टेस्ट राष्ट्रलाई टक्कर दिन सक्छ नेपाली क्रिकेट : फरभेज महरुफ
eNaya Patrika
  • ePaper

टेस्ट राष्ट्रलाई टक्कर दिन सक्छ नेपाली क्रिकेट : फरभेज महरुफ

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिता चलिरहेको छ । क्रिकेटमै लोकप्रिय मानिएको इपिएललाई तयारी अवस्थादेखि नै महत्वसाथ हेरियो । खेलाडी अक्सनदेखि विदेशी खेलाडीलाई अनुबन्धन प्रक्रिया चर्चामा रह्यो । ६ टिमले विदेशी खेलाडी अनुबन्धन गरे ।

भारतीय खेलाडीको बाहुल्य रहेको प्रतियोगितामा श्रीलंकाबाट टेस्ट अनुभवसहित राष्ट्रिय टिमबाट सबै फम्र्याट (टेस्ट, एकदिवसीय, टी–२०) खेलिसकेका एक मात्र पूर्वअलराउन्डर मोहम्मद फरभेज महरुफ सहभागी भए ।

उनको काठमाडौं आगमनलाई एक खेलाडीका रूपमा मात्र नभई इपिएलमा आएका लिजेन्ड र नेपाली खेलाडीका लागि अनुभव सेयरको महत्वपूर्ण माध्यमका रूपमा हेरियो । महरुफलाई काठमाडौं किंग्स इलेभेनले कप्तानको जम्मेवारी दिएको थियो ।

सन् २००४ को युवा विश्वकपमा कप्तानी गरेर उत्कृष्ट प्रदर्शन गरेका महरुफले राष्ट्रिय टिममा सोही वर्ष जिम्बावेविरुद्ध खेल्दै डेब्यु गरेका थिए । ३३ वर्षीय अलराउन्डर महरुफले श्रीलंकाको लागि २२ टेस्ट, १०९ एकदिवसीय र आठ टी–२० खेलेका छन् ।

तर, पछिल्लो समय उनी राष्ट्रिय टिममा ‘कमब्याक’ गर्न सकिरहेका छैनन् । राष्ट्रिय टिमबाहिर रहने समयलाई नेपालमा सदुपयोग गर्ने योजना उनको छ । त्यसो त उनी अनुबन्धित टिमले प्लेअफमा स्थान बताउन सकेन । नयाँ पत्रिकाका प्रकाश कँडेलले उनलाई नेपाल अनुभव, नेपाली क्रिकेट र आफ्नो संघर्ष सुनाउन भने, उनले सुनाए :

फरभेज महरुफ
स्टार क्रिकेटर, श्रीलंका

फेरि नेपालमा खेल्ने रहर
काठमाडौं आउन पाउने कुराले म उत्साही थिएँ । अझ नेपालमा हुने घरेलु लिगमा मेरो उपस्थितिले राम्रो सन्देश जाने ठानेर खुसी भएँ । यो बीचमा नेपाली खेलाडी र विभिन्न पक्षसँगको भेटघाट र आत्मीयताले फेरि पनि नेपाल आउने वातावरण तयार भएको छ । मलाई यस्तो महसुस भएको छ । नेपाली क्रिकेट र समर्थकलाई नजिकबाट बुझ्ने मौका पाएँ । साथमा सबै पक्षबाट सुखद् अनुभव सँगाल्न पाउनु मेरा लागि थप सहज बन्यो । काठमाडौं बसाइ सुखद् रह्यो । आगामी दिनमा पनि नेपाल आउने प्रयास सधैँ रहनेछ । समग्रमा नेपालीको माया र सद्भाव छ । यो सद्भावका लागि सबैलाई धन्यवाद ।

क्रिकेटमा व्यक्तिगत योगदान गौण
काठमाडौं किंग्स ११ को कप्तान भएको नाताले टिमको बढी अपेक्षा मसँगै थियो । मैले आफ्नो तर्पmबाट राम्रो प्रयास पनि गरेको हो । तर, तेस्रो खेलमा घाइते भएँ, यसले अन्य खेल राम्रोसँग खेल्न असहज भयो । टिमको कमिकमजोरी सुधार्दै अघि बढ्ने मौका थियो । सुधार्ने कोसिस शतप्रतिशत गरेँ । क्रिकेटमा व्यक्तिगत रूपमा कसले कति योगदान गर्‍यो भन्ने पाटो गौण हुन्छ । किनभने टिम हार्दा व्यक्तिगत प्रदर्शन छायामा पर्छ र टिमले जित्दा कुनै एकको खराब प्रदर्शनले अर्थ राख्दैन । यसकारण मलाई लाग्छ कि टिम खेलमा सबैको भूमिका उत्तिकै हुन्छ । मैले कप्तानको हैसियतमा गर्ने सहयोग र टिम भित्र आत्मीयता बढाउने सवालमा कुनै कमी हुन दिइनँ ।

परिणामभन्दा पनि टिमका सदस्यमा आत्मविश्वासपूर्ण प्रदर्शनका लागि प्रेरित गरेको थिएँ । नतिजा त कसै न कसैको पक्षमा गइहाल्छ । हारलाई मैले अन्यथा सोचेको छैन । समग्रमा टिमको प्रदर्शनबाट दुःखी छैन । समग्र प्रदर्शनबाट खुसी छु । योभन्दा बढी खुसी त टिमको सदस्यका रूपमा नेपालमा खेल्न पाउँदा भएको छु ।

नेपाली खेलाडीले अझै राम्रो खेल्न सक्थे
मैले प्रतियोगितामा खेल्दै गर्दा अन्य टिमको प्रदर्शन पनि नजिकबाट नियालेको छु । जहाँ घरेलु लिग र घरेलु मैदानको फाइदा नेपाली खेलाडीले जति उठाउन सक्छन्, त्यति नै विदेशी खेलाडीले उठाउन सक्छन् भन्ने मलाई लाग्दैन । मलाई लाग्छ, नेपाली खेलाडी जुनसुकै टिमको भए पनि अझ बढी खेल्न सक्थे । उनीहरूले आफूभित्र पनि कारण खोज्नुपर्छ । विदेशी खेलाडीले त घरेलु खेलाडीको प्रदर्शनमा साथ दिने हो ।

म्याच विनिङ प्रदर्शन देखाउने फेरि पनि नेपाली खेलाडीले नै हो । मलाई लाग्छ, यस्तो वेलामा खेलाडीहरू दबाबमा आएर खेल्नुहुन्न । यो खेललाई जीवनकै टर्निङ प्वाइन्टका रूपमा पनि लिनुहुन्न । जसले स्वाभाविक रूपमा दबाब बढाउँछ । जिम्मेवारीपूर्वक मनोरञ्जनका रूपमा लिएर खेलेमा स्वाभाविक रन बन्छ । उच्च स्कोरको खेल हुँदा दर्शक र टिमलाई पनि सन्तोष मिल्छ । मलाई लाग्छ, नेपाली खेलाडीले अझै बढी रन बनाउन सक्थे । मैले कुनै एक टिमको कुरा गरेको होइन, समग्र टिमको मूल्यांकन हो ।

क्रिकेटबाहेक नसोच्नु सफलताको कडी
अन्य एसियाली देशजस्तै श्रीलंका पनि क्रिकेट कल्चर निकै राम्रो भएको देश हो । यही कारण मलाई पनि क्रिकेटप्रति जागरुकता सानैबाट भयो । ८ वर्षको हुँदादेखि क्रिकेट खेल्न सुरु गरेँ । सिनियरको साथले बिस्तारै क्रिकेट जीवनको पेसा नै हो भन्ने लाग्न थाल्यो । बिस्तारै उमेर समूहका प्रतियोगिता खेल्न सुरु गरेँ, त्यसपछि मेरो क्रिकेटले गति लियो ।

प्रतियोगिताको पहिलो सहभागिता पनि सानै उमेरबाट सुरु भयो । यू–११ टिमदेखि प्रतियोगितामा भाग लिएँ । त्यसपछि त उमेर समूहमा निरन्तर टिममा महत्वपूर्ण सदस्यका रूपमा नै रहेँ । यू–१३ को पहिलोपटक टिम कप्तानी गरेको थिएँ । त्यसपछि यू–१७ हुँदै यू–१९ टिमको कप्तानी गरेँ । मेरो समयमा श्रीलंकन क्रिकेट निकै उच्च र द्रूत रूपमा अघि बढिरहेको थियो । यसकारण टिममा स्थान बनाउन सहज थिएन । त्यसो त जुनसुकै देशमा पनि राष्ट्रिय खेलाडी हुन सहज हुँदैन । अझ श्रीलंकामा क्रिकेटको बढ्दो क्रेजमा टिममा स्थान बनाउनु मेरो लागि ठूलो सफलता थियो । क्रिकेटबाहेक विकल्प नसोच्नु नै मेरो सफलताको कडी हो ।

डेब्युको त्यो खुसी
सन् २००४ को युवा विश्वकपमा श्रीलंकाको यू–१९ कप्तानी गर्दा सर्वाधिक दबाब भएको महसुस भयो । त्यसबाट सुरु भएको मेरो राष्ट्रिय टिमको यात्राले सिनियर टिममा सोही वर्ष डेब्यु दिलायो । सिनियर टिममा डेब्यु नै जीवनमा सर्वाधिक सम्झनामा आउँछ । यू–१९ टिममा गरेको प्रदर्शनले जिम्बाबेविरुद्ध डेब्युको मौका पाएको थिएँ । त्यो दिन अहिले पनि भर्खरैजस्तो लाग्छ । हरेक कुराहरू याद छन् ।

