एभर्टनलाई पराजित गर्दै युनाइटेड दोस्रो स्थानमा - Naya Patrika
eNaya Patrika
  • ePaper

एभर्टनलाई पराजित गर्दै युनाइटेड दोस्रो स्थानमा

म्यानचेस्टर युनाइटेड लगातार तीन बराबरीपछि पहिलो जित निकाल्न सफल भएको छ । लगातारको बराबरीपछि दबाबमा रहेको युनाइटेड तेस्रो स्थानमा रहेको थियो । युनाइटेडले एभर्टनविरुद्ध २–० को जित निकाल्यो ।

युनाइटेड रोमियो लुकाकु र जाल्टन इभ्राहिमोभिचविना नै मैदानमा उत्रिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५७औँ मिनेटमा २० यार्डबाट एन्टोनी मार्सियलले पाउलो पोग्बाको पासलाई सदुपयोग गर्दै माउरिन्होको छटपटी केही कम गरेका थिए ।

युनाइटेडलाई जितउन्मुख गराउने क्रममा पोग्बाकै क्रसलाई जेसे लिङगार्डले ८१औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई २–० को सहज अग्रता दिलाए । एभर्टनको घरेलु मैदान गोडसन पार्कमा भएको खेलमा युनाइटेडविरुद्ध एभर्टनले गोलका केही मौका सिर्जना गरे पनि सफल हुन सकेन ।

चार खेलपछि पहिलो जित
युनाइटेड पछिल्लो समय लगातार ४ खेलमा जितविहीन रहेको थियो । लिग कपमा अप्रत्याशित रूपमा ब्रिस्टोल सिटीसँग पराजित भएको युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लगातार ३ खेलमा बराबरीमा चित्त बुझायो । युनाइटेडले लेस्टर सिटी, बर्नली र साउथह्याम्पटनसँग बराबरी नतिजा निकाल्दा शीर्ष स्थानको सिटीसँगको अंक दूरी कम गर्ने लक्ष्य पूरा हुन सकेन ।

लिभरपुलको संघर्षपूर्ण जित
शीर्ष चारमा बलियो दाबेदारका रूपमा रहेको लिभरपुल इंग्लिस प्रिमियर लिगअन्तर्गत सोमबार बर्नलीविरुद्ध २–१ को संघर्षपूर्ण जित निकाल्न सफल भयो । बर्नलीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन अतिरिक्त समयमा रागनर क्लाभनको गोल निर्णायक रह्यो । दोस्रो हाफ सकिन केही समय बाँकी रहँदा दुवै टिमले गोल गरेका थिए ।

खेलको ६१औँ मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए । तर, ८७औँ मिनेटमा बर्नलीका गुड्मुन्डसनले गोल फर्काएपछि खेल १–१ को बराबरीमा पुग्यो । बराबरीउन्मुख खेलमा लिभरपुलका लागि डिफेन्डर क्लाभन नायक साबित बन्दै इन्जुरी समयमा टिमलाई अग्रता दिलाउँदै महत्वपूर्ण ३ अंक सुरक्षित गरे ।

तपाईको प्रतिक्रिया