राष्ट्रपति निर्वाचन बहिष्कार गर्न रसियाली विपक्षी नेताको आह्वान
eNaya Patrika
  • ePaper

राष्ट्रपति निर्वाचन बहिष्कार गर्न रसियाली विपक्षी नेताको आह्वान

रसियाका विपक्षी नेता एलेक्से नभाल्नीले रसियामा आगामी वर्ष हुन लागेको राष्ट्रपति निर्वाचनमा सहभागी नहुन र मतदान बहिष्कार गर्न रसियाली नागरिकलाई आह्वान गरेका छन् । रसियाको निर्वाचन आयोगले नभाल्नीलाई राष्ट्रपतिको उम्मेदवार हुन अयोग्य ठहर गरेको भोलिपल्ट उनले सो अपिल गरेका हुन् । निर्वाचन आयोगकी प्रमुख एला पम्फिलिभाले नभाल्नीलाई एउटा फौजदारी अभियोगमा दोषी ठहराइएकाले उनी चुनावमा उम्मेदवार हुन अयोग्य भएको बताएकी छिन् । किरोभ राज्यका गभर्नरको सल्लाहकार हुँदा सरकारी काठ कम्पनीबाट झन्डै पाँच लाख डलरबराबरको काठ घोटाला गरेकोमा उनलाई दोषी ठहराइएको थियो ।

उनी वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध चुनाव उठ्ने तयारीमा थिए । प्रमुख विपक्षीविनाको चुनावको वैधानिकता नहुने उनले बताए । अवैध निर्वाचनमा सहभागी नहुन उनले मतदाताहरूलाई आह्वान गरेका छन् । राष्ट्रपति पुटिन चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका छन् । निर्वाचन आयोगले एलेक्से नभाल्नीलाई उम्मेदवार हुन अयोग्य ठहर गरेसँगै आगामी निर्वाचनमा पुटिन पुनः निर्वाचित हुने निश्चित भएको विश्लेषकहरूले बताएका छन् ।

४१ वर्षीय नभाल्नीलाई राष्ट्रपति भ्लादिमिर पुटिनको एक बलियो चुनौतीका रूपमा हेरिएको थियो । नभाल्नीले आफूमाथि लागेका आरोप अस्वीकार गरेका छन् । निर्वाचन आयोगले आफूविरुद्ध लगाएको अभियोग राजनीतिक रूपमा प्रेरित भएको बताए । राष्ट्रपति पुटिनको निर्देशनमा अभियोग लागेको उनको दाबी छ । निर्वाचन आयोगको निर्णयविरुद्ध रसियाली नागरिकले विरोध प्रदर्शन गर्ने उनले बताएका छन् । आगामी चुनावमा पुटिनका पक्षधरहरू मात्र सहभागी हुने भएकाले निर्वाचनको अर्थ नभएको उनले बताए । नभाल्नीले विपक्षीका तर्फबाट सो निर्वाचनको विरोधमा प्रदर्शनको नेतृत्व गर्ने चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया