नेपाली जुत्ता आयातीतभन्दा गुणस्तरीय
eNaya Patrika
  • ePaper

नेपाली जुत्ता आयातीतभन्दा गुणस्तरीय

कुनै पनि देश औद्योगिक रूपमा आत्मनिर्भर हुन सकेन भने त्यो देशको आर्थिक विकास सम्भव छैन । त्यसैले नेपाललाई जुत्ता उत्पादन तथा उपभोगका लागि आत्मनिर्भर बनाउन जुत्ता व्यवसायी लागिपरेका छन् । सोहीकारण समय–समयमा जुत्ता मेलालगायतका ब्रान्डिङका काम पनि भइरहेका छन् ।

महेशकुमार बाहेती
कन्ट्री प्रमुख, म्याजिक फुटवेयर प्रालि

 

कुनै पनि देशको कुनै विशेष उत्पादनमा आत्मनिर्भर हुने हो भने त्यो देशको उपभोक्ता र सरकार पनि त्यस विषयमा संवेदनशील हुनु जरुरी छ । त्यसका लागि उपभोक्ताले सम्बन्धित उत्पादनलाई माया गर्नुपर्छ । मैले खोक्रो माया अर्थात् जस्तो गुणस्तरको भए पनि स्वदेशी उत्पादन किन्नुस् भन्न खोजेको होइन । नेपाली जुत्ता साँच्चै गुणस्तरीय छन् ।

हामीले नेपालमा उत्पादन गरिरहेको स्वदेशी उत्पादनमै गुणस्तर खोज्नुपर्छ । बाहिरबाट आयात गरेका जुत्ताभन्दा नेपालमा उत्पादन भएका जुत्ता गुणस्तरमा धेरै अगाडि छन् । त्यसले गर्दा पनि देशमै उत्पादन भएका जुत्ता प्रयोग गर्नु धेरै राम्रो हो । अहिले नेपाली उत्पादन पछिल्लो प्रविधिबाट उत्पादित भएकाले उच्च गुणस्तरका छन् । कहीँ पनि शंका गर्नुपर्ने ठाउँ छैन । त्यसले गर्दा ग्राहकले उत्पादनलाई विश्वास गर्नुपर्‍यो । उत्पादकलाई पनि विश्वास गर्नुभएमा उहाँहरूको विश्वास कुनै पनि कम्पनीले तोड्ने छैन ।

नेपाली उत्पादनलाई गुणस्तरीय बनाउन उत्पादकले धेरै दुःख भोगेका छन् । सरकारले ल्याएको नीतिका कारण पनि नेपाली जुत्ताचप्पल उत्पादकलाई धेरै गाह्रो छ । भन्सार दर उच्च छन् । करको कारण पनि प्रतिस्पर्धामा जान धेरै गाह्रो छ । कच्चा पदार्थ बाहिरबाटै मगाउनुपर्छ । नेपालमा धेरै कम मात्र कच्चा पदार्थ उपलब्ध छ । सरकारले अलिकति ध्यान दिने हो भने नेपालमा उत्पादन हुने जुत्ता, चप्पलले हामी आत्मनिर्भर हुन सक्छौँ । त्यसका लागि सरकारले ल्याउने नीति स्थिर हुनुपर्छ ।

समय–समयमा अझ मौसमअनुसार फेरिने नीतिले कुनै पनि उद्योग सहज रूपमा अघि बढ्न सक्दैनन् । नेपाली जुत्ता उत्पादकसँग सरोकार राख्ने सम्बन्धित सरकारी कार्यालयमा पाइने सुविधामा केही खुकुलोपन ल्याउने हो भने हामीलाई धेरै सहज हुने थियो । त्यसले हामीलाई उत्पादन बढाउन तथा नयाँ कम्पनी स्थापना गर्न धेरै सजिलो पर्दथ्यो ।

तपाईको प्रतिक्रिया