इपिएल फाइनल : विराटनगर र भैरहवा कसले मार्ला बाजी?
eNaya Patrika
  • ePaper

इपिएल फाइनल : विराटनगर र भैरहवा कसले मार्ला बाजी?

इपिएल फाइनल आज :

एभरेस्ट प्रिमियर लिग (इपिएल)को फाइनल खेल सुरू भएकाे छ । प्रतियोगितामा एक मात्र अपराजित टिम विराटनगर वारियर्सले भैरहवा ग्लाडियटर्सविरुद्ध उपाधिका लागि प्रतिस्पर्धा गर्दै छ । लगातार १३ दिनसम्म चलेको इपिएलमा भैरहवा लिग र क्वालिफायर चरणमा विराटनगरसँग मात्र हारेको थियो । त्यसबाहेक भैरहवाले पनि हारको सामना गरेको छैन । दुई हारको बदला लिन तयार भैरहवाले विराटनगरलाई कडा चुनौती दिने अपेक्षा छ । लिगदेखि क्वालिफायर चरणसम्म उत्कृष्ट खेल पस्केका यी दुई टोलीबीचको फाइनल भिडन्त रोचक हुने आकलन छ । विराटनगर अन्त्यसम्म अपराजित रही इपिएल उपाधि जित्ने दाउमा छ ।

हेड टु हेडमा
प्रतियोगितामा भैरहवा र विराटनगर फाइनलअघि दुईपटक एक–अर्काविरुद्ध भिडिसकेका छन् । समूहचरणको खेलमा विराटनगरसँग भैरहवा ३५ रनले पराजित भएको थियो । भैरहवाविरुद्ध पहिलो ब्याटिङ गर्दा दुई हङकङका खेलाडी अंशुमान रथ र बाबर हायतले उत्कृष्ट इनिङ खेलेका थिए । अंशुमानले ५७ रन बनाउँदा हायतले ३६ रन बनाएपछि विराटनगरले १ सय ४९ रन बनाएको थियो । जवाफमा भैरहवा १ सय १४ रनमा अलआउट भयो ।

फाइनल प्रवेशअघिकोे क्वालिफायरमा पनि भैरहवामाथि विराटनगर सहज जित हासिल गर्न सफल भयो । विराटनगरले १८ बल बाँकी छँदै ८ विकेटको प्रभावशाली जित निकाल्यो । सो खेलमा पनि अंशुमानले २६ तथा हायतले ६२ रन बनाएका थिए । विराटनगरका कप्तान पारस खड्का पनि राम्रो लयमा देखिएका थिए । पारस ४२ रनमा अविजित फर्किंदा फाइनलका लागि विराटनगर थप आत्मविश्वासी देखिएको छ ।

विराटनगरसँग लिग र क्वालिफायर चरणमा बेहोरेको हारको बदला फाइनलमा लिन भैरहवा तयार

भैरहवा दबाबमा
विराटनगरविरुद्धको लगातार हारपछि भैरहवा स्वाभाविक दबाबमा रहनेछ । यस्तोमा भैरहवाले विराटनगरविरुद्ध प्रतिस्पर्धा गर्दा हङकङका ब्याट्सम्यान अंशुमान रथ र बाबर हायतलाई रोक्नु चुनौती हुनेछ । बाबरले जारी प्रतियोगितामा तीन अर्धशतक पूरा गरिसकेका छन् । ओपनरका रूपमा रहेका अंशुमानले पनि कन्सिस्टेन्ट ब्याटिङ गरिरहेका छन् ।

कुनै गल्ती गर्नेछैनौँ
शरद भेसवाकर
कप्तान, भैरहवा
प्रतियोगिता अपेक्षित रूपमा राम्रो भइरहेको छ । यस्तोमा विराटनगरविरुद्ध दुई हारपछि हामी संयमित भएका छौँ । अब कुनै गल्ती गर्दैनौँ । अघिल्ला खेल अब विगत भइसकेका छन् । त्यसैले, विराटनगरविरुद्धको खेल नयाँ खेलका रूपमा रहनेछ, जुन रोमाञ्चक हुने विश्वास लिएका छौँ । प्रतियोगितामा सबैले राम्रो गरिरहेकाले फाइनलमा सोही लयलाई दोहोर्‍याउने चुनौती हामीमाझ छ । गल्ती नदोहोर्‍याए जित निकाल्छौँ ।

सन्तुलित टिमका कारण जित्छौँ
पारस खड्का
कप्तान, विराटनगर
विराटनगर टिम सन्तुलित छ । सबैको प्रदर्शनले अहिलेसम्म टिम पराजित हुनुपरेको छैन । फाइनलमा पनि सोहीअनुसार प्रदर्शन भएमा हामी जित निकाल्नेछौँ । फाइनल भएकाले स्वाभाविक रूपमा रोमाञ्चक भिडन्त हुनेछ । हाम्रो ब्याटिङ मात्र होइन, बलिङ पनि राम्रो भइरहेको छ । विराटनगरले अहिलेसम्म टिम गेम खेलेकाले नतिजा आउने विश्वास लिएको छु । शनिबारको खेल पूर्ण रूपमा नयाँ हुनेछ । टी–२० मा एक ओभर वा एक बलमै खेल परिवर्तन हुन्छ । त्यसैले, हामी शतप्रतिशत तयारीका साथ मैदानमा उत्रिन्छौँ । टिमलाई चाहिएको समयमा सबैजना राम्रोसँग खेलिरहेका छौँ ।

ब्याटिङमा दोहोरो स्कोर
विराटनगर

१९ डिसेम्बर ललितपुरविरुद्ध : अंशुुमान १४, हायत ३४ पारस ३८, अनिल साह ४७

२० डिसेम्बर पोखराविरुद्ध : अंशुुमान ६० हायत २२, पारस ११

२२ डिसेम्बर चितवनविरुद्ध : अंशुुमान ४१ हायत ८१, पारस १६, आसिफ २१

२३ डिसेम्बर भैरहवाविरुद्ध : अंशुुमान ५७, हायत ३६, पारस १५ प्रनीत थापामगर १४, करण केसी ११

२५ डिसेम्बर काठमाडौंविरुद्ध : अंशुुमान रथ ३२ हायत ६७ पारस २६

२७ डिसेम्बर भैरहवाविरुद्ध : अंशुुमान २६ हायत ६२ पारस ४२

भैरहवा
२० डिसेम्बर काठमाडौंविरुद्ध : शरद भेसवाकर ३२, पुनीत विष्ट ४२, आरिफ सेख २३ हरिशंकर साह १४

२१ डिसेम्बर ललितपुरविरुद्ध : शरद भेसवाकर १३, हरिशंकर साह १०, पुनीत विष्ट ५०, आरिफ सेख २७ रोहितकुमार पौडेल ३१

२३ डिसेम्बर विराटनगरविरुद्ध : प्रदीप ऐरी १८, पुनीत विष्ट १५, हरिशंकर साह १८ आरिफ सेख १० कृष्ण कार्की १२

२५ डिसेम्बर पोखराविरुद्ध : शरद भेसवाकर ३२ आरिफ सेख ४८, प्रथम सालुखे २५

२६ डिसेम्बर चितवनविरुद्ध : पुनीत मिश्र ३०, रोहितकुमार पौडेल २०, भूपेन्द्र थापा १३

२७ डिसेम्बर विराटनगरविरुद्ध : आरिफ सेख ४६, पुनीत मिश्रा ४९

२८ डिसेम्बर ललितपुरविरुद्ध : प्रथम सालुखे ३२, भूपेन्द्र थापा १९, रोहितकुमार पौडेल २८, पुनीत मिश्र १६

तपाईको प्रतिक्रिया