कांग्रेसलाई फेरि उठाउने आधार
eNaya Patrika
  • ePaper

कांग्रेसलाई फेरि उठाउने आधार

निर्वाचनमा हारको समीक्षा
यसपटकको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन परिणाम कांग्रसका लागि सुखद रहेन । अघिल्लो निर्वाचनमा पहिलो दल बनेको कांग्रेस यसपटक प्रत्यक्ष निर्वाचनतर्फ तेस्रो दलमा खुम्चिन पुग्यो भने समानुपातिक मत परिणामसमेत जोड्दा दोस्रो दलका रूपमा देखियो । पार्टीले व्यहोरेको यो हारको समीक्षा गर्दैगर्दा यसका बहुआयामिक कारण भेटिन सक्छन् । यसपटकको निर्वाचनको मुखमा आएर दोस्रो र तेस्रो स्थानमा रहेका दुई ठूला पार्टी एमाले र माओवादी केन्द्र गठबन्धन बनाएर निर्वाचनमा गए ।

दुई ठूला पार्टी एकातिर उभिनासाथ तेस्रो पार्टी पराजित हुनु स्वाभाविकै थियो । अर्कातिर हामीले सरकारमा हुँदा गरेका राम्रा कामबारे पनि समयमै जनतालाई सुसूचित गर्न सकेनौँ भने सरकारमा भएकै समयमा हामीले गरेका कतिपय काम अत्यन्त आलोचित पनि बने । त्यस्ता कामले पार्टीको छविमा आँच पुर्याए । परिणामतः प्रत्यक्षतर्फ एमालेले ८० सिट जित्यो भने कांग्रेस मात्र २३ सिटमा खुम्चियो । स्वाभाविक रूपमा एमालेको पक्षमा देशव्यापी लहर आएर उसले त्यति धेरै सिट जित्यो र हाम्रो पक्षमा लहर आउन नसकेकाले नै हामी त्यति थोरै सिटमा खुम्चियौँ । तर, समानुपातिकतर्फको मतको अन्तर भने एमाले र कांग्रेसबीच मात्र ४५ हजारको छ । यसबाट के पुष्टि हुन्छ भने जनताबीच अलोकप्रिय भएर वा जनताले अविश्वास गरेर कांग्रेस पराजित भएको होइन । २३ सिट जितेर पनि कांग्रेस ८० सिट जित्ने एमालेजत्तिकै जनतामाझ अझै लोकप्रिय छ । त्यसैले, कांग्रेसको पराजयको मुख्य कारण दुई ठूला दलको गठबन्धन हुनु नै हो । जनताले होइन, वाम गठबन्धनले कांग्रेसलाई पराजित गरेको हो ।

तर, यसो भन्दाभन्दै पनि कांग्रेसले यो हारको घडीमा गम्भीर आत्मसमीक्षा गरेर आफूलाई सच्याउने दिशामा अग्रसर हुन सकेन भने आगामी दिनमा पनि यसैगरी पराजयको सामना गर्नु नपर्ला भन्न सकिन्न । भविष्यमा दुईटा वामपन्थी दल मात्र नभई सबै आपसमा मिलेर थप बलियो बन्लान् । त्यस्तो अवस्थामा अरू बलियो भएकाले हामी पराजित भयौँ भनेर पानीमाथिको ओभानु बनेर उम्किन सकिन्न । संसद्मा हाम्रो प्रभावकारी उपस्थिति हुन सकेन भने प्राविधिक रूपमा त्यो हाम्रो राजनीतिक र रणनीतिक पराजय साबित हुनेछ । त्यसैले पनि कांग्रेसले गम्भीर आत्मसमीक्षा गर्दै आगामी दिनमा आफूभित्र सुधारको रणनीति बनाएर अघि बढ्नु जरुरी छ । पछिल्लो निर्वाचनमा कांग्रेसको हारका सम्बन्धमा धेरै व्यक्ति, तह र तप्काबाट अत्यन्त धेरै समीक्षा भइसकेको हुनाले यसलाई यहाँ पनि त्यसैगरी खोतल्न आवश्यक छैन । तर, आगामी दिनमा फेरि पहिलेकै अवस्थामा अघि बढ्नका लागि कांग्रेसले गर्नुपर्ने सुधार र लिनुपर्ने रणनीतिबारे भने यहाँ चर्चा गर्नु सान्दर्भिक नै हुनेछ ।

आत्मसमीक्षा र कार्यशैलीमा सुधार
हिजोका दिनमा पार्टी सञ्चालनका क्रममा पार्टी सभापति, उपसभापति, वरिष्ठ नेता, महामन्त्री, हामी केन्द्रीय सदस्य, जिल्ला सभापति, क्षेत्रीय सभापति हुँदै क्रियाशील सदस्यसम्म सबैबाट आ–आफ्नो हैसियत र जिम्मेवारीअनुरूप कहीँ न कहीँ, केही नै केही कमी–कमजोरी भएकै हुन् । पार्टीभित्र र देशको राजनीतिमा हामी सबैले कतिपय महत्वपूर्ण काम राम्ररी सम्पादन गर्न सकेनौँ । त्यसैको परिणामस्वरूप अहिलेको स्थितिमा पुगेका हौँ भन्ने स्वीकारोक्ति हामी सबैबाट हुनुपर्छ । यति गर्न सकेको अवस्थामा मात्र हामी आफ्नो कार्यशैली परिवर्तन गर्न सक्छौँ । अबको दिनमा फेरि पहिलेझैँ उठ्न हामीले आफ्नो काम गर्ने तौरतरिकामा आमूल परिवर्तन ल्याउनुपर्छ । सबैको आ–आफ्नो हैसियत र जिम्मेवारीको सन्दर्भमा हेर्दा सबैभन्दा बढी परिवर्तन पार्टीका सभापतिमै आउनु जरुरी हुन्छ । सभापतिदेखि पार्टीको सबैभन्दा तल्लो तह क्रियाशील सदस्यसम्म पुग्दा सबैले हैसियत, जिम्मेवारी र गच्छेअनुसार आ–आफ्नो कार्यशैलीमा सुधार गर्न सक्नुपर्छ । सबैल यति गर्ने हो भने आगामी दिनमा कांग्रेसलाई पूर्ववत् उठाउन धेरै बल लगाइरहनुपर्दैन ।

पार्टी संरचनामा सुधार
हामीले तत्कालै सुधार गरेर देखाउन सकिने केही ठाउँ छन् । यसका लागि तत्कालै केन्द्रीय कार्य समितिको बैठक बसेर निर्वाचन परिणामको गम्भीर समीक्षा गर्नुपर्छ । त्यसपछि हामीले तत्काल महासमिति बैठक बोलाउनुपर्छ । पार्टीको विधानअनुसार महाधिवेशन भएको वर्ष र हुने वर्षबाहेक अन्य वर्षमा बर्सेनी महासमितिको बैठक बोलाउनैपर्छ । यो वर्ष हामीले यसै पनि महासमितिको बैठक बोलाउनैपर्ने थियो । अब झन् यतिखेर त निर्वाचनमा भएको यति ठूलो पराजयको विषयमा गम्भीर समीक्षा गर्दै र पार्टीको भावी कार्यदिशा तय गर्नै पनि महासमिति बैठक बोलाउनु जरुरी छ । यसको तयारी गर्दै गर्दा पनि हामीले तत्काल गरिहाल्नुपर्ने केही काम छन् । महाधिवेशन सम्पन्न भएको यति लामो समय बितिसक्दा पनि पार्टीका पदाधिकारीले पूर्णता पाएको अवस्था छैन । त्यसैले सबैभन्दा पहिले पार्टी पदाधिकारी र कार्यसमितिलाई पूर्णता दिनुपर्छ । पार्टीका विभागहरू पनि गठन गर्नु छ । पार्टीका भ्रातृ संस्थाहरू यसपटकको निर्वाचनमा लगभग निष्क्रियजस्तै देखिए । तिनलाई पनि क्रियाशील बनाउनु छ । त्यसैगरी अब पार्टी संसदीय दलको नेतृत्व आन्तरिक एकताको सन्देश दिन सक्नेगरी सर्वसम्मत ढंगले चयन गर्न सक्नुपर्छ । संविधानतः अहिले प्रदेश सरकार गठन हुँदै छन् । प्रदेश सरकार गठनसँगै प्रदेश कार्यसमितिको आवश्यकता पर्छ । पार्टी संरचनामा सुधार गरी प्रदेश कार्यसमितिलाई सक्रिय गरायौँ भने मात्र हामीले प्रदेशमा प्रमुख प्रतिपक्षीको भूमिका राम्ररी निर्वाह गर्न सक्छौँ । यसका लागि सातवटै प्रदेशमा प्रदेश अधिवेशन सम्पन्न गराउनु जरुरी छ । यति गरेर आफ्नो पार्टीगत संरचनामा सुधार गरी निर्वाचन परिणामबाट ठूलो पाठ सिकेर हामी सबै अब ठीक बाटोमा गयौँ भन्ने ठोस प्रमाण आमजनतामाझ पेस गर्न सक्छौँ।

पार्टीलाई गति दिन हामीले आगामी दिनमा पार्टीको नीति र प्रशिक्षण प्रतिष्ठानलाई सक्रिय बनाउनु जरुरी छ । कांग्रेसको विधानमा उपसभापतिको नेतृत्वमा पार्टीको नीति र प्रशिक्षण प्रतिष्ठान रहने व्यवस्था छ । उपसभापतिजस्तो उच्च तहको पदाधिकारी प्रमुख रहने यो नीति र प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीति निर्माण गर्छ । एक हिसाबले यो प्रतिष्ठानलाई हाम्रो विधानले पार्टीको विश्वविद्यालयकै रूपमा स्थापित गरेको छ । यसले पार्टीका नीति तथा सिद्धान्तबारे अध्ययन गरी त्यसलाई समयसापेक्ष बनाउने कार्य गर्छ । यसले प्रशिक्षण प्रतिष्ठानको हैसियतमा दुई खालका प्रशिक्षण दिन सक्छ । पहिलो, सैद्धान्तिक, वैचारिक र नीतिगत प्रशिक्षण, जसलाई देशव्यापी बनाउनु जरुरी देखिन्छ । सबै तहका कार्यकर्तालाई पार्टीनीति बुझाउने र त्यसलाई जनतामाझ सम्प्रेषण गराउन प्रशिक्षित गराउने दायित्व पनि यही प्रतिष्ठानकै हो । यो प्रतिष्ठानको अर्को काम भनेको पार्टीका कार्यालय सचिव र कोषध्यक्षहरूलाई तालिम दिनु पनि हो । उनीहरूलाई योग्य र क्षमतावान् बनाउने कार्य यस प्रकारको तालिमले गर्छ । त्यसैले हामीले यो प्रतिष्ठानलाई पनि तत्काल सक्रिय गराउनुपर्ने अवस्था छ ।

पार्टीभित्रको निराशा चिर्नु
यतिखेर पार्टीभित्र चरम निराशा छ । पार्टीका निष्ठावान् साथीहरू आफू अपमानित भएको महसुस गरिरहेका छन् । उनीहरूले आफूहरू किनारामा धकेलिएको महसुस गरेका छन् । पार्टीमा यसैका लागि जीवन समर्पित गरेका निष्ठावान् नेता, कार्यकर्ता प्रशस्त छन् । उनीहरूले कांग्रेसबाटै देशमा परिवर्तन आउँछ, विकास र समृद्धि आउँछ भन्ने सपना पनि देखेका छन् । तर, बिस्तारै–बिस्तारै उनीहरूले पार्टीभित्र आफूलाई असुरक्षित महसुस गर्न थालेका छन् । पार्टीमा निष्ठावान् साथीहरूभन्दा अवसरवादी व्यक्तिहरूले बढी अवसर पाएको महसुस हुनु निश्चिय नै चिन्ताको विषय हो । पार्टीका निष्ठावान् समर्पित नेता, कार्यकर्तामाझ यस्तो सन्देश जानु भनेको पार्टी जीवनका लागि राम्रो होइन । हिजो अप्ठ्यारो समयमा तिनै निष्ठावान् साथीहरूले पार्टीलाई जोगाए । तिनै साथीहरूको रगत, पसिना र बलिदानमा यो पार्टी जन्मियो, हुर्कियो र बढ्यो । आज आएर त्यही पार्टीभित्र तिनै निष्ठावान् समर्पित साथीहरू आफूहरू असुरक्षित भएको मनोदशामा पुग्नु गम्भीर चिन्ताको विषय हो । यसलाई हामीले तत्काल देशव्यापी रूपमा निष्ठावान् साथीहरू यो पार्टीभित्र सुरक्षित हुनुहुन्छ भन्ने सन्देश प्रवाहित गरेर सम्बोधन गर्न सक्नुपर्छ ।

यतिखेर पार्टीभित्र के हुने भन्ने होइन, को हुने भन्ने विषयमा बहस केन्द्रित हुन खोजिरहेको देखिन्छ । तर, पार्टीमा को हुने भन्ने विषय प्रधान होइन, के हुने भन्ने विषय प्रधान हो । भोलिका दिनमा हामी अत्यन्त सानो आकारको प्रमुख प्रतिपक्षीको हैसियतमा संसद्मा छिर्दै छौँ । त्यहाँ हाम्रो भूमिका के हुनेछ । त्यहाँ हाम्रो पार्टीले के गर्छ ? कसरी अघि बढ्छ भन्ने विषय मुख्य हो । यसै दिशामा हाम्रो बहस केन्द्रित हुनु जरुरी छ । यसको नेतृत्वमा को आउने भन्ने प्रश्न त्यति महŒवको होइन । त्यसैले हाम्रो छलफल, बहस र विचार विमर्शलाई के हुने भन्ने दिशामा केन्द्रित गर्न सक्नुपर्छ । अब संसद्, संसदीय दल र पार्टीमा के हुन्छ भन्ने विषयमा बहस गर्दै अघि बढ्नुपर्छ ।

अन्त्यमा,
पार्टीको आन्तरिक सांगठनिक सुदृढीकरणका लागि थप एक वर्षजति समय लाग्न सक्छ । त्यसपछिको वर्षलाई हामीले महाधिवेशन तयारी वर्षका रूपमा लिनुपर्छ । अबको महाधिवेशन हामी चार वर्षको कार्यकालपछि कत्ति पनि समय नथपी समयमै सम्पन्न गराउनुपर्छ । हामीले महाधिवेशनको समयमा जहिल्यै हतारमा काम गर्ने गरेका छौँ । जसले गर्दा हतारको काम लतार भनेजस्तो हुँदै आएको छ । त्यसैले अब समयमै क्रियाशील सदस्यता वितरण, नवीकरण र पार्टीका गाउँ तहसम्मका कमिटीहरूको अधिवेशन समयमै सम्पन्न गर्नुपर्छ । सातवटै प्रदेशमा प्रादेशिक अधिवेशन पनि सम्पन्न गर्नु छ । पार्टी विधानमा पनि केही समयसापेक्ष रूपमा परिवर्तन गर्नुपर्ने अवस्था छ । यसरी, समयमै आन्तरिक तयारी गरी चारवर्षे कार्यकालको समाप्तिसँगै एक दिन पनि म्याद थप नगरी महाधिवेशन गराउन सक्नुपर्छ । यसले कांग्रेसलाई पुनर्जीवन दिनेमा शंका छैन । यो बाटोबाट अघि बढ्न सकेको खण्डमा मात्र हामी अर्कोपटकको स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पुनः पहिलेझैँ खडा हुन सक्नेछौँ ।
(पाण्डे कांग्रेस केन्द्रीय सदस्य हुन्)

तपाईको प्रतिक्रिया