(अपडेट) हलेसीमा भएको आगलागी नियन्त्रणमा, ४ घर पूर्ण नष्ट, ३ मा आंशिक - Naya Patrika
eNaya Patrika
  • ePaper

(अपडेट) हलेसीमा भएको आगलागी नियन्त्रणमा, ४ घर पूर्ण नष्ट, ३ मा आंशिक

धार्मिक तथा पर्यटकीयस्थल हलेसीबजारमा मंगलबार साँझ भएको आगलागीमा चारवटा घर जलेर पूर्ण रुपमा नष्ट भएको छ भने तीनवटा घरमा आंशिक क्षति पुगेको छ ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई र अम्बराज राईको घर पूर्ण रूपमा जलेर नष्ट भएको सायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले जानकारी दिए ।

साँझ साढे ७ बजेबाट शुरु भएको आगोले प्रकाशचन्द्र गिरी, रेगिन्द्र राई, गोपिन राईको घरमा आंशिक क्षति पुर्याएको नगर प्रमुख इवन राईले बताए । आगो नियन्त्रणमा लिन एउटा घर भत्काइएको थियो ।

ग्यास विस्फोट भएर सुरु भएको आगलागी नियन्त्रणका लागि साढे दुई घण्टा लागेको सहायक प्रजिअ सुवेदीले बताए । मगम राईको घरबाट आगलागी शुरु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

आगो नियन्त्रण गर्न सदरमुकाम दिक्तेल र छिमेकी जिल्ला ओखलढुंगाबाट समेत दमकल मगाइएको थियो । आगो नियन्त्रणमा आएकाले ओखलढुंगाबाट मगाइएको दमकल बाटोबाटै फर्काइएको सुवेदीले जानकारी दिए ।

सदरमुकामबाट ३८ किलोमिटर दूरीमा रहेको हलेसीबजारमा भएको आगलागीमा परेर विशाल राई र चन्द्रेश्वर चौधरी सामान्य घाइते भएका छन् ।

पीडित परिवारलाई तत्काल राहत र घाइतेलाई उपचारका लागि रेडक्रस र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु