पदमावती विवाद सुल्झाउन इतिहासकार गुहार्‍यो सेन्सर बोर्डले
eNaya Patrika
  • ePaper

पदमावती विवाद सुल्झाउन इतिहासकार गुहार्‍यो सेन्सर बोर्डले

सञ्जयलीला भन्सालीको ‘पद्मावती’ विवादमा फसेको छ । डिसेम्बर १ मा रिलिज हुने तयारीमा रहेको फिल्मले ऐतिहासिक तथ्य तोडमोड गरेको भन्दै केही संघसंस्था तथा व्यक्तिले विरोध गरेकाले पद्मावतीको सेन्सर पास हुन सकेको छैन ।

भारतीय सेन्सर बोर्डले पद्मावतीसम्बन्धी विवाद सुल्झाउनका लागि जयपुरका इतिहासकारहरूलाई निमन्त्रणा गरेको खबर नवभारत टाइम्सले प्रकाशन गरेको छ । सेन्सर बोर्डले पद्मावती ती इतिहासकारलाई देखाएर राय बुझ्न खोजेको हो ।

सेन्सर बोर्ड अध्यक्ष प्रसून जोशीले पद्मावतीमा समावेश ऐतिहासिक तथ्यको समीक्षा गर्नका लागि इतिहासविज्ञ प्रोफेसर आरएस खंगारोत र राजस्थान विश्वविद्यालयका रिटायर्ड प्रोफेसर बीएल गुप्तालाई बोलाएका छन् । प्रोफेसर खंगारोतले सेन्सर बोर्ड अध्यक्षले आफूलाई मौखिक रूपमा निमन्त्रणा गरेको बताएका छन् ।

उनले पद्मावतीसम्बन्धी विवाद फिल्मका निर्माता, निर्देशक भन्साली, करणीसेना तथा राजपुत समाजबीचको मामला मात्र नभएको बताउँदै फिल्ममा प्रस्तुत ऐतिहासिक तथ्य सही छ कि छैन भनेर आफूहरूले समीक्षा गर्ने उल्लेख गरेका छन् ।

करणी सेना र राजपुत समाजका नेताले निर्देशक भन्सालीले फिल्ममा रानी पद्मावतीको बारेमा ऐतिहासिक तथ्यलाई तोडमोड गरेर प्रस्तुत गरेको आरोप लगाउँदै सुटिङकै क्रमदेखि विरोध जनाउँदै आएका छन् । सेन्सर बोर्डले पद्मावती मामला सुल्झाउनका लागि ६ सदस्यीय कमिटी नै गठन गरेको छ । पद्मावती सेन्सर पास भएमा फेब्रुअरी ९ मा रिलिज हुने सम्भावना रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया