१४ सय बिन्दुमुनि नेप्से - Naya Patrika
eNaya Patrika
  • ePaper

१४ सय बिन्दुमुनि नेप्से

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १ हजार ४ सय बिन्दुभन्दा तल झरेको छ । बजार खुलेदेखि तीव्र गतिमा ओरालो लागेको नेप्से मध्याह्नसम्ममा ३२ अंक घटेर १ हजार ३ सय ८२ बिन्दुमा पुगेको थियो । त्यसपछिको समयमा केही सुधार देखिए तापनि अन्तिम समयमा भने नेप्से करिब स्थिर नै रह्यो । बैंकहरूले निक्षेपमा नयाँ ब्याजदर योजना सार्वजनिक गरिरहेका छन् ।

लगानीयोग्य पुँजी अभाव भएकाले बैंकहरूले निक्षेपमा १३ प्रतिशतसम्म ब्याजदर दिने योजना सार्वजनिक गरेका छन् । उच्च ब्याज पाइने भएपछि लगानीकर्ताहरू सेयर बिक्री गरी निक्षेपतर्फ लागेका छन् । त्यसैगरी, यस दिनको बजारलाई बुक क्लोजले पनि प्रभावित पारेको छ । बुक क्लोजपछि हुने मूल्य समायोजनका कारण सेयर मूल्य प्रभावित हुन्छ । यस दिन मात्रै दस कम्पनीहरूले नेप्सेले मूल्य समायोजन गरेको छ । सोहीकारण पनि बजार ओरालो लागेको हो ।

नेप्से परिसूचक यस दिन २४ दशमलव २० अंक घटेर १ हजार ३ सय ९० दशमलव ५८ बिन्दुमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन ५ दशमलव ५० अंक घटेर २ सय ९२ दशमलव १२ बिन्दुमा पुगेको छ ।

यस दिन लगानीकर्ताको सम्पत्ति घटेर १६ खर्ब १७ अर्बमा सीमित भएको छ । यस दिन १ सय ५८ कम्पनीको ५ हजार ४ सय ८४ पटकको कारोबारमा ५८ करोड ७८ लाख २६ हजार ८ सय १० रुपैयाँबराबरको १८ लाख २५ हजार १ सय ८२ कित्ता सेयर खरिद–बिक्री भएको छ । नेप्सेको १४ दिने आरएसआई यस दिन १९ दशमलव १५ स्केलमा पुगेको छ । ओभरसोल्ड जोनमा रहेको यस आरएसआईले बजारमा सेयर बिक्री चाप बढेको संकेत गर्छ ।

रकमका आधारमा यस दिन नेपाल क्रेडिट एन्ड कमर्सियल बैंकको संस्थापक सेयर सबैभन्दा धेरै कारोबार भएको छ । यस दिन सो बैंकको ९ करोड ६९ लाख रुपैयाँभन्दा बढीको संस्थापक सेयर खरिद–बिक्री भएको छ । त्यसैगरी, प्रभु बैंकको ३ करोड ७८ लाख रुपैयाँभन्दा बढीको संस्थापक सेयर खरिद–बिक्री भएको छ । पोखरा फाइनान्सको सेयर मूल्य यस दिन ५ दशमलव शून्य ८ प्रतिशत बढेको छ । नेपाल दूरसञ्चार कम्पनीको सेयर मूल्य भने यस दिन ७ दशमलव ७१ प्रतिशत घटेको छ । कारोबारमा आएका १ सय ५८ कम्पनीहरूमध्ये १ सय १६ कम्पनीहरूको सेयर मूल्य घटेको छ भने २९ कम्पनीको सेयर मूल्य बढेको छ । बाँकी १३ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ ।

आइतबार होटेल समूहबाहेक अरू सबै समूहको परिसूचक घटेको छ । होटेल समूहको परिसूचक यस दिन शून्य दशमलव २३ प्रतिशत बढेको छ । ‘अन्य’ समूहको परिसूचक यस दिन सर्वाधिक ६ दशमलव ७३ प्रतिशत घटेको छ । त्यसैगरी, ट्रेडिङ समूहको परिसूचक २ दशमलव २४ प्रतिशत, माइक्रो फाइनान्स समूहको २ दशमलव १८ प्रतिशत, बैंकिङ समूहको १ दशमलव ३६ प्रतिशत, बिमा समूहको १ दशमलव १५ प्रतिशत र विकास बैंक समूहको १ दशमलव शून्य ५ प्रतिशत घटेको छ । कारोबारमा आएको जलविद्युत् समूहको परिसूचक शून्य दशमलव ६४ प्रतिशत, वित्त समूहको शून्य दशमलव ४४ प्रतिशत र उत्पादनमूलक समूहको शून्य दशमलव ३२ प्रतिशत घटेको छ ।

तपाईको प्रतिक्रिया