‘जापानसँगको सम्झौता दक्षिण कोरियालाई अमान्य’
eNaya Patrika
  • ePaper

‘जापानसँगको सम्झौता दक्षिण कोरियालाई अमान्य’

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले जापानसँग भएको सम्झौता दक्षिण कोरियाका लागि अमान्य भएको बताएका छन् । दोस्रो विश्वयुद्धको समयमा जापानी सेनाले दक्षिण कोरियाली महिलालाई यौनदासी बनाएको थियो । यौनदासी महिला र उनीहरूका पीडित परिवारलाई क्षतिपूर्ति दिने विषयमा दक्षिण कोरिया र जापानबीच दुई वर्षअघि भएको सम्झौता दक्षिण कोरियाका लागि अमान्य हुने बताएका हुन् । पूर्वयौनदासी महिलाको विषयलाई लिएर दक्षिण कोरिया र जापानबीच लामो समयदेखि विवाद हुँदै आएको छ ।

बारम्बार विवाद
यसअघि दक्षिण कोरियाको बुसानस्थित जापानी कन्सुलेट बाहिर दक्षिण कोरियालीले पूर्वयौनकर्मी महिलाको सालिक राखेर जापानको विरोध गरेका थिए । सालिकको विरोधमा जापानले दक्षिण कोरियास्थित आफ्ना कूटनीतिज्ञलाई फिर्ता बोलाएको थियो । सालिक विवादपछि टोकियोले मुद्रा सटहीबारे दक्षिण कोरियासँगको वार्ता रद्द गरेको थियो । त्यस्तै, सिउलसँगको उच्चस्तरको आर्थिक वार्ता स्थगित भएको थियो । कन्सुलेटअगाडि राखिएका सालिकले जापान र जन गणतन्त्र कोरियाबीचको सम्बन्धमा असर गरेको जापानले जनाएको थियो ।

के सम्झौता भएको थियो ?
सन् २०१५ मा दक्षिण कोरियाका राष्ट्रपति पार्क गिउन हाय र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच पूर्वयौनदासी महिलाबारे सम्झौता भएको थियो । जापानले दक्षिण कोरियाका पूर्वयौनदासी महिलालाई सहयोगबापत एक अर्ब जापानी येन दिन सहमति जनाएको थियो ।

सम्झौताप्रति टोकियो प्रतिबद्ध भए पनि सिउलले सो विषयलाई ‘स्थायी समाधान नभएको’ बताउँदै आएको थियो । सो सम्झौताप्रति दक्षिण कोरियाका पूर्वयौनदासी महिलाको एउटा समूहले विरोध गरेको थियो । सम्झौता ‘कूटनीतिक आत्मग्लानि’ भएको सो समूहले जनाएको थियो । सरकारले पैसासँग महिलाको जवानी साटेको र संवेदनाहीन भएको भन्दै महिला अधिकारकर्मीले आरोप लगाएका छन् । द्वितीय विश्वयुद्धका समयमा झन्डै दुई लाख दक्षिण कोरियाली महिलालाई जापानी सिपाहीका यौनदासी बन्न बाध्य पारिएको थियो । त्यस्तै, चीन, ताइवान र इन्डोनेसियाका महिलाले पनि जापानी सिपाहीलाई यौनसन्तुष्टि दिएका थिए ।

राष्ट्रपतिको आपत्ति
दक्षिण कोरियाका पूर्वराष्ट्रपति पार्क गिउन हाय र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच भएको सो सम्झौताको दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले विरोध गरेको उनका प्रवक्ताले बताएका छन । ‘पीडित महिलालाई क्षतिपूर्तिस्वरूप पैसा दिने विषयमा भएकोे सहमतिप्रति राष्ट्रपति मुन दुःखित छन,’ दक्षिण कोरियाको राजधानी सिउलमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति इनका प्रवक्ता पार्क सु हायनले भने । सम्झौताले पूर्वयौनदासी महिलाको समस्या समाधान नहुने राष्ट्रपतिको धारणा रहेको प्रवक्ता हायनले बताए । यौनदासी महिलाबारे सन् २०१५ मा दक्षिण कोरिया र जापानबीच भएको सहमति दक्षिण कोरियाको विदेश मन्त्रालयले बुधबार विस्तृत रूपमा सार्वजनिक गरेको थियो ।

सम्झौताप्रति दुवै देशका नेताले स्वीकृति जनाए पनि राष्ट्रपतिको हैसियतमा आफू सो सम्झौताको विरोधमा रहेको बताए । यौनदासी महिलाको समस्या सन् २०१५ को सम्झौताबाट समाधान नहुने उनले प्रस्ट पारे । सम्झौतामा गम्भीर कमजोरी देखिएको र त्यसका कारण देशले ठूलो मूल्य चुकाउनुपर्ने उनले बताए । ‘सन् २०१५ मा भएको सम्झौतामा धेरै कमजोरी छन् । पीडित र सर्वसाधारण कोरियालीलाई थाहा नदिई गरिएको गोप्य सम्झौताको कुनै अर्थ छैन,’ उनले भने ।

तपाईको प्रतिक्रिया