ढोरपाटन महिला भलिबल माघमा - Naya Patrika
eNaya Patrika
  • ePaper

ढोरपाटन महिला भलिबल माघमा

ढोरपाटन महिला डबल लिग भलिबलको १३औँ संस्करण आगामी ४ देखि १९ माघसम्म सञ्चालन हुने भएको छ । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा तीन विभागीय टिम (एपिएफ, आर्मी, पुलिस) सहित १० टिमको सहभागिता रहनेछ ।

साबिक विजेता रिड मोडल कलेजले भने सहभागिता जनाएको छैन । एक टिमले ४ विदेशी खेलाडी राख्न पाउने प्रवधान छ । प्रतियोगिताको विजेताले ३ लाख २५ हजार र उपविजेताले १ लाख ७० हजार र तेस्रो हुनेले ८० हजार नगद पुरस्कार पाउनेछन् । यस्तै चौथो हुनेलाई ५० हजार, पाँचौँले ४० हजार, छैटौँले ३० हजार र सातौँले २० हजार नगद प्राप्त गर्नेछन् ।

उत्कृष्टलाई स्कुटर
चार विधामा उत्कृष्ट खेलाडीले युएम पावरम्याक्स स्कुटर पाउनेछन् । बेस्ट प्लेयर, राइजिङ प्लेयर, प्लेयर अफ दी इयर र प्लेयर अफ दी सिरिज बन्ने खेलाडीले स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताका बेस्ट स्पाइकर, डिफेन्स, सेटर, सर्भर, ब्लकर, उत्कृष्ट क्विकर र उत्कृष्ट प्रशिक्षकलाई जनही ५ हजार पुरस्कार पनि दिइने आयोजकले जनाएको छ ।

दर्शकलाई पनि स्कुटर
एक दर्शकले समेत स्कुटर पाउने भएका छन् । प्रतियोगिताको अन्तिम दिन टिकट काटेर खेल हेर्न गएकामध्ये एक दर्शकले लक्की ड्रबाट स्कुटर जित्नेछन् । प्रत्येक दिन एक दर्शकले लक्की ड्रबाट डाइमन्ड मोबाइल पनि पाउनेछन् ।

रेडबुलसँग तीनवर्षे सम्झौता
प्रतियोगितालाई इनर्जी ड्रिंक्स रेडबुलले मुख्य प्रायोजन गरेको छ । मंगलबार आयोजक ढोरपाटन स्पोर्टस् क्लबका अध्यक्ष मनवीर छन्त्याल र गोर्खा ब्रुअरीका मार्केटिङ म्यानेजर इन्द्र रेग्मीबीच सम्झौतापत्र आदानप्रदान भयो । रेडबुलले तीन वर्षका लागि प्रायोजन गर्ने सम्झौता गरेको छ । प्रत्येक वर्ष ११ लाखका दरले ३ वर्षमा प्रायोजनबापत ३३ लाख उपलब्ध गराउने जनाइएको छ ।

तपाईको प्रतिक्रिया