इंग्ल्यान्डविरुद्ध वार्नरको शतक
eNaya Patrika
  • ePaper

इंग्ल्यान्डविरुद्ध वार्नरको शतक

डेभिड वार्नरले १ सय ३ रनको शतकीय इनिङ खेलेपछि अस्ट्रेलियाले एसेजअन्तर्गत चौथो टेस्टमा इंग्ल्यान्डविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । यसअघि नै सिरिज ३–० ले जितिसकेको अस्ट्रेलिया विनादबाब मैदानमा छ । तर, इंग्ल्यान्डलाई भने प्रतिष्ठाका लागि पनि सिरिजमा जित निकाल्नुपर्ने चुनौती छ ।

चौथो टेस्ट पनि इंग्ल्यान्डका लागि सहज नहुने देखिएको छ । टस जितेर ब्याटिङ सुरु गरेको अस्ट्रेलियाले पहिलो दिन मंगलबार ३ विकेट गुमाएर २ सय ४४ रन बनाएको छ । पहिलो दिनको खेल समाप्त हुँदा अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथ ६५ तथा सौन मार्स ३१ रनमा अविजित रहेका छन् । उत्कृष्ट फर्ममा भएकाले पनि कप्तान स्टिभ स्मिथको विकेट इंग्ल्यान्डका लागि सर्वाधिक महत्वपूर्ण हुनेछ ।

१ सय २२ रनको साझेदारी
अस्ट्रेलियाका लागि क्यामरुन बेनक्राफ्ट र डेभिड वार्नरले पहिलो विकेटका लागि १ सय २२ रनको शतकीय साझेदारी गरे । क्रिस ओक्सले बेनक्राफ्टलाई आउट गर्दै इंग्ल्यान्डलाई पहिलो सफलता दिलाएका थिए । बेनक्राफ्टले ९५ बलमा २ चौका प्रहार गर्दै २६ रन बनाए । त्यसपछि जेम्स एन्डरसनले दोस्रो विकेटका रूपमा अस्ट्रेलियाको १ सय ३५ रन हुँदा वार्नरलाई १ सय ३ रनको अवस्थामा पेभिलियन फर्काएका थिए । वार्नरले आफ्नो इनिङमा १ सय ५१ बल खेल्दै १३ चौका र एक छक्का प्रहार गरे । वार्नर आउट भएपछि क्रिजमा आएका उस्मान ख्वाजा ६५ बलमा १७ रन बनाएर पेभिलियन फर्किए ।

वार्नरको ६ हजार रन पूरा
वार्नरले शतक प्रहार गरेसँगै आफ्नो करिअरको २१औँ टेस्ट शतक पूरा गरे । उनी टेस्ट करिअरमा ६ हजार रनको कोसेढुंगा पनि पूरा गर्न सफल भए । वार्नरले अस्ट्रेलियन ब्याट्सम्यान ब्राडम्यान, पोन्टिङ, हेडेन र जर्ज च्यापेलसँगै छिटो ६ हजार रन पूरा गर्ने खेलाडीका रूपमा आफूलाई उभ्याए । वार्नरले १ सय २९ इनिङमा ६ हजार रन पूरा गरे ।

वार्नर अस्ट्रेलियन क्रिकेटमा उत्कृष्ट ब्याट्सम्यानका रूपमा रहँदै आएका छन् । वार्नरले २१ टेस्ट शतक पूरा गर्दा घरेलु मैदानमा १५ शतक प्रहार गरेका छन् । वार्नरको यो इंग्ल्यान्डविरुद्ध तेस्रो शतक हो । उनले मेलबर्न क्रिकेट मैदानमा इंग्ल्यान्डविरुद्ध दुई शतक प्रहार गरेका छन् ।

इंग्ल्यान्डलाई चुनौती
इंग्ल्यान्ड अस्ट्रेलियाविरुद्धको सिरिजअघि राम्रो लयमा थियो । तर, अस्टे«लियाविरुद्धको निरन्तर फराकिलो हारले इंग्ल्यान्डको अघिल्ला सफलता छायामा परेका छन् । ब्रिस्बनमा १० विकेटले पराजित भएको इंग्ल्यान्ड एडिलेडमा १ सय २० रनले हार्‍यो । टेस्ट शृंखला गुमाउने क्रममा पर्थमा इनिङ र ४१ रनले हारेपछि इंग्ल्यान्डको खुलेर आलोचना भएको छ । यस्तोमा अस्ट्रेलियाविरुद्धको खुम्चँदो साखलाई कायम राख्न मेलबर्न टेस्टमा जित निकाल्ने दबाब पाहुना टोलीलाई धेरै छ । तर, अस्ट्रेलिया सिरिज कब्जापछि थप आत्मविश्वासका साथमा मैदानमा रहेकाले इंग्ल्यान्डलाई यो चुनौती पूरा गर्न निकै असहज हुनेछ ।

तपाईको प्रतिक्रिया