हुम्लामा रुघाखोकीको महामारी फैलियो, एकै दिनमा ३ जनाको मृत्यु - Naya Patrika
eNaya Patrika
  • ePaper

हुम्लामा रुघाखोकीको महामारी फैलियो, एकै दिनमा ३ जनाको मृत्यु

जिल्लाका ७ वटै गाँऊपालिकामा  अहिले रुघाखोकीको महामारी फैलिएको छ । रुघाखोकीबाट अहिलेसम्म ४ जनाको ज्यान गुमाएका छन् । अाैषधिकाे अभावमा सयौं बिरामी परेका छन् । सबैजसो बिरामीमा सास फेर्न गाह्रो हुने, ज्वरो आउने, खोकी लाग्ने बान्ता हुने जस्ता लक्षिण देखिएको छ ।

आज बिहान मात्रै सर्केगाँड गाउँपालिका ८ का शैकरे रोकायाको मृत्यु भएको छ । गत आइतबार मात्रै तीन जनाको मृत्यु भएको थियो । मृत्य हुनेमा सर्केगाँड गाउँपालिकाको वडा नं. ७ का भ्याँले कार्की, खोइ्या शाही, गोर्या जैशी रहेको स्थानीय कल बहादुर ऐडीले बताए ।

मृत्यु हुन सबै जना ६५ वर्षभन्दा माथिका छन् । रुघाखोकीको प्रकोपले वृद्ध तथा बढी सताएको छ ।
सुख्खा खडेरीको कारण धुलाम्य वातावरणले झन् स्वासप्रस्वासमा समस्या देखिएको स्थानीय बताउँछन् । गाउँमा स्वास्थ्यकर्मी नहुनु र स्वास्थ्य संस्थामा औषधि उपलब्ध नहुनाले बिरामीको अकालमै ज्यान गएको छ ।

स्थानीय स्वास्थ्य चौकी रोडिकोट र प्राथमिक स्वास्थ्य चौकी राहदेवमा सिटामोलसम्मको अभाव छ । पहिला जिल्ला अस्पतालले औषधिलगायतका आवश्यक सामाग्री निशुल्क पठाउने प्रावधान थियो । तर, अहिले गाउँपालिकाले नै खरिद गर्ने व्यवस्था छ । गाउँपालिकाले त्यसको व्यवस्थापन गर्न नसक्दा स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ ।

विगत तीन महिनादेखि स्वास्थ्य संस्थामा औषधि नहुँदा कार्यलयमा हाजिर लगाएर बस्नु बाहेक काम भएको राहदेव प्राथमिक स्वास्थ्य चौकीका ईन्चार्ज सुपे ऐडीले बताए । उनले भने, ‘गाउँमा बिरामी धेरै छन् । तर, यहाँ औषधि छैन । औषधि खरिद गर्न गाउँपालिका, वडालाई अनुरोध गर्दा गरेका छौं, सुनुवाई भएको छैन् ।’

समयमै उपचारको अभावमा बिरामीको ज्यान गएको स्थानीयको गुनासो छ । स्थानीय काली रोकायाले भनिन्, ‘म बिरामी भएको बेला चार घण्टा हिडेर सर्केगाडको मेडिकलमा उपचार गरे । अहिले निको लागेको छ । उपचार पाए कोही मर्न पर्दैन्थ्यो ।’

यस सम्बन्धममा सर्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायालाई सम्पर्क गर्दा गाउँपालिकाको सबै स्वास्थ्य संस्थाको लागि औषधि खरिद प्रक्रिया अघि बडेको जानकारी दिए ।

   

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु