बुटवल राजधानी बनाउन एमालेकाे सशक्त अभियान - Naya Patrika
eNaya Patrika
  • ePaper

बुटवल राजधानी बनाउन एमालेकाे सशक्त अभियान

एमाले रुपन्देहीले ५ नम्बर प्रदेशको राजधानी बुटवल बनाउन अनुरोध गरेको छ । जिल्ला कमिटी रुपन्देहीको सचिवालयको विशेष बैठकले ५ नम्बर प्रदेशको राजधानी रुपन्देही जिल्लामा बनाउनका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

पूर्वाधार विकास, सम्भावना र साधन–स्रोतका हिसाबले रुपन्देही नै प्रदेशको राजधानी बनाउन उपयुक्त रहेको ठहर गर्दै बैठकले सरकार समक्ष गरिएको यस्तो अनुरोधलाई गम्भीरताका साथ लिन आग्रह गरेको एमालेले जनाएको छ ।

अनुरोधलाई अन्यथा गरिएको खण्डमा त्यसका विरुद्धमा सशक्त जनदबाब सिर्जना गर्ने गरी तयारीमा रहन यहाँका सबै स्थानीय तहका जनप्रतिनिधिहरुलाई बैठकद्धारा आह्वान समेत गरिएको एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख तेजेन्द्र केसीद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सांसदहरुलाई निर्णायक भुमिका निर्वाह गर्न अनुरोध

बैठकले रुपन्देहीबाट नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरुलाई रुपन्देहीमा नै प्रदेशको राजधानी बनाउनका निम्ति विशेष ढंगले नेतृत्वदायी एवम् निर्णायक भूमिका निर्वाह गर्न अनुरोध गरेको छ ।

साथै एमालेले प्रदेशको राजधानी रुपन्देही नै बनाउनका लागि आवश्यक परेमा नागरिक जनदबाब सिर्जना गर्ने गरी संयुक्त अभियानको तयारी गर्न समेत सबैसँग अपिल गरेको छ । जिल्लामा क्रियाशील सबै राजनीतिक दलहरु, सामाजिक संघसंस्थाहरु, नागरिक अगुवाहरु समेतलाई सामूहिक जनदबाबको लागि तम्तयार रहनका निम्ति आग्रह समेत गरेको केसीले जनाएका छन ।

बैठकमा एमाले जिल्ला कमिटी अध्यक्ष शिवराज सुवेदीको अध्यक्षता, केन्द्रीय कमिटीका सदस्य एवं रुपन्देही इन्चार्ज तथा प्रदेशसभाका सांसद लिला गिरीको आतिथ्यमा बसेको बैठककाे थियाे ।

बैठकलार्इ केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख एकराज बिश्वकर्मा, प्रदेश संगठन कमिटीका कार्यालय सचिव गोपाल भट्टराई, प्रदेश संगठन विभागका प्रमुख तथा प्रदेशसभाका सांसद भोजप्रसाद श्रेष्ठ, जिल्ला कमिटीका उपाध्यक्ष पुरुषोत्तम घिमिरेलगायतले सम्बोधन गरेका थिए ।

बुटवललार्इ प्रदेश राजधानी बनाउन लविङ सुरू

प्रदेश ५ को राजधानी ‘बुटवल’ उपयुक्त : प्रतिवेदन

 

तपाईको प्रतिक्रिया