चालककाे नाममा पेश्की झिकेर लाखौं घोटाला ! - Naya Patrika
eNaya Patrika
  • ePaper

चालककाे नाममा पेश्की झिकेर लाखौं घोटाला !

बाजुराको बडिमालिका नगरपालिकाको समान खरिदको विषयमा विवाद चर्केको छ । कर्मचारी र नगर प्रमुखको मिलोमतोमा कुनै निर्णयबिनै लाखौं का समान खरिद गरेको भन्दै जनप्रतिनिधिले विरोध गरेका छन् ।

आर्थिक समितिको अनुमति तथा नगर कार्यपालिकाको निर्णय बिनै कार्यकारी अधिकृत त्रिलोक चन्द र लेखा अधिकृत कृष्ण शाहीले मनोमानी गर्दै करिब ५० लाख बराबरका समान खरिद गरेको आरोप जनप्रतिनिधिले लगाएका छन् ।

नगरपालिका उपप्रमुख कविता विष्टले निर्देशन दिएपछि केही समय रोकिएको खरिद प्रक्रिया नगरप्रमुखको मौन समर्थनमा सामान खरिद गरिएको श्रोतले दाबी गरेको छ । न्यून गुणस्तरका समान आएपछि मात्र तल्लो तहका कर्मचारी र आफुले जानकारी पाएको उपप्रमुख कविता विष्टले बताइन् । १० लाख रुपैयाँभन्दा माथिको समान खरिद गर्दा टेन्डर प्रक्रियामा जानु पर्ने प्रावधान छ ।

उपप्रमुख विष्टले कमिसनको चक्करमा नियमविपरित सामान खरिद गरिएकोले त्यसको जिम्मेवार नगरपालिका कार्यालय नहुने र नियम विपरित जानेलाई नछोडिने बताइन् । नगरपालिका स्रोतका अनुसार, ५० लाख रुपैयाँभन्दा बढीको सामान खरिद गर्दा पेश्कीसमेत श्रेणीविहीन कर्मचारी, टिप्पर चालक गोरख बहादुर बोहराको नाममा निकाल्न लगाइएको छ ।

चालक बोहराले रकम उल्लेख नगरी भरपाईमा हस्ताक्षर गर्न लेखा अधिकृत कृष्ण शाही र कार्यकारी अधिकृत त्रिलोक चन्द्रले दबाब दिएको बताए । हस्ताक्षर नगरे जागिरबाट हटाउने र हाजिर समेत नलगाउने भनेर धम्की दिएपछि आफू हस्ताक्षर गर्न बाध्य भएको उनले बताए । अन्य कर्मचारीले पेश्की लिन नमानेपछि टिप्पर चालकलाई प्रयोग गरिएको स्रोतको दावी छ ।

 

यस्ता छन् खरिद गरिएका सामान

स्रोतका अनुसार, सुरुमा ५ लाख पेश्की रकम निकालिएको छ । स्टेशनरी, सोफा, कुर्सी, दराजसहितका समान खरिद गरिसकिएको छ । नगरप्रमुख पदम बडुवाल, कार्यकारी अधिकृत र लेखा अधिकृतको मिलोमताको मोटो रकम कमिशन खाने मनसायका साथ हतार हतारमा समान खरिद गरिएको छ ।

यसबारे लेखा अधिकृत कृष्ण शाहीसँग बुझ्दा उनले वार्षिक कार्यक्रम स्वीकृति गरिसकेपछि कार्यान्वयनका सबै चरणमा सोधिरहनु नपर्ने प्रतिक्रिया गरे । उनले भने, ’हामीले नगरप्रमुखकै सल्लाहमा नेपालजगञ्जबाट समान ल्याका छौँ । कार्पेट च्यातिएको रहेछ । सम्बन्धित पसलमा फिर्ता पठाईइसकेका छौँ ।’

यस्तै कार्यकारी अधिकृत त्रिलोक चन्द्रले आफूहरुले प्रक्रियामा रहेर नै नगर प्रमुखको सर्मथनमा समान ल्याएको र कुनै लाभको मनसाय नभएको बताए । उनले नगरपालिकामा कर्मचारी नभएको अवस्थामा आफूहरुको नाममा निकाल्न नमिल्ने भएपछि ५ लाख बराबरको पेश्की चालकको नाममा निकालिएको बताए । तर, उनले सामान कहाँबाट खरिद गरिएको हो भन्ने शाहीले खुलाउन चाहेनन् ।

नगर प्रमुख पदम बडुवालले सामान खदिरको विषय नगरसभाले पास गरेको बताए । उनले आफू धनगढीमा रहेकाले अन्य विषय जानकारी नभएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु