राप्रपाका एक मात्र निर्वाचित सांसद् लिङ्देनकाे राेजाइ परे एमाले अध्यक्ष अाेली - Naya Patrika
eNaya Patrika
  • ePaper

राप्रपाका एक मात्र निर्वाचित सांसद् लिङ्देनकाे राेजाइ परे एमाले अध्यक्ष अाेली

राप्रपाको एक मत ओली नेतृत्वको सरकारलाई : लिङ्देन राप्रपा महामन्त्री एवम् झापा क्षेत्र नम्बर–३ का नवनिर्वाचित सांसद् राजेन्द्र लिङ्देनले एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा नयाँ सरकार बन्नुपर्ने बताएका छन् । ओली नेतृत्वमा सरकार बन्ने भए राप्रपासँग भएको एक मत अन्त नजाने उनले स्पष्ट पारे ।

‘ओलीजीको नेतृत्वमा सरकार बनोस्, मेरो त्यही चाहना हो,’ विहीबार झापाली पत्रकार माझ लिङ्देनले भने, ‘राप्रपा सरकारमा जाने, नजाने विषय चाहिँ अहिले टुंगो लागिसकेको छैन ।’ महामन्त्री लिङ्देन राप्रपाका एक मात्र सांसद् हुन् । झापामा एमाले र माओवादी केन्द्रसँग गठबन्धन गरी कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई हराउँदै लिङ्देन सांसद् बनेका थिए ।

‘हामी सरकारमा जाने गरी जनताले मत दिएका होइनन्,’ उनले भने, ‘सरकारमा जानु हाम्रो प्राथमिकता पनि होइन ।’ शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले लामो अलमल गर्न जरुरी नरहेको लिङ्देनको भनाइ छ । चाँडोभन्दा चाँडो सत्ता हस्तान्तरण गर्नु देउवाको कर्तव्य भएको उनले बताए ।
यसपटकको चुनावमा राप्रपाले नमिठो पराजय बेहोर्नुका कारणबारे समीक्षा गरिने लिङ्देनले जानकारी दिए । उनका अनुसार, पुस १९, २० र २१ गते काठमाडौँमा राप्रपा केन्द्रीय समितिको बैठक बस्दैछ । बैठकमा चुनावी समीक्षासमेत गरिनेछ ।

सरकार निर्माणमा राप्रपाको भूमिका आवश्यक पर्ने वा नपर्ने भन्ने विषय पनि सोही बैठकले टुंगो लगाउने लिङ्देनले बताए । महामन्त्री लिङ्देनले राप्रपाले एक–दुईवटा चुनाव हार्दैमा कार्यकर्ता अतालिनु नपर्ने धारणा राखे । ‘चुनाव हार्दैमा हाम्रो एजेण्डा विफल भएको भन्न मिल्दैन,’ उनले भने, ‘एजेण्डा, संगठन संरचना वा कार्यशैली के कारणले पार्टीले हार बेहो¥यो, त्यसको हामी समीक्षा गर्दैछौँ ।’

आफू भ्रष्टाचारविरोधी र विकासप्रेमी भएकै कारण जनताले भोट दिएको बताएका सांसद् लिङ्देनले मन्त्री नबने पनि जनताका आवश्यकता पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा लिङ्देनले आफू विजयी हुनुमा सञ्चारकर्मीको सकारात्मक सहयोग रहेको भन्दै आभार व्यक्त गरे । ‘मेरो विजयको हिस्सेदार तपाईंहरु पनि हो,’ उनले भने, ‘तपाईंहरुले लगाउनुभएको गुन म एक–एक गरी तिर्नेछु ।’

तपाईको प्रतिक्रिया