स्वास्थ्य कर कोषको रकम दुरुपयोग - Naya Patrika
eNaya Patrika
  • ePaper

स्वास्थ्य कर कोषको रकम दुरुपयोग

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य कर कोषको रकम वितरणमा दुरुपयोग गरेको छ । मन्त्रालयले आर्थिक वर्ष ०७४-०७५ मा वितरण गरेको स्वास्थ्य कर कोषको रकममा रोग निदान समावेश छैन ।

नेपाल सरकारले आर्थिक ऐनद्वारा लगाएको धूमपान तथा सुर्तीजन्य पदार्थको अन्तःशुल्क करबाट उठेको कुल रकमको कम्तीमा २५ प्रतिशत रकम स्वास्थ्य कर कोषमा जम्मा हुने कानुनी प्रावधान छ । सोही रकमको केही हिस्सा मन्त्रालयले धूमपान तथा सुर्तीजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको निदान, उपचार तथा अनुसन्धानका क्षेत्रमा काम गरेका सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थालाई वितरण गर्नुपर्ने हुन्छ ।

यस प्रावधानको बेवास्ता गर्दै मन्त्रालयले कर्मचारी भत्ता र कार्यालय सञ्चालनका लागि मात्रै रकम वितरण गरेको छ । यस वर्ष सुर्तीजन्य पदार्थमा लगाएको करबाट ११ अर्ब रुपैयाँ रकम उठेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

रकम वितरणमा सदस्यसचिवको आपत्ति
रकम वितरण गर्दा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन समितिका सदस्य–सचिव र लेखासम्बन्धी कार्य गर्ने कर्मचारीको संयुक्त दस्तखत आवश्यक पर्ने कानुनी प्रावधान छ । तर, सदस्य–सचिव शम्भुराज रेग्मीले स्वास्थ्य कर कोषको रकम वितरणमा अनभिज्ञता जाहेर गरे । उनले रकमको दुरुपयोग भएको हुन सक्ने बताए । ‘म समितिको सदस्य–सचिव हुँ । प्रचलित कानुन र विधिविपरीत खर्च भएको हुनुपर्छ । त्यो रकम वितरण कसरी सम्भव भयो । म जानकार छैन ।’

५० करोड विनियोजन
स्वास्थ्य मन्त्रालय लेखा शाखाका लेखा–अधिकृत सुरेश शर्माका अनुसार सुर्तीजन्य पदार्थमा लगाएको करबाट उठेको ११ अर्ब रुपैयाँमध्ये दुई अर्ब ७५ करोड रुपैयाँ स्वास्थ्य कर कोषमा जम्मा हुनुपर्ने थियो । ‘अहिले जम्मा ५० करोड मात्रै आएको छ । मन्त्रालयले ५० करोडमध्ये ३७ करोड ५० लाख रुपैयाँ सरकारी अस्पताललाई वितरण गरिसकेको छ,’ उनले भने । मन्त्रालयले विभिन्न सरकारी अस्पताललाई कार्यालय खर्च र कर्मचारी तलव–भत्ताका लागि रकम वितरण गरेको छ ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले २७ करोड ५० लाख रुपैयाँ समग्र अस्पताल सञ्चालनका लागि लगेको मन्त्रालय स्रोतले बतायो । तत्कालीन स्वास्थ्यसचिव डा. किरण रेग्मीले जाँदाजाँदै ६ वटा अस्पताललाई नियमविपरीत ३७ करोड ५० लाख रुपैयाँ वितरण गरेको मन्त्रालयका कर्मचारीको भनाइ छ । रकम लिएका कुनै पनि अस्पतालले सुर्तीजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको निदान, उपचार तथा अनुसन्धानका क्षेत्रमा काम गरेको देखिएको छैन ।

गैरसरकारी संस्थामा रोक

यसअघि, स्वास्थ्य मन्त्रालयले गैरसरकारी संस्थाका नाममा हरेक वर्ष ४ करोड रुपैयाँ वितरण गर्दै आएको थियो । ‘विगतमा निजी स्वास्थ्य संस्थालाई पनि सुर्तीजन्य पदार्थको करबाट उठेको रकम वितरण गर्ने गरिन्थ्यो, औचित्य पुष्टि नगरी रकम बाँडेकाले त्यसमा रोक लागेको छ,’ लेखा अधिकृत सुरेश शर्माले भने ।

कसले कति रकम लगे
-बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, २७ करोड ५० लाख

-सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, २ करोड

-सुशील कोइराला क्यान्सर अस्पताल, ५ करोड

-कान्ति बाल अस्पताल, १ करोड

-वीर अस्पताल, १ करोड

-मनमोहन कार्डियो भास्कुलर सेन्टर, १ करोड

खर्च गर्न पाउने विधा
स्वास्थ्य कर कोषमा जम्मा भएको रकम धूमपान तथा सुर्तीको उपभोगबाट उत्पन्न रोगको रोकथाम, नियन्त्रण, निदान, उपचार तथा अनुसन्धानमा खर्च गर्ने धूमपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि स्वास्थ्य, शिक्षा जनचेतनामूलक र सेवामूलक कार्यक्रम सञ्चालन गर्ने समितिको सञ्चालन खर्च ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु