राजन मुकारुङ मेरै कारण लेखक भयो : प्रगति राई
eNaya Patrika
  • ePaper

राजन मुकारुङ मेरै कारण लेखक भयो : प्रगति राई

प्रगति राईका कवितासंग्रह ‘वादी विज्ञप्ति’ (२०६२) र उपन्यास ‘लेखककी स्वास्नी ’(२०६९) प्रकाशित छन् । अर्को उपन्यास बिर्सिएको मृत्यु प्रकाशोन्मुख छ । पछिल्लो समय राजन मुकारुङको ‘१५औँ प्रेमिका’ सार्वजनिक भएपछि राईको असन्तुष्टि फेसबुकबाट सार्वजनिक भएको थियो । उनले आफ्नो लेखकीय जीवन र राजन मुकारुङसँगको सम्बन्धबारे नयाँ पत्रिकाका प्रकाश गुरागाईंलाई यसरी सुनाइन् :

प्रगति राई, लेखक

सिर्जनामा महिला र पुरुष भन्ने हुँदैन । यो दुवैका लागि जटिल काम हो । तर, एउटी महिला लेखनमा लागेपछि पारिवारिक सम्बन्धमा धेरै जटिलता आउँदो रहेछ । श्रीमान् बाहिरबाट घर फर्किंदा श्रीमतीसँग केही अपेक्षा हुन्छन् । जस्तो कि कोट खोलिदेओस्, एक गिलास पानी राखिदेओस्, खाजा देओस् । यो पुरुषसत्ताले खडा गरेको मानसिकता हो । हामी लेखक त्यसो गर्दैनौँ । पुरुष भने यही बिन्दुबाट सम्बन्धको परिभाषा खोज्न थाल्दा रहेछन् ।

मान्छेले केही गर्न चाहने हो भने सुख र स्वतन्त्रतामध्ये एउटा रोज्नुपर्छ । दुवै कुरा पाइँदैन । सुख खोज्ने हो भने स्वतन्त्रता खोज्नुभएन । स्वतन्त्रता खोज्ने हो भने सुख खोज्नुभएन । भौतिक सुख खोज्नेहरू कसैको अधीनमा बस्नुपर्ने पनि हुन सक्छ । तर, स्वतन्त्रता खोज्नेहरू निरन्तर संघर्षमा हुन्छन् । स्वतन्त्रता भनेको भौतिक सुखसँग मात्र सम्बन्धित छैन । म संघर्षको पक्षमा थिएँ र छु ।

राजन मुकारुङको श्रीमती त म एकजना मात्र हो । उसका प्रेमिका भने १५-१६ जना छन् । ती पनि घोषित मात्र हुन् । उसको सम्बन्धमा भएका मान्छेले आफ्नो नाम पनि शुद्धसँग लेखेको देखेको छैन।

राजन मुकारुङको छायामा
लेखक मात्र हुनु र लेखककी श्रीमती पनि हुनु फरक कुरा रहेछन् । मान्छेहरू मेरो कामलाई राजन मुकारुङसँग जोडेर हेर्छन् । त्यो चुनौती पार गर्न मैले ठूलो संघर्ष गरेकी छु ।

राजन मुकारुङको श्रीमती त म एकजना मात्र हो । उसका प्रेमिका भने १५-१६ जना छन् । ती पनि घोषित मात्र हुन् । उसको सम्बन्धमा भएका मान्छेले आफ्नो नाम पनि शुद्धसँग लेखेको देखेको छैन । प्रेमिका खोजी हिँड्नेले त श्रीमतीभन्दा प्रेमिकालाई नै बढी माया गर्छन् । म राजन मुकारुङको कारणले लेखक भएको ठान्नु भ्रम मात्र हो ।

बरु, राजन मुकारुङको कारण म आफू छायामा परेको छु । समाज पुरुषप्रधान छ । मान्छेहरूले प्रगति राईले नयाँ कुरा लेख्यो भन्दा पनि राजन मुकारुङको श्रीमतीले लेख्यो भनिदिन्छन् । त्यसकारण म अझै पनि स्वतन्त्रताको खोजीमा छु । जुनसुकै व्यवसायमा लागेका महिला वा पुरुषलाई कसैको सहयोग त चाहिन्छ नै । मेरो प्रकाशोन्मुख उपन्यास बिर्सिएको मृत्युमा मैले राजन मुकारुङको कुनै सहयोग पाइनँ । मैले आग्रह गर्दा पनि उनले उपन्यास हेरिदिएनन् ।

म राजन मुकारुङको अभिभावक
राजन मुकारुङ कुनै सिरियस मान्छे होइन । परिवारप्रति उसले कहिल्यै दायित्व लिएन । मैले एक्लै छोराहरू हुर्काउनुपर्‍यो ।

म साइनोले मात्र राजन मुकारुङको श्रीमती हुँ । तर, मैले परिवारमा सधैँ अभिभावकको भूमिका निर्वाह गर्नुपर्‍यो । उसको आमाले मप्रति नै केही अपेक्षा गर्नुहुन्छ । उसका छिमेकीले पनि मप्रति नै अपेक्षा गर्छन् । दाजुहरूले भाइलाई होइन, मलाई अभिभावक मान्नुहुन्छ । मैले त म लेखक हुँ भनेर हिँड्न नै कहाँ फुर्सद पाएँ र ?

बरु राजन मुकारुङको जुन नाम छ, त्यसमा मेरो पनि देन छ । मेरो एउटा सपना थियो कि, आफ्नो लोग्ने अरूभन्दा फरक होस् । त्यो बनेर देखाएको पनि छ । मदन पुरस्कार पाउँदा धेरै खुसी भएँ । म छु र राजन मुकारुङ फुक्काफाल भएको छ । लेखक भएको छ ।

थाहै नपाई बिहे भयो
म सानैदेखि राजनीति मन पराउने मान्छे । कक्षा ६ मा पढ्दा अनेरास्ववियु प्रारम्भिक कमिटीको सचिव भएँ । आफन्तले यसले पछि ठूलो मान्छे बन्ने लक्षण ल्याई भनेर फुक्र्याउँथे । एकदिन राजन मुकारुङको मामाको छोराले मलाई झुक्याएर राजन मुकारुङको घर पुर्‍यायो । म भर्खर १६ वर्ष लागेकी थिएँ । कक्षा ६ मा पढ्थेँ । त्यहाँ पुगेपछि राजन मुकारुङको आमाले ‘एक दिन बसेर जाऊ’ भन्नुभयो । बसियो । तर, त्यो एक दिनमै बिहे भयो । केटाकेटी थिएँ, बिहे के हो, लोग्ने भनेको कस्तो हो थाहा नहुँदै कसैकी श्रीमती भइसकेछु ।

राजन मुकारुङको जुन नाम छ, त्यसमा मेरो पनि देन छ । मेरो एउटा सपना थियो कि, आफ्नो लोग्ने अरूभन्दा फरक होस् । त्यो बनेर देखाएको पनि छ । मदन पुरस्कार पाउँदा धेरै खुसी भएँ । म छु र राजन मुकारुङ फुक्काफाल भएको छ । लेखक भएको छ ।

त्यतिवेलैदेखि राजन मुकारुङ अलि उट्पट्याङ थिए । छोरा बिग्रिएला भनेर आमाले बिहे गराइदिनुभएको रहेछ । बिहे भएको एकै हप्तामा गर्भवती भएँ ।

बिहे भएको तीन हप्तादेखि नै सम्बन्ध बिग्रिन थालेको थियो । उसले जहिले पनि आफ्ना प्रेमिकाको कुरा गर्ने । पटकपटक ‘मेरा कस्ता–कस्ता गर्लफ्रेन्ड थिए, तँसँग फसेँ’ भनेपछि चित्त दुख्यो । तर, म गर्भवती भइसकेको थिएँ । मैले एउटा उक्ति सुनेको थिएँ, ‘जहाँ चिप्लेर लडिएको हो, त्यहीँ टेकेर उठ’ । म उठ्ने प्रयत्नमा लागेँ ।

पढाइलाई निरन्तरता दिएँ । त्यतिवेलैदेखि कविताहरू लेख्थेँ । राजनीतिमा लागेर भाषण पनि गर्न जानेको थिएँ । मलाई पछि गएर एउटा किताबचाहिँ लेख्छु भन्ने दृढ अठोट थियो ।

मेरो नामका पुरस्कार रक्सीमा उडे
काठमाडौं आएपछि म विद्यालयमा पढाउन थालेँ । राजन मुकारुङ फुक्काफाल हिँड्थे । कहीँ कार्यक्रम हुँदै छ भने मेरो कविता लगेर दर्ता गरिदिइहाल्थे । ‘वाचन गर्नचाहिँ आइज है’ भन्थे । म ट्याक्सी लिएर वाचन गर्न पुग्थेँ । वाचनपछि हिँडिहाल्थेँ । म प्रायः प्रथम हुन्थेँ । पुरस्कारबापत पाँच–सात हजार आइहाल्थ्यो । अनि त्यसले पाँच–सात दिन पार्टी खान पुगिहाल्थ्यो । राजन मुकारुङ मान्छे बटुलेर पैसा नसकिउन्जेल रक्सी खाँदै हिँड्थे । अनि हप्तादिन पछि हातमा प्रमाणपत्र मात्र बोकेर घर आउँथे । मैले पुरस्कार नपाएका तर प्रथम भएका कविताका प्रमाणपत्र अहिले पनि धेरै छन् ।

लफडा गाउँसम्मै पुग्यो
राजन मुकारुङको संगत अल्लारेहरूसँग बढी छ । खाली प्रेमका चर्तिकला देखाउँदै हिँड्छन् । त्यसले मेरो व्यक्तिगत मात्र होइन सामाजिक जीवनमा नै असर पुगेको छ ।

हाम्रो भोजपुरको गाउँमा रक्सी खाएर श्रीमती कुट्ने धेरै थिए । त्यस्ताको ‘बहादुरी’विरुद्ध म जुधिरहेको थिएँ । सामाजिक सुधारका अन्य काम पनि गरिरहेको थिएँ । ममाथि त्यहाँका महिलाको आशा छ । तर, यहीबीचमा उसको १५औँ प्रेमिकाले धरानबाट छिमेकीलाई फोन गरेर ‘तिमीहरूलाई छिमेकी चाहिँदैन, म त हुनेवाला छिमेकी हो, मेरो कुरा तिमीहरूले सुन्न पर्दैन ?’ भनिछ । मेरा छिमेकीले ‘प्रगति राईलाई सुनाइदिउँला’ भन्दा उल्टै ‘त्यसलाई नचिनेको हो र ? राजन मुकारुङ भएपछि सबैथोक हुन्छ,’ भनिछ ।

म त समूहको नेता । नेता नै यस्तो पीडित रहेछ भन्ने भयो । मेरो प्रतिष्ठामा नै आँच आएपछि समाजलाई देखाउन पनि मैले केही गर्नुपर्ने भयो । त्यसपछि मैले ड्यांगै फेसबुकमा लेखिदिएँ र सम्बन्ध सकाउने घोषणा गरेँ ।

राजन मुकारुङलाई डर होला कि सम्बन्ध टुटेपछि मेरो घर नहेर्देली भन्ने । हिजो पनि राजन मुकारुङका लागि मैले घर हेरेको होइन । म त उसको अभिभावक बनेर बसेको हुँ । सानै उमेरमा आएँ । परिवार सम्हालेँ । अहिले पनि त्यहाँका मान्छेले मलाई आफ्नै सम्झिन्छन् । आमाले मेरै भरोसा गर्नुहुन्छ । छोरा–नाति छन् । यो मैले बनाएको संसार हो । त्यसको संरक्षण पनि आफैँ गर्छु ।

राजनकै कारण कवितासंग्रह तयार
पुस्तक लेख्छु भन्ने विद्यालय पढ्दैदेखिको अठोट थियो । तर, कविताको पुस्तक निकाल्ने योजना भने थिएन । पहिलो पुस्तक उपन्यास नै लेख्छु भन्ने थियो । राजन मुकारुङले नै ‘कविताबाट चिनिएपछि उपन्यासका लागि सजिलो हुन्छ,’ भने । अरू साथीभाइले पनि कविता संग्रह नै प्रकाशन गर्न सुझाब दिए ।

हङकङमा हुने नरेश सुनुवारले कविताको पुस्तक प्रकाशन गरिदिने हुनुभयो । ०६२ सालमा ‘वादी विज्ञप्ति’ भन्ने कवितासंग्रह प्रकाशन गरेँ । त्यतिवेला पनि पहिलो उपन्यास ‘लेखककी स्वास्नी’ लेखिरहेकी थिएँ । तर, मैले लेख्न सक्छु, बोल्न सक्छु भन्नेमा मान्छे विश्वास नै गर्दैन थिए । कतै कार्यक्रममा गएर बोलेँ भने पहिला राजन मुकारुङलाई फोन आउँथ्यो । ‘राम्रै पढाएर पठाइएछ नि’ भन्थे रे !

मेरो श्रीमानसँगको सम्बन्ध चोखो भएन । उसका प्रेमिकासँग मेरो सम्बन्धलाई बाँड्नुपर्‍यो । यो सम्बन्धलाई बोकेर हिँड्नुहुँदैन भन्ने भएपछि बिस्तारै छाड्दै जाँदै छु । हाम्रो सम्बन्ध छ भन्ने नै दिमागमा छैन

अब सम्बन्धमा गम्भीर छैन
केही अपवादबाहेक हाम्रो जीवन लथालिंग भएर बित्यो । अहिले पनि त्यही जीवन सम्हाल्ने प्रयासमा छु । पोख्दै, उठाउँदै जीवनलाई लिएर हिँडियो । लडियो भनेर यात्रा रोक्नुहुँदैन । अगाडि बढ्नुपर्छ । अगाडि बढिरहनु नै जित हो ।

मेरो श्रीमानसँगको सम्बन्ध चोखो भएन । उसका प्रेमिकासँग मेरो सम्बन्धलाई बाँड्नुपर्‍यो । यो सम्बन्धलाई बोकेर हिँड्नुहुँदैन भन्ने भएपछि बिस्तारै छाड्दै जाँदै छु । हाम्रो सम्बन्ध छ भन्ने नै दिमागमा छैन, अहिले । अब रोकिएका काम अगाडि बढाउँदै छु ।

‘सिर्जनशील अराजकता’ अपूर्ण आन्दोलन
सिर्जनशील अराजकता दमित आवाजहरूको आन्दोलन हो, जनजातिको आन्दोलन हो । म पनि जनजाति हुँ । त्यसकारण त्यसलाई नकार्न सक्दिनँ । तर, जनजातिभित्र पनि महिलाको पीडा फरक छन् । ती विषय सिर्जनशील अराजकताले कतै छुन सकेको छैन । पुरुषसत्तालाई मात्र बोकेर हिँडेको छ ।
राजन मुकारुङहरूको आन्दोेलनले मेरा कुराहरू कहिल्यै पनि पूरा गर्दैन । मेरो विषय कहिल्यै उठान गर्दैन । मेरो अभाव पूर्ति गर्दैन । त्यसकारण त्यो आन्दोलनप्रति मेरो सदाशय मात्र छ, सहमति छैन । उनीहरूले महिलाका कुरा गलगाँडजस्तो गरेर समेटेका छन् ।

प्रेम अम्मल रहेछ, चुरोट खैनीजस्तै । चुरोट खाएर हानि मात्र गर्छ । मरिहाल्दैन । अम्मलीहरूलाई टेन्सन भएको वेला चुरोटले फ्रेस पनि बनाउँछ । एउटा चुरोटको सन्तुष्टि सकिएपछि मान्छे अर्को सल्काउँछ । राजन मुकारुङ पनि नयाँ–नयाँ चुरोट च्यापी हिँड्छ।

प्रेम चुरोट खैनीजस्तै
म प्रेमलाई घृणा होइन, शक्तिको रूपमा लिन्छु । मेरो सोच थियो कि राजन मुकारुङलाई हजारौँले प्रेम गरून् र त्यो प्रेमको शक्तिले ऊ अगाडि बढोस् । जसरी रकेटले पछाडि धुवाँ फ्याल्छ र त्यही धुवाँको शक्तिले अगाडि बढ्दै जान्छ । सँगै हामीबीचको सम्बन्ध आर्दशवान् बन्दै जाओस् ।

तर, मेरो सोचभन्दा ठीक विपरीत भयो । ऊ र उसका प्रेमिकाबीचमा म पो फाल्तु हुन थालेँ । म पो उब्रिएँ । मैले त उसलाई ‘तिम्री प्रेमिकासँग बिहा गर पनि भनेको छु ।’ तर, किन हो मान्दैन ।

प्रेम अम्मल रहेछ, चुरोट खैनीजस्तै । चुरोट खाएर हानि मात्र गर्छ । मरिहाल्दैन । अम्मलीहरूलाई टेन्सन भएको वेला चुरोटले फ्रेस पनि बनाउँछ । एउटा चुरोटको सन्तुष्टि सकिएपछि मान्छे अर्को सल्काउँछ । राजन मुकारुङ पनि नयाँ–नयाँ चुरोट च्यापी हिँड्छ ।

हाम्रो एरेन्ज म्यारिज हो । हामीबीच मिल्ने कुरा पनि छन्, तर त्योभन्दा बढी नमिल्ने कुरा छन् । हामीबीच सबैभन्दा मिल्ने कुरा विचार हो । मैले लेखेको उसले मन पराउँछ, उसको लेखनी मलाई मनपर्छ । हाम्रो स्वभाव भने नमिल्ने रहेछ । अहिले जिन्दगी फर्केर सम्झिँदा त्यो अनुभूति हुन्छ । म भन्छु– मान्छे सकेसम्म दागविहीन हुनुपर्छ । ऊ भन्छ– जीवन हो, हरेक दाग लाग्न सक्छ ।

जीवनः टालाटुली बटुली
जीवन भनेको टालाटुली भेला गरेर पुतली बनाउनेजस्तै रहेछ । दुःखका टाला भेला गरेर मान्छे पुतली यसकारण बनाउँछ कि ती दुःख भुल्न सकियोस् । जसले आकर्षक पुतली बनाउन सक्यो मान्छे उतै लोभिन्छन् । तर, त्यो क्षणिक हुन्छ । म पनि आकर्षक पुतली बनाउन खोज्छु । तर, टाला सबैलाई चाहिने रहेछ । टाला बटुलेर एकातिर टाल्छु, कसैले चुँडाएर लगिहाल्छ । मेरो जीवनको पुतली अधुरोको अधुरै छ ।

तपाईको प्रतिक्रिया