नेपाली महिलाको प्रजननदर दोब्बरले घट्यो
eNaya Patrika
  • ePaper

नेपाली महिलाको प्रजननदर दोब्बरले घट्यो

एक महिलाबाट औसतमा तीन बच्चाको जन्म – एउटी विवाहिता महिलाले बच्चा जन्माउने दर दुई दशकमा दोब्बरले घटेको छ । नेपालमा पछिल्लो दुई दशकमा एउटा विवाहिता महिलाले औसतमा तीनवटा बच्चा जन्माउने गरेकी छिन् । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ ले दुई दशकमा प्रजननदर दोब्बरले घटेको देखाएको हो ।


सर्वेक्षणअनुसार हाल नेपालमा एउटी विवाहिता महिलाको औसत प्रजननदर २.३ छ । सन् १९९६ मा यो दर ४.६ थियो । अर्थात्, त्यतिवेला एउटी विवाहिता महिलाले औसतमा पाँचजना बच्चालाई जन्म दिन्थिन् । हाल नेपालका महिलाको प्रजननदर दोब्बरले घटेको छ । नेपाल डेमोग्राफी हेल्थ सर्वेका नेपाल निर्देशक योगेन्द्र प्रसाईंले एकजना विवाहिता महिलाको बच्चा जन्माउने दर पाँचजनाबाट मोटामोटी दुईजनामा झरेको बताए ।

अध्ययनअनुसार सन् १९९६ यता नेपाली महिलाको प्रजननदर निरन्तर घटिरहेको छ । प्रसाईंका अनुसार बसोवास गर्ने ठाउँ र प्रदेशअनुसार पनि महिलाको प्रजननदरमा भिन्नता देखिएको छ । ग्रामीण क्षेत्रमा बसोवास गर्ने एक महिलाले औसतमा २.९ अर्थात् तीनजनासम्म बच्चा जन्माउँछन् भने सहरी क्षेत्रमा बसोवास गर्ने एक महिलाले २.० अर्थात् दुईजना मात्रै बच्चा जन्माउँछन् ।

प्रदेश ३ मा प्रजननदर सबैभन्दा कम
नेपालका सातवटा प्रदेशमध्ये प्रदेश नम्बर ३ मा सबैभन्दा कम प्रजननदर छ । प्रदेश ३ मा एक विवाहिता महिलाले औसतमा दुईवटा बच्चा जन्माउने गरेका छन् । प्रदेश ३ का महिलाको औसत प्रजननदर १.८ छ । प्रदेश ३ मा बसोवास गर्ने महिला अन्य प्रदेशको तुलनामा परिवारनियोजनबारे बढी जानकार रहेका कारण पनि यहाँको प्रजननदर अन्य प्रदेशभन्दा कम रहेको स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठले बताए । उनले भने, ‘प्रदेश ३ का महिला शिक्षा, चेतनामा अगाडि छन् । उनीहरूमा बालबच्चाको लालनपालन, शिक्षादीक्षामा पनि राम्रो ज्ञान देखिएको छ ।’

सबैभन्दा बढी प्रदेश नम्बर २ का महिलाले बच्चा जन्माउने गरेका छन् । अहिले पनि प्रदेश नम्बर २ का महिलाको औसत प्रजननदर प्रतिमहिला तीन छ । दुई सन्तान भन्ने सरकारी नीति प्रदेश २ मा अझै पूरा हुन सकेको छैन । श्रेष्ठका अनुसार सरकारी नीतिअनुसार कम्तीमा पनि एक विवाहिता महिलाले एकदेखि दुईवटा मात्र बच्चा जन्माउनुपर्छ ।

शैक्षिक स्तरअनुसार प्रजननदर फरक
नेपाली महिलाको प्रजननदर शैक्षिक र आर्थिक स्तरअनुसार फरक पाइएको छ । औपचारिक शिक्षा नलिएका महिलाको प्रजननदर ३.३ छ । एसएलसी वा सोभन्दा माथि अध्ययन गरेका महिलाको प्रजननदर भने १.५ मात्र छ । घरपरिवारको आर्थिक अवस्थामा सुधार हुँदै जाँदा प्रजननदर पनि घट्दै गएको पाइएको छ । आर्थिक अवस्था कमजोर हुने परिवारकी महिलाले औसतमा ३.२ बच्चा जन्माउने गरेकी छिन् । त्यस्तै, सम्पन्न परिवारकी महिलाले औसतमा १.६ बच्चा जन्माउने गरेको सर्वेक्षणले देखाएको छ ।

तपाईको प्रतिक्रिया