वृत्तचित्र र लघु फिल्ममा कृष्णजितको जित
eNaya Patrika
  • ePaper

वृत्तचित्र र लघु फिल्ममा कृष्णजितको जित

स्कुले जीवनदेखि नै नाटक, सडक नाटक निर्देशन तथा लेखन कार्य गर्दै आएका कृष्णजित राईले नेपालमा पहिलोपल्ट खुलेको नेसनल स्टुडियो अफ फिल्म कलेज (एनसफ्ट) बाट फिल्म मेकिङ कोर्समा डिप्लोमा गरेका हुन् ।

अध्ययनसँगसँगै फिल्म प्रदर्शन र व्यवस्थापनसम्बन्धी काम गर्दैगर्दा उनले दुईवर्षे निर्देशन कोर्स पूरा गरे । नेपाल सांस्कृतिक संस्थानले आयोजना गरको मध्यमाञ्चल क्षेत्रीय नाटक महोत्सव ०६२ मा सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेका उनी कुनै पनि पेसामा धैर्य र इमानदारीका साथ लाग्ने हो भने सफल हुन गाह्रो नहुने बताउँछन् ।

‘सुरुसुरुमा काम पाउन र मान्छेलाई विश्वास दिलाउनै साह्रै गाह्रो भयो, तैपनि आफ्नो सीप र क्षमताले इमानदारीका साथ यही क्षेत्रमा लागिरहेँ र सफल पनि भएँ । अहिले मलाई कामको खाँचो छैन,’ उनी भन्छन्, ‘तर म कमर्सियल फिल्मबाट पैसा कमाउनभन्दा पनि सामाजिक चेतनामूलक फिल्मबाट समाजमा चेतना फैलाउन चाहन्छु । म यो क्षेत्रमा लाग्नुको मुख्य उद्देश्य पनि यही हो ।’

सयौँ संख्यामा सामाजिक सन्देशयुक्त लघुफिल्म तथा वृत्तचित्र निर्देशन गरेका कृष्णले सन् २०१२ मा अमेरिकाको जुप्पा कम्पनीले आयोजना गरेको वातावरणसम्बन्धी विश्वव्यापी लघु वृत्तचित्र प्रतियोगितामा ‘कोसेली परदेशीको’बाट उत्कृष्ट निर्देशकको अवार्ड जितेका थिए । कृष्णले निर्देशन गरेको कोेसेली परदेशीकोमा बेरोजगार नेपाली युवा वैदेशिक रोजगारीका लागि भारतलगायत खाडीमुलुक जानुपर्ने बाध्यता, एचआइभी संक्रमित भई घर फर्किने र अज्ञानवश समाजमा समेत रोग फैलाउनेजस्ता विषय समावेश छ । यस्ता समस्या न्यून गर्न सरकारले के–कस्ता सजगता अपनाउनुपर्छ र कस्तो कदम चाल्नुपर्छ भन्ने सन्देशसमेत फिल्ममा रहेको छ ।

कृष्णजितले नेपालमा पहिलोपटक राई भाषामा नाटक लेखेर प्रकाशनसमेत गरेका छन् । उनले आफ्नै मौलिक भाषा, कला संस्कार, संस्कृतिमा आधारित रितुम, स्यालमो, जन्मदेखि मृत्यु संस्कारजस्ता वृत्तचित्र, लघुफिल्म तथा निर्देशन गरेका छन् । फिल्मको माध्यमबाट नै समाज जागरणका लागि काम गर्दै आएका कृष्णजित यसै क्षेत्रमा लागिरहने प्रतिबद्धता जाहेर गर्छन् ।

तपाईको प्रतिक्रिया