रक्सौलमा रोकिएका क्लिंकर आउन लागे - Naya Patrika
eNaya Patrika
  • ePaper

रक्सौलमा रोकिएका क्लिंकर आउन लागे

नयाँ क्लिंकर बुकिङमा अन्योल, सिमेन्ट उद्योगीहरू चिन्तित –

भारतको रक्सौलमा अड्किएका क्लिंकर र्‍याकहरू नेपालमा भित्रिन सुरु गरेका छन् । भारतीय रेल्वे निगमले रक्सौल यार्डमा अनलोड गर्न नदिएपछि बुकिङ भइसकेका क्लिंकरका र्‍याकसमेत नेपाल आउन सकेको थिएन । तर, अहिले तत्कालका लागि रक्सौल यार्डमै लोड–अनलोड गर्न भारतीय पक्ष सहमत भएपछि अलपत्र परेका र्‍याकहरू भित्राइएको उद्योगीहरूले बताएका छन्।

वीरगन्ज उद्योग वाणिज्य संघका सचिव एवं आयातकर्ता माधव राजपालले बाटोमा अलपत्र परेका ७ र्‍याक क्लिंकर आइसकेको जानकारी दिए । ‘क्लिंकरलगायतका औद्योगिक कच्चा पदार्थ आयातको समस्या यथावत् छ, तर बाटोमा अलपत्र परेका र्‍याकहरू आउन थालेका छन्,’ उनले भने, ‘अलपत्र परेका ९ र्‍याकमध्ये ७ र्‍याक रक्सौल हुँदै आइसकेको छ ।’

पछिल्लो समय नेपालमा सिमेन्ट उद्योगको संख्या बढेपछि ठूलो परिमाणमा औद्योगिक कच्चा पदार्थ रक्सौल यार्ड हुँदै आयात भइरहेको थियो । महिनाको १५ देखि २० र्‍याक क्लिंकरजस्ता औद्योगिक कच्चा पदार्थ रक्सौल यार्ड हुँदै आइरहेको उद्योगीहरूले बताएका छन् ।

रक्सौलका स्थानीयले सिमेन्टका कच्चा पदार्थले प्रदूषण बढेको भन्दै विरोध गर्दै आएका थिए । त्यसलाई समाधान गर्ने बहानामा भारतीय रेल्वे निगमले भारतीय कन्टेनर निगम लिमिटेड कन्कोरसँग परामर्श गरी गत डिसेम्बर २२ बाट क्लिंकरको कार्गो सीधै वीरगन्जस्थित सुक्खा बन्दरगाहमा अनलोड गर्ने निर्णय गरेको थियो । तर, सुक्खा बदरगाहमा क्लिंकरलगायतका डस्टी कार्गो आयातमा सहज नभएको नेपाली व्यापारीहरूले बताउँदै आएका छन् ।

बाटोमा रोकिएका औद्योगिक कच्चा पदार्थ आयात भए पनि नयाँ बुकिङ भने हुन सकेको छैन । नेपाली उद्योगीहरूले क्लिंकरलगायतका कच्चा पदार्थ रक्सौल र्‍याडबाटै ल्याउने गरेका थिए । तर, भारतीय रेल्वे निगमले रक्सौल र्‍याडबाट नयाँ र्‍याक ल्याउनमा रोक लगाएपछि नेपाली उद्योगी र आयातकर्ताहरूले नयाँ बुकिङ गर्न पाएका छैनन् ।

भारतीय पक्षले एकपक्षीय रूपमा वीरगन्जस्थित सुक्खा बन्दरगाह व्यवस्था मिलाउने भन्दै रक्सौल र्‍याडमा लोड अनलोड गर्न रोक लगाएको छ । जसले गर्दा नयाँ बुकिङ हुन सकेको छैन । जसले गर्दा नेपाली र भारतीय पक्षबीच नयाँ सहमति नभएसम्म क्लिंकर आयातमा समस्या हुने देखिएको छ । समस्या समाधान नभए ४–५ दिनमा सिमेन्ट उद्योग नै बन्द हुने अवस्थामा पुग्ने नारायणी सिमेन्ट उद्योग लिपनीमालका प्रबन्ध निर्देशक उमेशचन्द्र ठाकुरले बताए ।

तपाईको प्रतिक्रिया