१५ अर्ब लगानीमा नयाँ चिनियाँ सिमेन्ट उद्योग आउँदै
eNaya Patrika
  • ePaper

१५ अर्ब लगानीमा नयाँ चिनियाँ सिमेन्ट उद्योग आउँदै

एक वर्षमा निर्माण सम्पन्न हुने, दैनिक ३ हजार टन उत्पादन क्षमता –

चिनियाँ लगानीकर्ताले १५ अर्ब रुपैयाँको लगानीमा धादिङमा नयाँ सिमेन्ट उद्योग सञ्चालन गर्ने भएको छ । चीनको हुवेई प्रान्तमा मुख्य कार्यालय रहेको ह्वासिन सिमेन्टले बुधबार लगानी बोर्डसँग उद्योग खोल्न परियोजना लगानीको प्रारम्भिक सम्झौता गरेको छ ।

चिनियाँ लगानीकर्ताले ह्वासिन सिमेन्ट नारायणी प्रालिका नाममा कम्पनी दर्ता गरिसकेका छन् । नेपालमा अत्याधुनिक प्रविधियुक्त सिमेन्ट कारखाना स्थापना गर्न लगानी बोर्डमा भएको कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक महाप्रसाद अधिकारी र कम्पनीका तर्फबाट ओभरसिज डेभलपमेन्ट डाइरेक्टर ल्यु च्यांगोले सम्झौता हस्ताक्षर गरेका हुन् । शतप्रतिशत चिनियाँ लगानीमा स्थापना हुने उद्योगलाई धादिङको पानीखर्कमा चुनढुंगा खानी उत्खननको अनुमति नेपाल सरकारले दिइसकेको छ ।

कम्पनीले खुला प्रतिस्पर्धाबाट नेपाल सरकारलाई सबैभन्दा धेरै रकम ६० करोड रुपैयाँ बुझाएर सो खानी प्राप्त गरेको थियो । कम्पनीले परियोजना वार्ता दस्तुरस्वरूप नेपाल सरकारलाई कुल लागतको ०.२ प्रतिशत रकम ३ करोड रुपैयाँ बुझाउनुपर्नेछ । सोे ३ करोडमध्ये ३० प्रतिशत रकम बुझाइसकेको छ भने बाँकी रकम लगानीको अन्तिम सम्झौता भएपछि बुझाउने बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए । एक वर्षभित्र लगानी सम्झौता गरेर सिमेन्ट उत्पादनमा जाने कार्ययोजना कम्पनीले बोर्डमा बुझाइसकेको अधिकारीले बताए । उत्पादित सिमेन्ट स्वदेश तथा विदेशमा समेत निर्यात योजना बनाएको कम्पनीले हालसम्म स्वदेशी लागनीकर्ता छनोट गरिसकेको छैन । यही क्रममा नेपालमा राजनीतिक वातावरण शान्त रहेकाले विदेशी लगानी भित्रिने क्रम सुरु भएको अधिकारीले बताए ।

२०७२ पुस ५ मा बसेको बोर्डको १९औँ बैठकले सो सिमेन्ट उद्योग स्थापना गर्न १५ अर्बबराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) स्वीकृत गरेको थियो । उद्योगले पहिलो चरणमा दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको छ ।

यो कम्पनीले विश्वकै सबैभन्दा ठूलो सिमेन्ट तथा निर्माण कम्पनी लाफार्जे होलिकमसँग सहकार्य गरेको छ । अहिले यो कम्पनीको सबै व्यवस्थापन होलिकमले गर्दै आएको छ । विश्वका ८१ देशमा रहेको यो कम्पनीका उद्योगमा ९० हजार जनाले रोजगारी पाइरहेका छन् ।

तपाईको प्रतिक्रिया