कञ्चनपुरमा पहिलोपटक खाद्य मेला - Naya Patrika
eNaya Patrika
  • ePaper

कञ्चनपुरमा पहिलोपटक खाद्य मेला

७ नम्बर प्रदेशको कञ्चनपुरमा पहिलोपटक खाद्य मेला हुने भएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले महेन्द्रनगर बजारमा खाद्य मेला २०७४ आयोजना गर्ने भएको हो ।


क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख उपेन्द्र रायले २७ पुसदेखि ५ दिने खाद्य मेला सञ्चालन हुने बताए । ‘आजभोलि उपभोक्ताले बजारमा पाइने मसलेदार खाद्य वस्तुको उपभोग गर्छन्,’ उनले भने, ‘जसका कारण मानिसको स्वास्थ्यमा असर पुग्छ ।’

सुदूरपश्चिमेलीको खाद्य परिकार, स्थानीय सांस्कृतिक कार्यक्रम, यस क्षेत्रका विभिन्न समुदायको लोक संस्कृति प्रदर्शन, नृत्य प्रस्तुत गरिनेछ । ५० स्टलमध्ये २५ बुकिङ भइसकेका छन् । मेलामा स्टल र अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । मेलामा सहभागी स्टलकर्तालाई तालिमसमेत दिइनेछ ।

वेदकोट नगर उद्योग वाणिज्य संघका अध्यक्ष रामचन्द्र रेग्मीले मेलाले स्थानीय परम्परागत खाने परिकारको महत्व बढ्ने बताए । ‘विगतमा हाम्रो परम्परागत खाने परिकारलाई सहज रूपमा हेरिन्थ्यो,’ उनले भने, ‘मौलिक खाने परिकारको महत्व बढ्छ ।’

होटेल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष प्रमानन्द भण्डारीले पहिलोपटक हुन लागेको मेला यस क्षेत्रका स्थानीय व्यवसायी, उपभोक्तालाई लाभदायक हुने बताए । ‘हाम्रो जिल्लामा पहिलोपटक खाद्य मेला हुन लागेको छ,’ उनले भने, ‘स्थानीय परम्परागत पोसिला खाने परिकारको समेत बजारीकरण हुन्छ ।’ १ माघसम्म चल्ने मेला सञ्चालनका लागि १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया