एल क्लासिकोको इतिहास र बढ्दो टकराव - Naya Patrika
eNaya Patrika
  • ePaper

एल क्लासिकोको इतिहास र बढ्दो टकराव

एल क्लासिको अर्थात् रियल म्याड्रिड भर्सेस बार्सिलोना; क्लब फुटबलको सबैभन्दा ठूलो खेल (च्याम्पियन्स लिग फाइनलपछि) र प्रतिष्ठाको सबैभन्दा भीषण भिडन्त मानिन्छ । गत शनिबार रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नबाउमा बार्सिलोना ३–० ले विजयी हुनु आफैँमा एउटा ऐतिहासिक क्षण हो ।

त्यसका साथसाथै सो खेलमा बार्साका फरवार्ड लियोनल मेसीले एल क्लासिकोमा अरू पनि धेरै ऐतिहासिक रेकर्ड आफ्नो नाममा दर्ता गरेका छन् । व्यक्तिगत अवार्ड र ट्रफीको जोडघटाउमा मेसी रोनाल्डोभन्दा पछाडि भए पनि एल क्लासिकोमा भने मेसीले रोनाल्डोलाई मात्र होइन दुवै क्लबका सबै खेलाडीलाई पछि पारेका छन् ।

मेसीले बनाए रेकर्डको चाङ

बार्सिलोनाले घरेलु टोलीलाई ३–० ले पराजित गर्दा दोस्रो गोल गरेका मेसी उक्त गोलसँगै एल क्लासिकोमा २५ गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनीपछि सर्वाधिक गोल गर्नेमा रियल म्याड्रिडका अल्फ्रेडो डी स्टेफानो छन् ।

उनले १८ गोल गरेका छन् भने १७ गोल गरेका रोनाल्डो तेस्रो स्थानमा छन् । त्यति मात्र होइन, उक्त गोलसँगै उनी एल क्लासिकोमा सान्टिएगो बर्नबाउमा सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि बनेका छन् । उनले रियल म्याड्रिडविरुद्ध उसकै घरेलु मैदानमा १५ गोल गरिसकेका छन् । साथसाथै उनी ला लिगाको इतिहासमा रियल म्याड्रिडविरुद्ध सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेका छन् । ला लिगामा मात्रै उनले रियल म्याड्रिडविरुद्ध १७ गोल गरेका छन् ।

त्यस्तै, उनी युरोपका शीर्ष ५ लिगमा खेल्ने खेलाडीमध्ये एउटै क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेका छन् । जर्मनी (तत्कालीन पश्चिम जर्मनी)का खेलाडी गर्ड मुलरले सन् १९६४ देखि १९७९ सम्म १५ वर्ष बायर्न म्युनिखका लागि खेल्ने क्रममा ५२५ गोल गरेका थिए ।

रियल म्याड्रिडविरुद्धको खेलमा गरेको गोल मेसीले बार्सिलोनाका लागि गरेको ५२६औँ गोल थियो । सो गोलसँगै मेसी गर्ड मुलरलाई उछिन्दै एउटै क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन् । साथसाथै, मेसी ला लिगामा लगातार १० सिजनसम्म हरेक सिजन १५ भन्दा बढी गोल गर्ने एक मात्र खेलाडी पनि बनेका छन् ।

स्टेन्डिङ ओवेसन

यति धेरै विवाद र टकरावबीच पनि एल क्लासिकोमा केही थोरै खेलाडी छन् जसलाई दुवै टिमका समर्थकले उत्तिकै माया र सम्मान गर्छन् । विपक्षी भए तापनि उनीहरूको खेल र खेल्ने शैलीको खुलेर सम्मान गर्दछन् । जसका लागि समर्थकहरूले ती खेलाडी आफ्नो मैदानमा खेल्न आएका वेला ‘स्टेन्डिङ ओवेसन’ दिन्छन् अर्थात् सम्मानमा उठेर ताली बजाउने गर्छन् ।

सन् १९८० मा लरी कनिङ्घम एल क्लासिकोमा स्टेन्डिङ ओवेसन पाउने पहिलो एवं रियल म्याड्रिडका अहिलेसम्मका एक मात्र खेलाडि बने । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा उनको उत्कृष्ट प्रदर्शनको मद्दतले रियल म्याड्रिड २–० ले विजयी भएको थियो ।

खेल सकिएर उनले मैदान छोड्दा बार्सिलोनाका समर्थकले उभिएर ताली बजाउँदै उनको प्रदर्शनको प्रशंसा एवं सम्मान गरेका थिए । त्यसपछि १९८३ मा कोपा डेल रे फाइनलमा बार्सिलोनाका अर्जेन्टाइन स्ट्राइकर डिएगो म्याराडोनाले गरेको एउट दर्शनीय गोलका लागि सान्टिएगो बर्नबाउमा स्टेन्डिङ ओवेसन पाएका थिए ।

सन् २००५ मा रियल म्याड्रिडलाई ३–० ले हराउने क्रममा दुई गोल गरेका रोनाल्डिन्होलाई रियल म्याड्रिडका समर्थकले स्टेन्डिङ ओवेसन दिएका थिए । त्यस्तै, सन् २०१५ मा बार्सिलोना ४–० ले विजयी भएको खेलमा तेस्रो गोल गरेका आन्द्रे इनिएस्टा सब्स्टिच्युट भएर मैदान छाड्दा सान्टिएगो बर्नबाउमा उपस्थित सबै दर्शकका साथसाथै बेन्चमा बसेका दुवै क्लबका खेलाडीले पनि स्टेन्डिङ ओवेसन दिएका थिए ।

मेसीले पनि रियल म्याड्रिडको मैदानमा धेरै दर्शनीय र उल्लेखनीय प्रदर्शन एवं गोल गरेका छन् । तर, रोनाल्डो र उनीबीचको प्रतिस्पर्धा र उनीहरू दुईका समर्थकबीचको प्रतिस्पर्धाका कारण अहिलेसम्म स्टेन्डिङ ओवेसन पाएका छैनन् । र, तिनै कारणले गर्दा पछि पनि पाउन सक्ने सम्भावना न्यून नै छ ।

एल क्लासिकोको इतिहास र बढ्दो टकराव

पहिले रियल म्याड्रिड र बार्सिलोनाबीच ला लिगामा हुने भिडन्तलाई मात्र एल क्लासिको भनिन्थ्यो । पछि आएर यी दुई टिमबीचका जुनसुकै प्रतिस्पर्धालाई पनि एल क्लासिको भन्न थालिएको हो । एल क्लासिको पहिलेदेखि नै प्रतिष्ठाको लडाइँ थियो, तर अहिलेजस्तो भीषण भने थिएन ।

स्पेनका दुई ठूला सहर म्याड्रिड र बार्सिलोनाबीचको राजनीतिक भिन्नताका कारण यी दुईबीचको खेल प्रतिष्ठाको लडाइँ बनेको थियो । म्याड्रिड स्पेनिस राष्ट्रवादको पक्षमा थियो भने बार्सिलोना क्याटलान राष्ट्रवादको पक्षमा ।

सन् १९४३ को कोपा डेल रे सेमिफाइनलसम्म यी दुई टिम केवल प्रतिस्पर्धी थिए । तर, त्यसपछि भने क्लब फुटबल इतिहासकै सबैभन्दा ठूला प्रतिद्वन्द्वी बन्न पुगे । उक्त सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाको घरेलु मैदानमा ३–० ले हारेर आएको रियल म्याड्रिडले आफ्नो मैदानमा भएको दोस्रो लेगमा बार्सिलोनालाई ११–१ ले हराएको थियो । सो खेलपछि दुवै टिमले एल क्लासिको जित्नलाई होइन, एक–अर्कालाई हराउनलाई खेल्न थाले ।

सन् १९५० मा अल्फ्रेडो डी स्टेफानोको ट्रान्सफर काण्डले एल क्लासिको टकरावमा आगोमा घिउ थप्ने काम ग¥यो । अर्जेन्टिनी स्ट्राइकर डी स्टेफानोलाई दुवै क्लबले भित्र्याउन चाहन्थे र त्यो घच्चाघच्ची यति बढ्यो कि फिफाले स्टेफानोलाई बार्सिलोना र रियल म्याड्रिडबाट एक–एक सिजन पालैपालो खेल्ने निर्देशन दियो ।

तर, उनले रियल म्याड्रिड रोजे र आफ्नो पहिलो एल क्लासिकोमा दुई गोल गर्दै रियललाई जिताए । कालान्तरमा गएर स्टेफानो रियल म्याड्रिडका सर्वाधिक सफल खेलाडी बने भने उनको खेलजीवनभर रियल म्याड्रिड युरोपको सर्वाधिक सफल क्लब रह्यो ।

त्यसको ५० वर्षपछि सन् २००० मा पोर्चुगलका लुइस फिगोको ट्रान्सफर काण्डले एल क्लासिकोलाई नयाँ उचाइमा पु¥यायो । रियल म्याड्रिडका हालका सभापति फ्लोरेन्टिनो पेरेज आफू सभापतिको उम्मेदवार हुँदा बार्सिलोनाका तत्कालीन उपकप्तान लुइस फिगोलाई २.४ मिलियन दिएर एउटा सहमति गरे ।

पेरेजले चुनाव जिते फिगो म्याड्रिड जानुपर्ने, फिगोले सो सहमति तोडे उनले ३० मिलियन पेरेजलाई तिर्नुपर्ने । फिगो बार्सा छाडेर म्याड्रिड जाने हल्ला बढेपछि फिगोले आफ्ना साथी पेप ग्वार्डिओलालाई आफूले बार्सिलोना छाड्न नचाहेको बताए ।

तर, उता पेरेजले फिगोलाई म्याड्रिड ल्याउँछु भनेर चुनाव जितेपछि बार्सिलोनाले फिगोलाई राख्न सहमतिअनुसार फिगोले तिर्नुपर्ने ३० मिलियन तिर्नुपर्ने हुन्थ्यो । अर्थात्, बार्सिलोनाले आफ्नै खेलाडी म्याड्रिडसँग ३० मिलियन तिरेर किन्नुपर्ने भयो ।

अन्ततः फिगो म्याड्रिड गए र एल क्लासिको खेल्न बार्सिलोनाको मैदानमा रियल म्याड्रिडको जर्सीमा उत्रिँदा बार्सिलोनाका समर्थकले उनीमाथि १०,००० का नक्कली नोट, सिक्का, चक्कु, रक्सीको बोतलले प्रहार गरे । विशेषगरी, बार्सिलोनाका उग्रवादी समर्थक समूह भनेर चिनिने ‘बोइक्सस नोइस’ले उनीमाथि बोतल र सुँगुरको टाउकोले प्रहार गरेको थियो ।

एल क्लासिकोमा बार्सिलाेना विजयी, रियल ३–० ले पराजित

तपाईको प्रतिक्रिया