रजनीकान्तको राजनीतिक भविष्य - Naya Patrika
eNaya Patrika
  • ePaper

रजनीकान्तको राजनीतिक भविष्य

सुपरस्टार रजनीकान्तको राजनीतिमा आउने निर्णयबाट दक्षिण भारतीय राज्य तमिलनाडुमा आधा शताब्दी पुरानो द्रविड राजनीतिको स्वरूप परिवर्तन गर्न सक्छ । यद्यपि यो राजनीति उनको सफलतामा निर्भर हुनेछ । पछिल्ला दुई दशकदेखि हुन्छ र हुँदैन भन्दाभन्दै अन्त्यमा २०१७ को अन्तिम दिनमा रजनीकान्तले राजनीतिमा आउने फैसला गरिछाडे ।

इमरान कुरेसी

 

रजनीकान्तले भनेका छन् कि अब परिवर्तनको समय आएको छ । उनको यस घोषणाबाट उनका प्रशंसक र जसले द्रविड राजनीतिको विरोध गर्छन्, उनीहरूमाझ आशा जागेको छ । अहिले तमिलनाडुको राजनीतिमा गर्नका लागि धेरै काम छन् । रजनीकान्त र कमल हसनजस्ता सिने हस्तीले यस अवसरलाई राम्ररी बुझेकै होलान् ।

अन्नद्रमुकको भित्री राजनीति
प्रदेशकी शक्तिशाली नेता जयललिताको निधनपछि राज्यको राजनीतिमा खालीपन आएको छ । उनी एक शक्तिशाली नेता थिइन् र उनले आफ्ना सर्तमा केन्द्र सरकारलाई पनि नचाइरहिन् । जयललिता र रजनीकान्त दुवैबीच एक मात्र समानता छ, दुवैको पृष्ठभूमि सिनेमा हो ।

राजनीतिक विश्लेषक बिआरपी भास्करको भनाइ छ– द्रविड राजनीतिबाट आएकी जयललिता नहुनुको क्षतिपूर्ति रजनीकान्तले गर्नेछन् भन्ने सोच्नुपर्ने खास कुनै कारण छैन । जयललिताको निधनपछि प्रदेशको द्रविड राजनीतिमा निकै ठूलो उथलपुथल आएको छ । यो परिवर्तनको पहिलो चरण हो र अझै निकै लामो दूरी पार गर्नु छ । जयललिताको निधनपछि अन्नाद्रमुकमाथि नियन्त्रणका लागि उनका निकट सहयोगी शशीकला र सत्ताको बागडोर सम्हालिरहेका ई पलनीसामी तथा ओ पन्निरसेल्बमबीच चर्को खिचातानी छ ।

एक सुपरस्टारका लागि राजनीतिक दाउ चल्नु एक सिनेमा रिलिज हुनुजस्तै हुन्छ । सिनेमा सफलताको निर्धारण बक्स अफिसमा हुन्छ र राजनीतिक भाग्यको दौड मतदान केन्द्रबाट सुरु हुन्छ।

द्रविड राजनीति
राजनीतिक विश्लेषक केएन अरुण भन्छन्— जब जयललिता रहिनन् र उनको अन्नाद्रमुक पार्टीमा निराशा पैदा गराउने गुटबन्दी छ, यस्तोमा रजनीकान्तका लागि राजनीतिमा प्रवेश गर्नका लागि यो निकै अनुकूल अवसर हो । द्रविड राजनीतिको अर्को खेमाका दिग्गज र द्रमुक सुप्रिमो एम करुणानिधि पनि खराब स्वास्थ्यसित जुधिरहेका छन् । करुणानिधि जयललिताका मुख्य प्रतिद्वन्द्वी हुन् । करुणानिधिको द्रविड राजनीतिको जिम्मेवारी उनका छोरा एमके स्टालिनको काँधमा छ । तर, एमके स्टालिनसामु पनि समस्या थोरै छैनन् । स्टालिनलाई उनका भाइ एमके अलागिरीले नै चुनौती दिइरहेका छन् ।

भास्कर भन्छन्– स्टालिनसामु पनि समस्या छन् । तर, उनले आफूलाई द्रविड राजनीतिको उत्तराधिकारीका रूपमा स्थापित गरेका छन् । अब द्रविड राजनीतिमा कसको पक्ष बलियो हुन्छ, यो भने प्रतीक्षाकै विषय बनेको छ ।

राजनीतिक जमिन
रजनीकान्तले आध्यात्मिकता र राजनीतिको चर्चा गरेका छन् । उनको यस सन्दर्भबाट भाजपामा पनि आशाको किरण जगाएको होला, जो वर्षौंदेखि तमिलनाडुमा राजनीतिक जमिन हासिल गर्न संघर्ष गरिरहेको छ । यद्यपि, रजनीकान्तको आध्यात्मिकताको सन्दर्भलाई अरुण कुनै पनि अर्थमा असामान्य मान्दैनन् । उनी भन्छन्– रजनीकान्त आध्यात्मिक प्रकृतिका मानिस हुन् । द्रविड संस्कृतिका बाबजुद तमिलनाडुमा आध्यात्मिकताको एउटा बलियो जमिन छ, जसलाई भाजपाले कहिल्यै दोहन गर्न सकेन । रजनीकान्तले यसलाई आफ्नो पक्षमा उपयोग गर्न सक्ने सम्भावना छ।

वरिष्ठ राजनीतिक विश्लेषक मालन अरुणको विचारलाई फरक कोणबाट हेर्छन् । उनी भन्छन्– रजनीकान्त त्यस इमेजबाट बाहिर निस्किन चाहन्छन्, जसमा उनलाई भाजपाको निकटका रूपमा हेर्ने गरिन्छ । यथार्थ त यो हो कि उनले भाजपा, कंग्रेस र विजयकान्तको डिएमडीके जस्तै सबै द्रविडविरोधी भोटलाई आफूतर्फ आकर्षित गर्ने कोसिस गर्नेछन् । अन्नाद्रमुकबाट पनि आफ्नो नयाँ पार्टीमा मानिसहरू ल्याउने पक्कै कोसिस गरिनेछ । पक्कै पनि उनी द्रविड पार्टीसामु निकै ठूलो चुनौती बनेर खडा हुन गइरहेका छन् ।

तर, तीतो सत्य यो हो कि राजनीतिमा सफलता पूर्णतः प्रशंसकहरूको बलमा मात्र प्राप्त हुन सक्दैन । प्रशंसकका लागि पार्टी क्याडर बन्नु बाध्यता हुन्छ । अरुण भन्छन्– रजनीकान्तले विशुद्ध राजनेताले झैँ आफ्ना गतिविधिको समन्वय गर्नुपर्छ । उनले यस्तो गर्न सकेनन् भने राजनीतिक जवाफदेहिता निभाउन त्यति सहज हुनेछैन ।

मतदान केन्द्रको दौड
रजनीकान्तले २०२१ मा तमिलनाडुमा हुने विधानसभा निर्वाचनमा सबै २३४ सिटमा निर्वाचन लड्ने बताएका छन् । प्रस्ट छ यसअघि उनले आफ्नो पार्टी तयार गर्नेछन् । अघिल्ला वर्ष स्थानीय निकायको निर्वाचनमा उनले भाग नलिने बताइसकेका छन् । एक सुपरस्टारका लागि राजनीतिक दाउ चल्नु एक सिनेमा रिलिज हुनुजस्तै हुन्छ । सिनेमा सफलताको निर्धारण बक्स अफिसमा हुन्छ र राजनीतिक भाग्यको दौड मतदान केन्द्रबाट सुरु हुन्छ । रजनीकान्त अभिनेताबाट नेता बन्न सफल भए भने तमिलनाडुको ५० वर्ष पुरानो द्रविड राजनीतिको स्वरूपमा परिवर्तन निश्चित छ ।

(बिबिसी डट कम-हिन्दीबाट)

तपाईको प्रतिक्रिया