हात्तीखोरमा ५ सय ६० छात्र-छात्रा दिक्षित - Naya Patrika
eNaya Patrika
  • ePaper

हात्तीखोरमा ५ सय ६० छात्र-छात्रा दिक्षित

राष्ट्रिय सेवा दलको ४४ आैं ब्याज जुनियर डिभिजनका पाँच सय ६० जना छात्र छात्रा बुधवार दिक्षित गरिएको छ । मध्य तालिम शिक्षालय नवलपरासी कावासोती हात्तीखोरमा एक समारोहकाबीच उनीहरुलाई मध्य पृतनाका पृतनापति उपरथी प्रभुराम शर्माले दिक्षित गरेका हुन ।

तालिममा देशभरका आठ जिल्लाका १५ वटा विद्यालयबाट २ सय ९७ जना छात्रा र २ सय ६३ जना छात्रहरु गरी पाँच सय ६० जनालाई सय दिनको तालिम प्रदान गरिएको थियो । तालिममा उत्कृष्ट हुने छात्र छात्रालाई उपरथी शर्माले दज्र्यानी चिन्ह र शिल्ड पनि प्रदान गरेका थिए । कार्यक्रममा क्याडेट छात्रछात्राहरुबाट नृत्य, कवाज, एरोविक, तेक्वान्दो, मास पिटीसमेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपरथी शर्माले युवाहरुमा नै देशलाई परिवर्तन गर्न सक्ने शक्ति हुने भएकाले युवालाई लक्षित गरी सेवा दलको तालिम प्रदान गर्दै आईरहेको बताए । उनले युवा उमेरमा जस्तो जोश, जागर र अभिप्रेरणा अन्य समयमा नहुने र युवाहरुमा विभिन्न विषयमा हुने कौतुहलता र त्यसलाई हेर्ने आयामहरु नै नया सामाजिक विकास र प्राविधिक विकासका मुख्य कारण भएकाले उनीहरुलाई समयमा नै सहि दिशा देखाउन आवश्यक रहेकामा जोड दिए ।

युवाहरुलाई समयमा नै सही दिशा र देशप्रति सम्मान र अनुशासन जगाउनका लागि यसरी तालिम प्रदान गर्दै आईरहेको शर्माले बताए ।

तालिममा सहभागि भएका छात्रा छात्रहरुले पनि तालिमबाट आफुहरुमा शारिरिक विकासमा ठूलो टेवा पुगेको बताएका थिए । यस्तै तालिमले अनुशाशन र देशप्रति सम्मान गर्न सिकाएको बताएका थिए ।

काठमाण्डौको विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयबाट तालिममा सहभागि भएकी सजिना श्रेष्ठले तालिमले आफुमा धेरै आत्मविश्वास बढेको बताईन । उनले भनिन्, ‘तालिम लिन पाउदा धेरै खुसी छु । ममा धेरै आत्मविश्वास बढेको छ । अनुशासित हुन , समयको सदुपयोग गर्न पनि सिकाएको छ । ’ उनले थपिने, ‘मैले यो तालिम नलिदासम्म विदेशको राम्रो ठाउमा गएर पढ्छु अनि उतै काम गर्छु तर तालिम लिएपछि देशका लागि नै केहि गर्नुपर्छ भन्ने सोच आएको छ र अब म देशमा नै केहि गरेर देखाउछु । ’

नेपाली सेनाको राष्ट्रिय सेवा दलले सिनियर र जुनियर डिभिजन गरी युवाहरुको लागि राष्ट्रिय सेवा दलको तालिम सञ्चालन गर्दै आएको छ । माध्यामिक तहको कक्षा ८, ९ र १० मा अध्यायनरत १४ वर्ष उमेर पुरा भएका विद्यार्थीहरुलाई जुनियर डिभिजन र उच्च माध्यामिक तहका १६ वर्ष उमेर पुरा भएका विद्यार्थीहरुलाई सिनियर डिभिजनको तालिम प्रदान गरिदै आएको सेवा दल मध्य तालिम शिक्षालयका शिक्षाअधिकृत प्रमुख सेनानी प्रज्वल रायमाझीले जानकारी दिए ।

सेवा दलको तालिम जम्मा एक सय दिनको हुन्छ । जसमध्ये ७९ दिन विद्यालयमा संस्थागत तहको तालिम सञ्चालन गरिन्छ भने २१ दिनको वार्षिक क्याम्प हुन्छ ।

अभिभावक, सम्बन्धित विद्यालय, जिल्ला शिक्षा कार्यालय लगायतको समन्वय तालिमका लागि सहभागि छनोट गरिन्छ । उनिहरुलाई विद्यालयमा नै संस्थागत तहको तालिम सञ्चालन गरिन्छ भने वार्षिक क्याम्पको लागि राष्ट्रिय सेवा दलको वार्षिक सामुहिक क्याम्पमा सहभागि गराईन्छ ।

 वार्षिक क्याम्प नवलपरासीको हात्तीखोर, बाकेको कोहल्पुर र मोरङको याङ सिलामा सञ्चालन हुन्छ । युवा शक्तिलाई अनुशासित, कर्तव्यनिष्ठ र निष्ठावान बनाई दक्ष नागरिक बनाउने उद्देश्यले बि.सं. २०२२ सालमा राष्ट्रिय सेवा दलको स्थापना भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु