मण्डलामा ‘चिसो भञ्ज्याङ’ - Naya Patrika
eNaya Patrika
  • ePaper

मण्डलामा ‘चिसो भञ्ज्याङ’

यतिवेला मण्डला नाटकघरमा ‘चिसो भञ्ज्याङ’ नाटक मञ्चन भइरहेको छ । सन्दीप श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको नाटकले मुलुकले व्यहोरेको एउटा सशस्त्र कालखण्डको विम्ब प्रयोग गर्दै सामाजिक, ऐतिहासिक पक्षको चित्रण गरेको छ ।

नाटकमा सुदूरपूर्वको परिवेश तथा राई–लिम्बूको मौलिक संस्कार पनि पस्किइएको छ । नाटकको उठान आलोक र मुनाको प्रेम वार्तालापबाट हुन्छ ।

 

गाउँमा बाबुसाहेबले आफ्नै दबदबा राख्न चाहन्छ । अन्याय, अत्याचार, शोषण, दमन गरी गरिब निमुखा गाउँलेमाथि आफूखुसी ब्याजको भारी बोकाउने शोषकीय प्रवृत्ति बाबुसाहेबमा हावी छ । नाटकका मुख्यपात्र आलोकलाई भने नोकरको छोराको रुपमा देखाइएको छ ।

नाटकका अन्य पात्र मुना, गरिमा, कमला बाबुसाहेबका छोरी हुन् । नाटक अघि बढ्दै जाँदा आलोकले कमलालाई बलात्कार गरेको आरोप लाग्छ भने आलोकका बाबु भद्रेको बाबुसाहेबले हत्या गर्छन् । यसपछि नाटकले गति लिन्छ ।

आलोक पक्राउ पर्छन् । प्रहरी चौकीमा उनको बसाई निकै कष्टकर देखिन्छ । अर्कोतिर राज्यविरुद्ध हतियार लिएर संघर्ष गरिरहेकाहरूले एक दिन चौकीमाथि आक्रमण गर्छन् ।

चौकी क्रान्तिकारीको नियन्त्रणमा पुग्छ, जसले गर्दा चिसो, ढुँसी गन्हाउने कटघराबाट आलोकले मुक्ति पाउँछ ।

त्यससँगै आलोकमा समाजको स्वतन्त्रता र न्यायका लागि हतियार उठाउनुपर्ने चेतना विकास हुन्छ । र, आलोक पनि युद्धमा समाहित हुन्छ । जबसम्म समाजमा अन्याय, अत्याचार रहन्छ तबसम्म युद्ध चलिरहने उद्घोष नाटकले गरेको छ ।

१ घण्टा २० मिनेटको नाटकमा प्रमुख तथा सहायक र गौण चरित्रहरूले दर्शकको ध्यानतान्ने होडबाजी गर्छन् । यसले नाटकलाई सबल नै बनाएको छ । लाइट र साउन्डको प्रयोगमा पनि विशेष ध्यान दिएको देखिन्छ ।

मञ्चमा अनुप न्यौपाने, पूजा लामा, सविना गोपाली, दीपिका ढकाल, रोशन सुवेदी, बारात लिम्बू, सञ्जीव राई, विकास पन्त, सीता रानामगर, सगुन पोखरेल, उदय लिम्बू, विवेक रसाइली, अनुजा अधिकारी, समापिका गौतम, प्रतीक दुलाललगायत कलाकारको अभिनय हेर्न पाइन्छ । चिसो भञ्ज्याङ आगामी ३० पुससम्म मञ्चन हुनेछ ।

तपाईको प्रतिक्रिया