जाडोमा स्वास्थ्यको हेरचाह - Naya Patrika
eNaya Patrika
  • ePaper

जाडोमा स्वास्थ्यको हेरचाह

हामी अहिले मध्य जाडोमा प्रवेश गरेका छौँ । यो मौसममा आफूलाई स्वस्थ्य राख्न सबैले आवश्यक सावधानी अपनाउनु आवश्यक छ । जाडोको समयमा शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । जाडो अझ बढ्दै छ ।

चिसोकै कारण स्वास्थ्यमा अनेक समस्या देखापरिरहेका छन् । शरीर कमजोर भएकाले यो समयमा किटाणुले बढी संक्रमण गराउने स्वास्थ्यकर्मीको भनाइ छ । चिसोमा हुने विभिन्न रोगको संक्रमणबाट बच्न नियमित रूपमा साबुनपानीले राम्रोसँग हात धुनुपर्छ ।

हरेकपटक खाना खानुअघि साबुनपानीले राम्रोसँग हात धोएको खण्डमा रोगकोे संक्रमण हुने सम्भावना न्यून भएर जान्छ । यो समयमा रुघा खोकी झाडापखालाका बिरामीहरू धेरै हुने भएकाले बिरामीसँग लसपस गर्नु उपयुक्त मानिँदैन । बिरामीलाई छिटो संक्रमण हुन्छ । जसले गर्दा सरसफाइमा बढी ध्यान दिनुपर्छ । चिसोमा घाँटीको समस्या अधिकांशमा देखिने गर्दछ ।

वरिष्ठ नाक, कान घाँटीरोग विशेषज्ञ डा. अनिल झाका अनुसार जाडो मौसममा धेरैलाई घाँटीको संक्रमण हुने गर्छ । उनी भन्छन्, ‘घाँटीमा हुने संक्रमणमध्ये धेरैजसो भाइरल इन्फेक्सनका कारण हुन्छ । मनतातो पानीमा हल्का नुन राखेर मुख कुला गरेको अवस्थामा घाँटीको संक्रमण विस्तारै कम हुँदै जान्छ ।’

चिकित्सकका अनुसार यो समय अदुवा, लसुन, चिया, दही माछा र गाँजरजस्ता आहाराको सेवन दैनिकजसो गर्नु उपयुक्त मानिन्छ । यसको प्रयोगले शरीरलाई तातो बनाएर राख्न मद्दत गर्दछ । साथै, रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले रोगसँग लड्ने क्षमता यसले दिन्छ ।

जाडोमा हृदयाघात

जाडो मौसममा रगतमा कोलेस्टेरोलको मात्रा बढी हुन्छ । यो विभिन्न अध्ययनले प्रामाणित पनि गरेको कुरा हो । जसका कारण यो समय हृदयाघात बढी हुने गर्छ । त्यसैले, जाडो मौसम हृदयाघातको जोखिमपूर्ण मौसमका रूपमा मानिन्छ । मुटुरोग विशेषज्ञ डा. राजीवराज भण्डारी भन्छन्, जाडो मौसममा मोटोपन घटाउने, सुगर नियन्त्रण तथा कोलेस्टेरोल नियन्त्रण गर्नु अपरिहार्य छ ।

चिसो हावा र कम तापक्रमले मुटु रोगीलाई बढी नै असर पार्दछ । चिकित्सकका अनुसार यो समयमा विगतमा हृदयाघात भएका र सम्भावना बढी भएकाले बिहान र बेलुकाको समयमा बाहिर नहिँड्दा राम्रो मानिन्छ । जाडोमा अधिकांश मानिसले साबिकको तुलनामा धेरै चुरोटको सेवन गर्छन् डा. भण्डारी भन्छन्, तर, चुरोटमा हुने निकोटिनले नशालाई खुम्च्याउने हुन्छ जसले हृदयाघात गराउनलाई थप बल पुग्दछ । चिकित्सकका अनुसार चिसोले मुटुलाई शिथिल बनाउँछ । त्यसैले, चुरोट सेवन गर्नेलाई जाडोमा हृदयाघात हुने सम्भावना बढी हुन्छ ।

