सपिङ मलमा अफरको प्रतिस्पर्धा, उपभोक्तालाई फाइदै-फाइदा - Naya Patrika
eNaya Patrika
  • ePaper

सपिङ मलमा अफरको प्रतिस्पर्धा, उपभोक्तालाई फाइदै-फाइदा

आधुनिकता र जीवनशैलीमा परिवर्तनसँगै मानिसमा सुखी र आरामदायी जीवनको मोह बढ्दो छ । यसैलाई पछ्याउँदै अहिले जहाँ माग हुन्छ, त्यहाँ आपूर्तिको मार्ग खुल्छ भनेझैँ मानिसको यो चाहनालाई सम्बोधन गर्न सपिङ मल खुल्न थाले । जति मल खुल्दै गए, त्यति नै प्रतिस्पर्धा पनि बढ्न थाल्यो । प्रतिस्पर्धामा आफूलाई अब्बल बनाउन मलहरूले पनि विभिन्न योजना र कार्यक्रम ल्याउन थाले ।

बढ्दो मल संस्कृतिका कारण मानिस आफूलाई चाहिने सामान खरिद गर्न पनि पसल–पसल भौंतारिने झन्झटबाट मुक्त हुँदै मलमै आकर्षित हुने क्रम बढ्न थाल्यो । हरेक दिवस र उत्सवलाई मानिसले रमाइलो गर्ने र किनमेल गर्ने अवसरका रूपमा सदुपयोग गर्न थाले । त्यसैअन्तर्गत मध्य जाडोमा पर्ने इस्वी सन्को नयाँ वर्षमा पनि मलमा मानिसको चहलपहल बाक्लो हुन थालेको छ ।

चावहिल चुच्चेपाटीमा रहेको केएल टावरले क्रिसमस र नयाँ वर्षलाई लक्षित गरी कार्यक्रम गरेको छ । फेस्टिभ सेलेब्रेसनअन्तर्गतको क्रिसमसको कार्यक्रम सम्पन्न भएको र न्यू इयरसम्बन्धी कार्यक्रम जारी रहेको नेपालका विभिन्न सपिङ मलको व्यवस्थापन गरिरहेको इभेन्ट नेपालका निर्देशक हिरामणि तिमल्सिनाले बताए । यो अवसर पारेर के एल टावरलाई पूर्ण रूपमा सिंगारिएको उनको भनाइ छ ।

पर्वको अवसर र ‘टाइगर जिन्दा है’ भन्ने चर्चित भारतीय चलचित्र पनि चलिरहेकाले चाप उल्लेख्य रहेको तिमल्सिनाको भनाइ छ । नयाँ वर्षको अवसर पारेर यहाँ विभिन्न सामानको मूल्यमा ५० प्रतिशतसम्म छुट दिइएको छ । त्यस्तै हरेकजसो ब्रान्डले विभिन्न उपहार तथा छुटका अफर राखेका छन् । त्यस्तै नयाँ वर्षको अवसर पारेर विभिन्न प्रतियोगितात्मक मनोरञ्जनका कार्यक्रम राख्ने तयारी भइरहेको उनको भनाइ छ ।

मलमा जाडोमा लगाउने कपडामा विशेषगरी ज्याकेट र कोटमा विशेष छुटको अफर रहेको छ । यसले पनि मलमा चाप बढाउन सहयोग पुगेको उनको दाबी छ । ४५ भन्दा बढी पसल रहेको र तीनवटा चलचित्र हल रहेको केएल टावरमा मोबाइल हव, मिनिसोको जापानी स्टोर, डिपार्टमेन्ट स्टोर, घडी, चस्मालगायत पसल रहेका छन् । त्यस्तै सर्टिङ सुटिङ, ब्रान्डेड सोरुमहरू, कफी सप, बच्चाका लागि गेमजोन, रेडिमेड लेडिज, जेन्ट्स तथा बच्चाका गार्मेन्टका आउटलेट रहेका छन् ।

गोंगबुको बिजी मलमा विन्टर फेस्ट नामक कार्यक्रम सञ्चालन भइरहेको छ । भिभो मोबाइल टाइटल स्पोन्सर रहेको यो कार्यक्रमको व्यवस्थापन इभेन्ट म्यानेजमेन्ट कम्पनीले गरिरहेको छ । कार्यक्रमका लागि पूर्ण रूपमा महल सजावट गरिएको इभेन्ट म्यानेजमेन्टका हिरामणि तिमल्सिनाले बताए । यो मलमा क्रिसमको अवसर पारेर ८ गते माउन्ट ८८४८ ब्यान्डको कन्सर्ट सम्पन्न भयो । त्यस्तै क्रिसमसको पूर्वसन्ध्यामा सविन राई एन्ड ब्यान्डको कन्सर्ट गरिएको थियो ।

