पराजित उम्मेदवारले सर्वोच्चमा रिट दायर गर्ने क्रम बढ्यो
eNaya Patrika
  • ePaper

पराजित उम्मेदवारले सर्वोच्चमा रिट दायर गर्ने क्रम बढ्यो

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पराजित उम्मेदवारले आफ्नो पक्षमा मतपरिणाम नआएको भन्दै सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दायर गर्ने क्रम बढेको छ । सर्वोच्चमा दायर भएका सबै रिट हाल विचाराधीन अवस्थामा छन् । कुनै रिटमा पुनः मतगणनाको माग गरिएको छ भने कुनैमा पुनः मतदानको माग गरिएको छ । सबै रिट निर्वाचन अधिकृत र निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर भएका छन् ।

अमरेशकुमारको विजय बदरको माग गर्दै रिट
सर्लाही क्षेत्र नम्बर ४ बाट विजयी कांग्रेसका अमरेशकुमार सिंहविरुद्ध सोही क्षेत्रका राजपा उम्मेदवार राकेशकुमार मिश्रले रिट दायर गरेका छन् । मिश्रले सर्लाही ४ मा पुनः मतदान गर्न माग गर्दै सर्वोच्चको संवैधानिक इजलासमा रिट दायर गरेका हुन् । सर्लाही ४ मा माओवादी केन्द्रका उम्मेदवार शिवपूजन यादवको उम्मेदवारी खारेज भए पनि गोलाकारभित्रको हँसिया–हथौडा चिह्न मतपत्रमा कायमै रहनु त्रुटिपूर्ण भएको मिश्रको रिटमा उल्लेख छ । उनले कांग्रेस नेता सिंह निर्वाचित भएको घोषणा बदर हुनुपर्ने माग पनि रिटमा गरेका छन् ।

प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ अनुसार कुनै दलको उम्मेदवारी नरहेको अवस्थामा मतपत्रमा सम्बन्धित दलको चुनावचिह्न राखिनु नहुने माग गरिएको छ । उम्मेदवारविनाको चुनावचिह्न मतपत्रमा राख्ने निर्वाचन आयोगको कार्यले अन्य उम्मेदवार विजयी हुन पाउने अधिकारबाट वञ्चित भएको दाबी रिटमा गरिएको छ । ९ पुसमा दायर भएको उक्त रिट सर्वोच्चमा विचाराधीन अवस्थामा छ ।

गच्छदारविरुद्ध भगवतीको रिट
सुनसरी क्षेत्र नम्बर ३ बाट विजयी कांग्रेस उम्मेदवार विजयकुमार गच्छदारसँग पराजित एमाले उम्मेदवार भगवती चौधरीले पुनः मतगणनाको माग गर्दै रिट दायर गरेकी छिन् । मतगणनाका क्रममा फर्जी मतपत्र गणना गरेर आफूलाई पराजित गरिएको दाबी चौधरीको रिटमा गरिएको छ । उनले गच्छदारलाई प्रतिनिधिसभा सदस्यको शपथ नगराउनसमेत माग गरेकी छिन् । सुनसरी ३ बाट विजयी गच्छदारले ३८ हजार ९ सय ७२ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्द्वी चौधरीले ३८ हजार ६ सय ५१ मत प्राप्त गरेकी थिइन् ।

चौधरीको रिटमा निर्वाचन आयोगको केन्द्रीय कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरी, निर्वाचन अधिकृत टीकाभूषण घिमिरे र विजयी उम्मेदवार विजयकुमार गच्छदारलाई विपक्षी बनाइएको छ ।

टेलिभिजनको समाचारले हारेँ भन्दै रिट दायर
धनुषा क्षेत्र नम्बर ३ बाट पराजित माओवादी केन्द्रका उम्मेदवार रामसिंह यादवले टेलिभिजनमा प्रसारित समाचारका कारण आफू निर्वाचनमा पराजित भएको भन्दै सर्वोच्चमा रिट दारय गरेका छन् । मंसिर २१ गते बिहान केही टेलिभिजन र अनलाइनले वाम गठबन्धनका उम्मेदवार रामसिंह यादवले राजपाका उम्मेदवार राजेन्द्र महतोलाई समर्थन गरेको भन्दै ब्रेकिङ न्युज दिएकाले आफू निर्वाचनमा पराजित भएको यादको दाबी छ । उनले पनि रिटमा राजेन्द्र महतोको विजय घोषणालाई बदर गर्न माग गरेका छन् । उक्त रिटमा सर्वोच्चको संवैधानिक इजलासले अन्तरिम आदेशका लागि पुस १९ गते निर्वाचन आयोगलाई छलफलमा झिकाउन आदेश दिएको छ । धनुषा ३ बाट विजयी राजपाका राजेन्द्र महतोले ३० हजार सात सय ५० मत प्राप्त गरेका थिए भने तेस्रो भएका यादवले दुई हजार तीन सय ४६ मत मात्र प्राप्त गरेका थिए । उक्त क्षेत्रमा कांग्रेसका नेता विमलेन्द्र निधि महतोका निकटतम प्रतिस्पर्धी भएका थिए । निधिले २७ हजार आठ सय ४७ मत प्राप्त गरेका थिए ।

गौतमसँग पराजित भएपछि खड्काको रिट
कांग्रेसका तर्फबाट संखुवासभाका उम्मेदवार दीपक खड्काले फर्जी मतका कारण आफू निर्वाचनमा एमाले उम्मेदवारसँग पराजित भएको भन्दै पुस ५ गते सर्वोच्चमा रिट दायर गरेका छन् । खड्काको रिटमा अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले निर्वाचन आयोगलाई छलफलमा झिकाउन आदेश दिएको छ ।

खड्का एमाले उम्मेदवार राजेन्द्रप्रसाद गौतमसँग पराजित भएका थिए । गौतमले ३२ हजार सात सय ६९ मत पाएका थिए भने खड्काले ३१ हजार ६ सय ३९ मत ल्याएका थिए । उक्त रिटको पेसी १४ पुसका लागि तोकिएको छ ।

पाँच मतले पराजित भएपछि कांग्रस नेता पौडेलको रिट
कांग्रेसका तर्फबाट तनहुँ क्षेत्र नम्बर २ को प्रदेश सभा (क)का उम्मेदवार प्रदीप पौडेलले मतगणनाका क्रममा धाँधली गरेर आफूलाई हराइएको भन्दै रिट दायर गरेका छन् । पौडेलले पुनः मतदानको माग गर्दै पुस ६ गते दायर गरेको रिटमा सर्वोच्चले पुस १९ गतेका लागि निर्वाचन आयोगलाई छलफलमा बोलाएको छ । कांग्रेसका युवा नेता पौडेल पाँच मतले माओवादी केन्द्रकी उम्मेदवार तथा विनाविभागीय मन्त्री आशा कोइरालासँग पराजित भएका थिए । कोइरालाले १६ हजार ६ सय ४६ मत पाउँदा पौडेलले १६ हजार ६ सय ४१ मत पाएका थिए । ४२ मत दुईपटक गणना गर्दै आफूलाई पराजित घोषणा गरिएकाले पुनः मतगणना हुनुपर्ने मागसहित पौडेल अदालत पुगेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु