दक्षिण अफ्रिकामा भारतलाई मौका
eNaya Patrika
  • ePaper

दक्षिण अफ्रिकामा भारतलाई मौका

विराट कोहोलीको कप्तानीमा रहेको भारतीय टोली दुई महिना लामो दक्षिण अफ्रिका भ्रमणमा निस्कँदै छ । भारतलाई घरबाहिर उत्कृष्ट नतिजा निकाल्नु बाध्यता छ । घरेलु मैदानमा मात्र प्रभाव देखाउने छवि सुधार्ने अवसरका रूपमा भारतले दक्षिण अफ्रिकाको भूमि प्रयोग गर्नेछ । अहिलेसम्म भारतले दक्षिण अफ्रिकी भूमिमा टेस्ट र एकदिवसीय सिरिज जित्न सकेको छैन ।

निरन्तरताको चुनौती
५ जनवरीबाट दक्षिण अफ्रिका र भारतबीच तीन टेस्ट खेलको सिरिज सुरु हुनेछ । भारतीय खेलाडीलाई पछिल्ला दुई वर्षदेखिको उत्कृष्ट फर्मलाई निरन्तरता प्रदान गर्नु चुनौती छ । विश्वकै फास्ट पिच मानिएको केपटाउनमा भारतीय खेलाडीले एकरूपता प्रदर्शन गर्नुपर्ने दबाब छ । भारत घरेलु मैदानमा न्युजिल्यान्ड, इंग्ल्यान्ड र अस्ट्रेलियालाई हराउँदै टेस्टको शीर्षस्थानमा उक्लेको छ । यसैबीच, भारतले पहिलोपटक श्रीलंकन भूमिमा टेस्ट सिरिज हात पार्‍यो । विदेशी भूमिमा खराब प्रदर्शनको आलोचनाबाट जोगिन भारत नयाँ रणनीतिका साथ मैदानमा उत्रने तयारीमा रहेको ओपनर रोहित शर्माले बताए । अफ्रिकामा नयाँ सोचका साथ उत्रने र आफ्नो जितलाई निरन्तरता दिने उनले बताए । शर्मा कोहोलीको अनुपस्थितिमा श्रीलंकाविरुद्धको खेलको दौरान कप्तान थिए । भारतले दक्षिण अफ्रिका भ्रमणका क्रममा तीन टेस्ट, ६ एकदिवसीय र तीन टी–२० खेल खेल्ने कार्यक्रम छ ।

२०१७ सम्झनलायक
भारतीय क्रिकेट टोलीका लागि २०१७ फलदायक रह्यो । पूर्वकप्तान विसनसिंह वेदीले भने, ‘भारतका लागि २०१७ धेरै राम्रो वर्षका रूपमा रह्यो । भारतले घरेलु मैदानमा मात्र होइन, एसियाबाहिर पनि राम्रो प्रदर्शन गर्‍यो ।’ २०१८ को सुरुवातका रूपमा रहेको दक्षिण अफ्रिका भ्रमण वर्षको चुनौतीपूर्ण सुरुवात रहनेछ । २०१५ मा भारत भ्रमणमा आएको दक्षिण अफ्रिका निकै खराब प्रदर्शनको सिकार बनेको थियो ।

अफ्रिकाको कप्तान प्लेसिस
दक्षिण अफ्रिकाले भारतविरुद्धको टेस्ट सिरिजमा फाफ डु प्लेसिसलाई कप्तानीको जिम्मेवारी दिएको छ । इन्फेक्सनका कारण प्लेसिसले गत महिना जिम्बावेविरुद्धको सिरिजमा खेलेका थिएनन् । इन्फेक्सनमुक्त भएका प्लेसिसलाई दक्षिण अफ्रिकी क्रिकेट बोर्डले पुनः कप्तानीको जिम्मा दिएको हो । प्लेसिसको अनुपस्थितिमा एबी डी भिलियर्सले कप्तानी गरेका थिए । बोर्डले विकेटकिपरमा क्विन्टन डी ककलाई चयन गरेको छ । यद्यपि, डी कक ह्यामस्ट्रिङबाट ग्रस्त छन् ।

यता, क्रिस मोरिसले जुलाईपछि स्थान बनाएका छन् । इंग्ल्यान्डविरुद्धको सिरिजपछि मोरिसले स्थान बनाउन सकेका थिएनन् । दक्षिण अफ्रिकामै आयोजित रामस्लाम टी–२० क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि मोरिस भारतसँगको प्रतिस्पर्धामा स्थान बनाउन सफल भएका हुन् । टी–२० को फाइनलमा उनले १३ रन खर्चेर ४ विकेट लिएका थिए । यसपटक डुआने ओलिभर टिमबाट बाहिरिएका छन् ।

तपाईको प्रतिक्रिया