न्यू इयर इभमा लबिम मलले आनन्द कार्की एन्ड ब्यान्डको सहभागितामा लाइभ म्युजिक कार्यक्रमको आयोजना गर्ने तिमल्सिनाले बताए । सो कार्यक्रममा धेरैभन्दा धेरै व्यक्ति सहभागी हुन सकून् भनेर १ हजार रुपैयाँ मात्र टिकट दर तोकिएको उनले बताए । सो टिकटमा कम्प्लिमेन्टका रूपमा फुड तथा ड्रिंक पनि रहेको छ । त्यस्तै मलका धेरै पसलमा नयाँ वर्षको अवसर पारेर सामानको मूल्यमा ४० प्रतिशतसम्म छुट दिइएको छ ।

नयाँ वर्षको अवसर पारेर बिजी मलमा निःशुल्क फेस पेन्टिङ, बालबालिकालाई चकलेट, निःशुल्क विभिन्न खेल खेलाइरहेको तिमल्सिनाले बताए । त्यस्तै बालबालिकालाई विभिन्न रंगीन बेलुन पनि उपहार दिइएको जनाइएको छ । विन्टर फेस्ट कार्यक्रम जनवरी २ अर्थात् मंगलबार सम्पन्न हुँदै छ । मलमा १० भन्दा बढी मोबाइल पसल, चकलेटको स्पेसल आउटलेट, मल्टी कुजिन रेस्टुरेन्ट, विभिन्न प्रकारका कपडाका आउटलेटलगायत एउटा मलमा आवश्यक सबै प्रकारका सुविधा रहेको कम्पनीले
जनाएको छ ।

त्यस्तै विश्वज्योति मलले क्रिसमस तथा नयाँ वर्षको अवसर पारेर विन्टर कार्निभल सञ्चालन गरिरहेको छ । २३ डिसेम्बरमा सुरु भएको यो योजना मंगलबारसम्म सञ्चालन हुने जनाइएको छ । यो मलमा विन्टर अफर योजनाअनुसार विभिन्न आउटलेटले सामानको मूल्यमा ४० प्रतिशतसम्म छुट दिएका छन् ।

गएको शुक्रबार मलले नवीन के भट्टराईको सांगीतिक कार्यक्रम आयोजना गरेको थियो । त्यस्तै यसले क्रिसमसको अवसरमा उपभोक्तालाई फाइदा पुग्ने योजना ल्याएको छ । यहाँ आउने उपभोक्तालाई विभिन्न लन्च, कफीजस्ता कुपन दिइरहेको छ ।

नयाँ वर्ष इभमा चौथो तलामा रहेको एहसास गजल एन्ड लाउन्जले विशेष कार्यक्रम गर्ने तयारी गरेको मल व्यवस्थापनले जानकारी दिएको छ । विभिन्न प्रकारका ८० भन्दा बढी आउटलेट रहेको मलमा सर्टिङ सुटिङ, कफी सप, गजल रेस्टुरेन्ट, बुटिकहरू, ज्वेलरी कस्मेटिक, घडी, चस्मालगायत सामान राखिएका छन् । यसको तेस्रो तलामा पूरै मोबाइल आउटलेट रहेको छ । त्यस्तै यसमा हेल्थ एन्ड ब्युटिकेयर स्टोर पनि छ । साथै सिनेमा हल खोल्ने तयारी पनि अन्तिम चरणमा पुगेको छ ।

त्यस्तै कमलपोखरीमा रहेको सिटी सेन्टरले पनि क्रिसमस तथा नयाँ वर्षको अवसर पारेर एक महिना लामो विन्टर फेस्ट कार्यक्रम सञ्चालन गरिरहेको छ । सिटी सेन्टरका विल्डिङ व्यवस्थापक जितेन्द्र श्रेष्ठले डिसेम्बर १५ मा सुरु भएको विन्टर फेस्ट जनवरी १५ सम्म सञ्चालन हुने बताए ।

यसमा बालबालिकालाई कार्निभल, विन्टर क्याम्प, लाइभ सांगीतिक कार्यक्रम, लेगो विल्डिङ प्रतियोगिता, फेस पेन्टिङ, कार्टुन क्यारेक्टरबाहेक विभिन्न छुटका योजना पनि रहेको जनाइएको छ । सयभन्दा बढी आउटलेट रहेको सिटी सेन्टरमा विभिन्न राष्ट्रिय तथा आन्तर्राष्ट्रिय ब्रान्डका आउटलेटका साथै विशेष प्रकारको फुडकोर्ट रहेको श्रेष्ठले बताए ।

खाना, कपडा, खाद्य पदार्थ, शृृंगार प्रशाधनदेखि मनोरञ्जनका लागि चलचित्रसमेत एकै ठाउँमा हुने भएपछि मानिस अन्त किन जान्थे ? विश्व नै एक गाउँ भएको अवस्थामा यो देशको संस्कृति र ऊ देशको संस्कृति भन्ने भन्दा सबैको संस्कृतिलाई एकअर्काले मान्ने परम्परा सुरु भएको छ । त्यो भन्दैमा आप्mनो संस्कृति भने भुल्नु हुँदैन । हामी पनि अंग्रेजी नयाँ वर्ष मनाउँदै कुनै एक मलमा गएर त्यसले दिएका विभिन्न अफरका लाभ उठाउने हो कि ?

तपाईको प्रतिक्रिया