इंग्ल्यान्डलाई स्मिथको शतक बाधक
eNaya Patrika
  • ePaper

इंग्ल्यान्डलाई स्मिथको शतक बाधक

इंग्ल्यान्ड र अस्ट्रेलियाबीचको एसेजअन्तर्गत चौथो टेस्ट ड्र भएको छ । चौथो टेस्टको शनिबार पाँचौँ तथा अन्तिम दिन अस्ट्रेलियन कप्तान स्टिभ स्मिथ १ सय २ रनमा नटआउट रहेपछि इंग्ल्यान्ड जितविमुख भएको हो । अस्ट्रेलियाले पाँच खेलको सिरिजमा ३–० ले कब्जा जमाइसकेको छ । अस्ट्रेलियाले ४ विकेट गुमाएर २ सय ६३ रन बनाएपछि टेस्ट बराबरीमा सकियो । अस्टे«लियाका लागि डेभिड वार्नरले ८६ रन बनाउँदा मिचेल मार्सले २९ रन जोडे ।

२० वर्षमा दोस्रो ड्र
मेलवर्न क्रिकेट मैदानमा पछिल्ला २० वर्षमा बक्सिङ डे टेस्ट बराबरी सकिएको यो दोस्रो अवसर हो । खेल बराबरीपछि दुबै टोलीका कप्तानले पिचका कारण परिणाम नआएको टिप्पणी दिएका छन् । ‘विकेट फ्ल्याट थियो र बल सहजै ब्याटमा आइरहेको थियो,’ अस्ट्रेलियन कप्तान स्मिथले भने, ‘मेलवर्न बलरका लागि निकै खराब साबित भयो ।’ पाँच दिनमा बलरले २४ विकेट लिँदा ब्याट्सम्यानले १०८१ रन बनाएका थिए ।

स्मिथको २३ शतक
अस्ट्रेलियन कप्तान स्मिथले एकपटक फेरि विश्व क्रिकेटमा अर्को रेकर्ड बनाएका छन् । इंग्ल्यान्डविरुद्धको चालू एसेजमा उनले तीन शतकीय इनिङ खेलेका छन् । स्मिथको यो करिअरकै २३औँ टेस्ट शतक हो । शतकसँगै स्मिथले सर्वाधिक छिटो २३औँ शतक पूरा गर्ने पाकिस्तानका मोहम्मद युसुफ र भारतीका सचिन तेन्दुलकरलाई पछि पारेका छन् । स्मिथले एक सय १० इनिङमा सो सफलता हात पारेका हुन् । युसुफले एक सय २२ र सचिनले एक सय २३ इनिङमा २३औँ शतक पूरा गरेका थिए । स्मिथभन्दा अघि ब्रेडम्यान र सुनील गावस्कर छन् । ब्रेडम्यानले ५९ इनिङ र गावस्करले एक सय ९ इनिङमा २३औँ टेस्ट शतक लगाएका थिए ।

रन मेसिन स्मिथ
स्मिथले टेस्ट क्रिकेटमा आफूलाई रन मेसिनका रूपमा स्थापित गरेका छन् । उनले यस वर्ष ७६.७६ को औसतमा सर्वाधिक १ हजार ३ सय ५ रन बटुलेका छन्, जसमा उनले १ दोहोरो शतक लगाउँदै समग्रमा ६ शतक बनाए । उनले एकै क्यालेन्डरमा ६ शतक लगाउने रिकी पोन्टिङको रेकर्ड पनि बराबरी गरे । स्मिथले १ हजारभन्दा बढी टेस्ट रन बनाएको यो चौथो अवसर हो । टेस्ट क्रिकेटमा स्मिथ एक मात्र ब्याट्सम्यान हुन् जसले लगातार चौथो वर्ष ७० भन्दा बढीको औसतमा १ हजार रन प्रहार गरेका छन् ।

तपाईको प्रतिक्रिया