चिसोमा शरीरलाई तातोबनाउन मुटुले बढी काम गर्नुपर्छ । चिसो समयमा हातखुट्टा, छाती र टाउकोलाई न्यानो बनाएर राख्न पनि चिकित्सकले सुझाब दिएका छन् । धेरैजसो जाडो भएको भन्दै शरीर तताउन रक्सी सेवन गर्छन्, तर रक्सी सेवनले तातोलाई बाहिर निकालेर थप चिसो बनाउन मद्दत गर्छ भण्डारीले भने ।

चिकित्सकले बताएअनुसार बिहानको समयमा हृदयाघात हुने सम्भावना धेरै हुन्छ । अझ फोक्सोका बिरामी छन् भने उनीहरूलाई बढी हृदयाघात भएको पाइन्छ । मुटुको कुनै भागमा आकस्मिक रूपमा रक्तप्रवाह नहुँदा मुटुको मांशपेसीको मृत्यु हुन्छ यसलाई चिकित्सकहरूले हृदयाघात भनेका छन् ।

घरमा मुटुका रोगी छन् भने परिवारका सदस्यलाई बिरामी तथा रोगका बारेमा थाहा हुनु जरुरी छ । मुटुरोगी वा मधुमेहका बिरामीलाई बायाँतर्फको छाती दुख्ने समस्या सुरु भएमा तुरुन्त अस्पताल लैजान चिकित्सकहरूले सुझाब दिएका छन् । हृदयाघात हुँदा मुटु जथाभावी धड्किएको हुन्छ, त्यस्तो वेलामा नआत्तीकन छातीको देब्रेतर्फ एकमुक्का हानेर कार्डियाक मसाज गर्दा मुटुको चाल ठीक ठाउँमा आउने सम्भावना पनि हुन्छ ।

जोर्नीको सुरक्षा

जाडो मौसममा जोर्नीको पीडाले धेरै सताउने हुँदा विशेष ध्यान दिनुपर्छ । जाडोमा धेरै हिँड्डुल गर्नेभन्दा पनि एक ठाउँ बसेर आराम गर्ने हुँदा शारीरिक सक्रियता कम हुन्छ । खानपानमा समेत परिवर्तन आउने हुँदा जोर्नीको दुखाइ बढ्न सक्छ । यसका नियमित व्यायाम आवश्यक छ वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. रमेश सिंह बताउँछन् ।

जाडो मौसममा छालालाई सुक्खा हुनबाट बचाउनुका साथै फुट्नबाट रोक्नुपर्छ । त्यसका लागि विभिन्न प्रकारका मोस्चराइज क्रिमहरू पाइन्छन् । जाडोबाट छालालाई जोगाउन विशेषतः घाँटी, हातखुट्टा तथा कुहिनामा यसको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

यो समय शरीर सक्रिय हुन सक्दैन, त्यसैले नियमितको व्यायामले शरीरलाई चलायमान बनाउनुपर्छ सिंहले भने । यो समय चिसो खानेकुरा खानुको साटो तातो र झोलिलो खानेकुरा खानुपर्छ । लसुन, प्याज, माछा, बदाम, काजुको बढी प्रयोग गर्नुपर्छ । चिसोबाट पीडा हुने ठाउँलाई न्यानो राख्नुपर्छ । मनतातो पानीको प्रयोग अधिक मात्रामा गरेको राम्रो मानिन्छ ।

जाडोमा छालाको सुरक्षा
जाडो मौसममा छालालाई सुक्खा हुनबाट बचाउनुका साथै फुट्नबाट रोक्नुपर्छ । त्यसका लागि विभिन्न प्रकारका मोस्चराइज क्रिमहरू पाइन्छ । ‘जाडोबाट छालालाई जोगाउन विशेषतः घाँटी, हातखुट्टा तथा कुहिनामा यसको प्रयोग गर्नु उपयुक्त हुन्छ’ छाला रोग विशेषज्ञ डा. सविना भट्टराईले भनिन् । चिकित्सकका अनुसार अनुहारको छाला अत्यन्त संवेदनशील हुन्छ । त्यसैले कडा पानीले मुख धुनु हुँदैन ।

तापक्रम नियन्त्रणका लागि मनतातो पानीले मुख धुने तथा नुहाउने गर्नु उपयुक्त हुन्छ । जाडो मौसममा छालामा सुक्खापन बढ्ने भएकाले छाला फुट्ने सम्भावना पनि त्यत्तिकै मात्रामा रहेको हुन्छ । जाडो भन्दैमा पानी नपिउने धेरै हुन्छन्, तर सकेसम्म पानी अनिवार्य पिउनुपर्छ जसले छालालाई फुस्रो बनाउनबाट रोक्छ ।

जाडोमा अरू वेलाभन्दा बढी शरीरलाई भिटामिन आवश्यक पर्छ । सागसब्जीको प्रयोग धेरै गर्नुपर्छ । मानिसको पाचन प्रक्रियामा सुधार ल्याउनका लागि पनि चिसो मौसममा तातो खाना खाने, तातोपानी पिउने, मसला चिया खाने गर्नुपर्छ ।

डा. भट्टराई भन्छिन, चिसोमा छालालाई फुट्नबाट जोगाउन सुत्नुअघि तेल वा घिउले मालिस गर्नुपर्छ । खुट्टा धेरै फुटेका छन् भने, पाँच मिनेट सहन सक्ने तातोपानीमा डुबाएपछि मात्रै घिउ लगाउनुपर्छ । उनी भन्छिन्, जाडो मौसममा टाउकोमा चायाँको समस्या बढी हुन्छ । विशेष प्रकारको रासायनिक तत्वरहित हर्बल तेल तथा स्याम्पु प्रयोग गरेर हरेक दिनजसो टाउको नुहाउनुपर्छ ।

जाडोमा खानपान
जाडो मौसममा शरीरबाट क्यालोरीको मात्रा बढी खर्च हुन्छ । चिकित्सकका अनुसार क्यालोरी सँगसँगै भिटामिन र प्रोटिनको मात्रा पनि जाडोमा त्यत्तिकै आवश्यक पर्छ । डा. लोचन कार्कीका अनुसार जोडोमा फलफूलको मात्रा कम खानेहरू पनि प्रशस्त पाइन्छन्, तर फलफूलमा भिटामिन, मिनरल्स, एन्टिअक्सिडेन्ट हुने भएकाले फलफूलको सेवनलाई जाडो भनेर कम गराउनु हुँदैन ।

ओखरमा ओमेगा थ्री पर्याप्त मात्रामा पाइने भएकाले जाडोमा ओखरको सेवन गर्न सकिन्छ । यसले पुरुषका लागि सुक्राणु वृद्धि र गुणस्तरमा सघाउ पु¥याउँछ । ओखरले रगतको सर्कुलरलाई सघाउने भएकाले पनि यसको सेवन जाडोमा उत्तम मानिन्छ । त्यस्तै, गाँजर, अनार, अन्डा र दूधको सेवन पनि राम्रो मानिन्छ । गाँजरमा भिटामिन र एन्टिअक्सिडेन्ट हुने हुँदा छालालाई तन्दुरुस्त राख्दछ ।

कार्कीले भनेका छन्, जाडोमा अनार खानु पनि उत्तिकै फाइदाजनक छ । अनारमा हुने अक्सिडेन्टले मानिसलाई जवान राख्न र अल्छीपनाबाट भगाउन मद्दत पुग्दछ । अन्डा वा दूधमा प्रोटिन र क्याल्सियम बढी मात्रामा हुन्छ । क्याल्सियमले हाड मजबुत बनाउन सघाउँछ भने प्रोटिनले शरीरमा तापक्रम बढाउनुका साथै छालामा हुने फुस्रो हटाउँदछ ।

तपाईको प्रतिक्रिया