाई प्रदान गरियो । धिमाल मोरङ र माझी रामेछापका हुन् । यी पुरस्कारका राशि पनि एक-एक लाख रुपैयाँ नै छ ।

कार्यक्रममा राष्ट्रिय कविता महोत्सव (२०७४)मा प्रथमदेखि तेस्रो हुने कविहरूलाई पनि पुरस्कार प्रदान गरिएको छ । सो महोत्सवमा चन्द्र रानाहँछाको कविता ‘आँधीको यात्रा’ प्रथम र सुवास राई ‘क्याप्टेन’को फरक द्वितीय भएका थिए । त्यस्तै, दीपेन्द्र उपाध्यायको ‘लोकतन्त्र’, उर्मिला कोइरालाको ‘उज्यालोको आत्मकथा’ र अमृता स्मृतिको ‘फूलहरू जान्दैनन् युद्ध गर्न’ कविता तृतीय भएका थिए ।

तपाईको प्रतिक्रिया