पम्फा भुसालले भनिन्-‘ओली कमरेडको स्वास्थ्यमा समस्या आएकाले पार्टी एकता लम्बियो’ - Naya Patrika
eNaya Patrika
  • ePaper

पम्फा भुसालले भनिन्-‘ओली कमरेडको स्वास्थ्यमा समस्या आएकाले पार्टी एकता लम्बियो’

माओवादी केन्द्रको कार्यालय बैठक सम्पन्न भएको छ । मंगलबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले समसामयिक राजनीतिक परिस्थिति, पार्टी एकता र सरकार गठन लगायतका विषयमा छलफल गरेको थियो ।

बैठकले जनताले अनुमोदन गरिसकेकाले पार्टी एकतालाई द्रुत गतिमा अगाडि बढाउने निर्णय बैठकमा सहभागी माओवादी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । ‘एमाले अध्यक्ष ओली कमरेडको स्वास्थ्यमा आएको समस्याले छलफल अलि लम्बिएको हो । पार्टी एकता प्रक्रिया अगाडि जान्छ । पार्टी एकता र सरकार गठनबारे कुनै समस्या छैन । तपाईहरुले एकताको आश्चर्यजनक नतिजा पाउनु हुनेछ’ बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै प्रवक्ता भुसालले बताइन् ।

बैठकले विभिन्न माओवादी धाराबाट आएका नेता कार्यकर्ताको संगठनात्मक व्यवस्थापन गर्न बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’को नेतृत्वमा एक कार्यदल गठन गरेको छ । कार्यदलमा नेताहरु टोपबहादुर रायमाझी, गीरिराजमणि पोखरेल, मातृका यादव, शक्ति बस्नेत, लेखराज भट्ट, साबित्रीकुमार काफ्ले, देवेन्द्र पौडेल, सुनिल मानन्धर रहेका छन् ।

बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भएको अन्तर्घातको छानविन गर्न नेता अमिक शेरचनको नेतृत्वमा लिलामणि पोखरेल, गणेश शाह, हितराज पाण्डे र रेखा शर्मा सदस्य रहेका छन् ।

बैठकले राजनीतिक गतिरोध अन्त्य र नयाँ सरकार गठनका लागि पार्टीको तर्फबाट आवश्यक पहल लिने निर्णय पनि गरेको छ । आजको बैठकमा अध्यक्ष प्रचण्डले पार्टी एकता र सरकार गठनका विषयमा भइरहेको छलफल र गृहकार्यबारे बैठकलाई जानकारी गए ।

तपाईको प्रतिक्रिया