बिपी राजमार्गको एकतिहाइ सडकखण्ड काम नलाग्ने - Naya Patrika
eNaya Patrika
  • ePaper

बिपी राजमार्गको एकतिहाइ सडकखण्ड काम नलाग्ने

पुनर्निर्माण गर्न १ अर्ब ५० करोड रुपैयाँ आवश्यक –

पूर्ण सञ्चालनमा आएको साढे २ वर्षमै बिपी राजमार्गको एकतिहाइ सडकखण्ड काम नलाग्ने गरी बिग्रिएको छ । १ सय ६० किलोमिटर (धुलिखेल–बर्दिवास) लामो राजमार्गको नेपालथोक–धुलिखेल खण्डमा पर्ने ५० किलोमिटर सडक पूर्ण रूपले क्षति भएर पुनर्निर्माण गर्नुपर्ने अवस्थामा पुगेको अध्ययनले देखाएको हो । जापान सरकारले करिब २० वर्ष (२०५२–२०७२) लगाएर निर्माण गरेको बिपी राजमार्ग १८ असार ०७२ मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । तर, नेपाली व्यवस्थापनको जिम्मामा आएको ३० महिनामै सडक पूर्ण रूपले पुनर्निर्माण गर्नुपर्ने अवस्थामा पुगेको छ ।

किन चाँडै बिग्रियो सडक ?
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र सडक विभागको टोलीले गरेको अध्ययनले आवधिक मर्मत नगर्नु, क्षमताभन्दा हेभी सवारीसाधन सञ्चालन हुनु, ट्रिपरमा पानी चुहाउँदै गिट्टी, बालुवा र ढुंगाको ओसार–पसार अधिक हुनु, दैनिक जति सवारीसाधन गुडाउन सडकको डिजाइन गरिएको थियो, सोभन्दा बढी सवारीसाधन गुड्नुलगायतलाई सडक बिग्रनुको कारण मानिएको छ ।

कालोपत्रे सडकको आयु कति ?
सवारीसाधनको संख्या, अस्फाल्टको गुणस्तर र गहिराइ, मौसम, आवधिक मर्मतले कालोपत्रे सडकको आयु निर्धारण गर्छ । अस्फाल्ट गरिएका सडकको आवधिक मर्मतलाई नियमित गर्ने हो भने अधिकतम १० वर्षसम्म सञ्चालन हुनुपर्छ । त्यस्तै, अन्य प्रकारको कालोपत्रे गरेको सडक अधिकतम ६ वर्षसम्म सञ्चालनमा हुनुपर्ने नेपाली अनुभव छ । पहिलोपटक कालोपत्रे गरेको हरेक ३ देखि ५ वर्षको बीचमा एक तह कालोपत्रे गर्ने हो भने सडकको आयु वृद्धि गर्न सकिने सडक विभागका सहप्रवक्ता रमेशकुमार सिंहको भनाइ छ । विदेशमा कालोपत्रको तह नै एक फिटसम्मको बनाउने गरिन्छ । तर, नेपालमा जम्मा ४० देखि ५० मिलिमिटरको मात्र कालोपत्रे गर्ने प्रचलन छ । ‘यसको कारण पनि सडक चाँडै बिग्रिने गरेको हो,’ उनले भने । बिपी राजमार्गको नेपालथोकदेखि धुलिखेलसम्मको खण्ड समयमा मर्मत नगर्दा नै खराब अवस्थामा पुगेको विभागको भनाइ छ । ढलान गरिएको सडकको आयु भने २५ वर्षको हुन्छ । नेपालमा ढलान गरेर कालोपत्रे गर्दा लागत दुई गुनासम्म वृद्धि हुने भएका कारण त्यसरी कालोपत्रे गरिँदैन ।

पुनर्निर्माणका लागि साढे १ अर्ब माग
बिपी राजमार्गको पुनर्निर्माण गर्न १ अर्ब ५० करोड रुपैयाँ आवश्यक देखिएको छ । त्यसका लागि सडक विभागसँग आग्रह गरेको बिपी राजमार्ग आयोजनाका निमित्तप्रमुख राकेश महर्जनले जानकारी दिए । ‘तत्कालका लागि २० देखि २५ करोड रुपैयाँ उपलब्ध गराउने हो भने पनि सवारी सुचारु गर्न र मुख्य खाल्डाखुल्डी पुर्न सम्भव छ,’ उनले भने ।

वार्षिक २ करोड मर्मत बजेट
पछिल्ला केही वर्षदेखि सरकारले बिपी राजमार्गको मर्मत गर्न २ करोड रुपैयाँ छुट्याउन थालेको छ । तत्कालका लागि बिपी राजमार्गको संवेदनशील भेटिएकामध्ये २ ठाउँको मर्मतका लागि खर्च गरिने योजना छ । केहीअघि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग र सडक विभागले राजमार्गमा गरेको संयुक्त परीक्षण अध्ययनले दुई दर्जनभन्दा बढी स्थानमा तत्काल निर्माण सुरु गर्नुपर्नेदेखि नियमित नियमन गर्नुपर्नेसम्मको अवस्था भेटेको छ । ‘कुल २५ वटा संवेदनशील ठाउँमध्ये १ ठाउँमा निर्माण गरिसकिएको छ भने दुई ठाउँको यो वर्ष निर्माण गरिनेछ,’ निमित्त आयोजना प्रमुख महर्जनले भने ।

पछिल्ला ५ महिना (जेठ)देखि अध्ययन गरिरहेको उक्त टोलीले राजमार्गका विभिन्न खण्डमा सडकको सतह चर्केको, धस्सिएको, ग्याविन पर्खाल भत्किएको र चट्टान झरेकोलगायत अवस्था फेला परेका थिए । सडकका विभिन्न भाग कमजोर हुनुमा १२ वैशाख ०७२ र त्यसपछि निरन्तर गएका भूकम्पका कम्पनलाई कारक मानिएको छ ।

धुलिखेल–पात्लेखेत कालोपत्रे
सवारी सञ्चालनका लागि कठिन मानिएको धुलिखेलदेखि पात्लेखेतसम्मको १० किलोमिटर सडक कालोपत्रे गर्ने काम हुँदै छ । निर्माण कम्पनी सपन र आरडीको संयुक्त उपक्रमले गरिरहेको निर्माण कार्यका लागि ८ करोड रुपैयाँ बजेट छुट्याएको छ । उक्त सडकको सतह ‘ड्रेसिङ’ गर्ने काम भने माघको दोस्रो सातादेखि गर्ने तयारी छ ।

सडक बिग्रिनुका ४ कारण
– सडक बिग्रिनुको पहिलो कारण सडकमा ट्रिपरबाट चुहिने पानी मानिएको छ । कालोपत्रे सडकका लागि पानी शत्रु मानिन्छ । तर, दैनिक सयौँको संख्यामा अधिक भार बोकेका ट्रिपर पानी खसाल्दै सञ्चालन भइरहेका बिपी राजमार्ग आयोजनाका निमित्तप्रमुख राकेश महर्जनले बताए । ‘उक्त खण्ड बिग्रिनुको एउटा मुख्य कारण यही हो,’ उनले भने, ‘यस्ता साधनलाई रोक्नुपर्ने भए पनि सकिएको छैन ।’

-त्यस्तै, दोस्रो कारणमा अधिक सवारीसाधन गुड्नुलाई मानिएको छ । बिपी राजमार्गलाई २०५२ सालमा दैनिक ४ हजार ५ सय सवारीसाधन गुड्ने गरी डिजाइन गरिएको थियो । तर, सडक सम्पन्न भएर पूर्ण सञ्चालनमा आइसक्दा अहिले दैनिक ९ हजार सवारीसाधनले सो राजमार्ग प्रयोग गर्छन् । मुग्लिङ–नारायणघाट सडक अवरुद्ध भएपछि उपत्यकाबाट पूर्व–पश्चिम राजमार्ग पुग्ने विकल्पको रूपमा बिपी राजमार्ग प्रयोग गर्ने बढेका छन् ।

-तेस्रो कारण समयमै सडक मर्मत नगर्नु रहेको छ । राजमार्गको नेपालथोकदेखि धुलिखेलसम्मको सडक सन् २००२ (१५ वर्ष)अघि निर्माण भइसकेको थियो । त्यतिवेलादेखि नै आंशिक रूपमा सवारीसाधन चलाउन थालिए पनि सडकको मर्मतमा ध्यान दिइएन । सडक विभागको निर्देशिकाअनुसार सडकलाई ३ देखि ५ वर्षमा मर्मत गर्नुपर्ने हो । तर, अहिलेसम्म पनि सडक मर्मत नगरिँदा पुनर्निर्माण नै गर्नुपर्ने अवस्थामा पुगेको हो ।

– सडक बिग्रिनुको चोथौ कारण भने बढी भार बोक्ने सवारीसाधन हो । यातायात व्यवस्था विभागले बिपी राजमार्गमा १० टनभन्दा बढीका सवारीसाधन गुडाउन रोक लगाएको छ । तर, व्यवहारमा भने बढी लोडका सवारी सञ्चालन भइरहेका छन् । यसले पनि सडकको आयु खिइँदै गएको हो ।

तपाईको प्रतिक्रिया