डेब्युको दिनको खेल सायद राष्ट्रिय टिमबाट पहिलो भएर होला निकै महत्वपूर्ण ठानिरहेको थिएँ । खेल्दा सबैले आफ्नै खेल हेरिरहेझैँ महसुस भइरहेको थियो । हल्का नर्भस र बढी खुसी मिलिरहेको थियो । त्यसो त पछिका धेरै उत्कृष्ट प्रदर्शन मेरो करिअरमा अविस्मरणीय छन् ।

क्रिकेटमै व्यस्त रहन्छु
श्रीलंकाको राष्ट्रिय टिमबाट एक सयभन्दा बढी एक दिवसीय खेल खेन्नुका साथै टेस्ट टिम र टी–२० बाट पनि खेलेँ । पछिल्लो १५ वर्षदेखि व्यावसायिक क्रिकेट खेलिरहेको छु । अब पनि मेरो यात्रा क्रिकेटमै रहन्छ । राष्ट्रिय टिममा रहने या नरहने विषय गौण हुन्छ । राष्ट्रिय टिममा को रहने, को नरहने, एक व्यक्तिको हातमा पर्नुहुन्न । राष्ट्रलाई आवश्यक पर्दा र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुँदा मेरो लागि पनि गर्वको विषय हुन्छ । यद्यपि, क्रिकेट खेल्ने चाहनालाई देशसँग मात्र पनि जोड्न मिल्दैन । व्यावसायिक खेलाडी भएकाले संसारका अन्य देशमा गएर पनि क्रिकेट खेल्ने रहर छ ।

नेपाली क्रिकेटको राम्रो सम्भावना छ
नेपाली क्रिकेटलाई मैले धेरै नजिकबाट जानेको छु भन्ने लाग्दैन । तर, केही बुझेको छु । दक्षिण एसियाका अन्य देशसँग तुलना गर्दा नेपालको क्रिकेट त्यति राम्रो मानिदैन । तर, मैले नेपाली खेलाडी र यहाँको क्रिकेट क्रेज देखेको छु । अब अलिकति राम्रो मिहिनेत हुने हो भने दक्षिण एसियामा उत्कृष्ट त नभनौँ, दाबेदार बन्न भने सक्छ । मैले नेपाली क्रिकेटलाई हेर्ने अर्को कारण भनेको पुवुदु प्रशिक्षणमा रहँदा नेपाली क्रिकेट टिमले प्राप्त गरेको अचिभमेन्ट पनि हो । ३ वर्षअघि नेपाली टिम श्रीलंका गएका वेला पनि भेट गरेको थिएँ । राम्रो वातावरण भएमा विश्वकप खेल्न सक्ने टेस्ट राष्ट्रविरुद्ध दाबेदारी दिन सक्छ भन्ने लाग्छ । मलाई नेपाल राम्रो टिम बन्ने विश्वास छ । यही विश्वासले मलाई यहाँसम्म डोहोर्‍याएको हो ।

नेपालले अब प्रतियोगिताका स्तरमा सुधार ल्याउनुपर्छ । यो लिग (इपिएल)लाई अन्य विदेशी लिगसँग तुलना गर्न मिल्दैन । नेपाली क्रिकेटमा इपिएलले गरेको म्यानजमेन्ट र आकर्षणले स्वाभाविक रूपमा आगामी वर्षहरूमा थप आकर्षण ल्याउनेछ । त्यसपछि विदेशी लिगको हाराहारीमा नेपाल पुग्ने विश्वास मलाई छ । अहिले नै पनि इपिएललाई धेरै व्यावसायी र प्रशंसकको साथ छ । यस्तै, क्रेज र विश्वास रहने हो भने केही समय लागे पनि नेपाल स्तरीय टिम बन्ने पक्का छ ।

नेपाललाई सधैँ मेरो साथ
नेपालले क्रिकेटमा गरेको हरेक प्रयासमा मेरो साथ रहनेछ । आगामी वर्ष म आउने-नआउने विषयलाई प्राथमिकतामा राख्नुहुन्न । तर, मेरो निरन्तरता सधैँ नेपालले क्रिकेट विकासका लागि चालेको कदमको रूपमा हुनेछ । इपिएलले पनि राम्रो गर्न कोसिस गरिरहेको छ । मलाई बोलाउने काठमाडौंले मेरो लागि गरेको स्वागत अविस्मरणीय छ । मेरो ओनरले मलाई धेरै सहयोग र सद्भाव देखाएको छ । त्यसले आगामी वर्ष पनि मेरो निरन्तरता हुन्छ भन्ने लाग्छ । तर, अहिले नै भविष्यको टुंगो लगाउनु उचित होइन । यसलाई मेरो नेपाली क्रिकेटको लगावका रूपमा बुझ्दा राम्रो होला ।

तपाईको प्रतिक्रिया