जिएमपी लिने कसरतमा औषधि लिमिटेड
eNaya Patrika
  • ePaper

जिएमपी लिने कसरतमा औषधि लिमिटेड

माघदेखि सिटामोल उत्पादन थाल्ने, प्रत्येक महिना एउटा नयाँ उत्पादन थप्ने –

विश्व स्वास्थ्य संगठनको मापदण्ड ‘असल उत्पादन अभ्यास’ (जिएमपी) पूरा गर्न नसकेर २०६७ सालदेखि बन्द भएको सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले पुनः जिएमपी लिने कसरत थालेको छ । अघिल्लो वर्षदेखि पुनः सञ्चालनमा आएको औषधि लिमिटेडले आवश्यक मापदण्ड पूरा गर्दै जिएमपी लिने प्रयास गरेको हो । यसका लागि पूर्वाधार तथा प्रविधि विकास गर्नुका साथै कर्मचारी नियुक्ति थालिएको महाप्रबन्धक डा. रोभसकुसम सुवेदीले बताए ।

अहिले औषधि लिमिटेडले जिएमपी प्राप्तिका लागि गुणस्तर नियन्त्रण, पूर्वाधारको पुनर्निर्माण, उच्चस्तरीय मेसिनको प्रयोग, कर्मचारीको क्षमता वृद्धिलगायत काम गरिरहेको उनले बताए । ‘विभिन्न शाखाहरूमा जिएमपी मापदण्डअनुसार फर्मासिस्ट, माइक्रोबायोलोजिस्ट, इन्जिनियर, मेसिनरी टेक्निसियनलगायत आवश्यक प्राविधिक नियुक्त गरी कार्य अघि बढिरहेको छ,’ उनले भने, ‘मापदण्डअनुसार नै गुणस्तर परीक्षण तथा नियन्त्रण ल्याब स्थापना, औषधि उत्पादनकक्षको पुनर्निर्माण र अत्याधुनिक मेसिनरीको समेत प्रयोग बढाइएको छ ।’

अबको सात महिनामा उद्योगले जिएमपी सर्टिफिकेट प्राप्त गर्ने उनको दाबी छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागको सुपरीवेक्षणमै औषधि उत्पादन गरिरहेकाले छिट्टै जिएमपी प्रमाणपत्र पाउने उनको भनाइ छ । ‘अबको ६ महिनाभित्र हाम्रो उत्पादन थालेको एक वर्षे प्रतिवेदन आउनेछ,’ उनले भने, ‘त्यसको एक महिनाभित्र जिएमपी प्रमाणपत्र प्राप्त गर्न सकिनेछ ।’

उद्योगले २८ प्रकारका अत्याधुनिक विश्लेषणात्मक उपकरणहरू जडान गरेको जनाइएको छ । प्रयोगशालामा गुणस्तर जाँच गर्न आवश्यक विभिन्न रासायनिक पदार्थहरू खरिद गरी कामसमेत सुरु गरिसकिएको छ । प्रयोगशाला सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति नियुक्त गरिएको छ । कुशल प्रयोगशाला अभ्यास विधिअनुसार दस्तावेजीकरण, स्ट्यान्डर्ड अपरेटिङ प्रोसेड्युअर, मेथोड डिभेलपमेन्ट, कच्चापदार्थ, प्याकेजिङ सामग्री, तयार औषधिको विधि निर्माण गरी सोहीअनुरूप कार्यसञ्चालन हुँदै आएकाले छिट्टै जिएमपी पाइने उनले बताए ।

माघबाट सिटामोल उत्पादन गर्ने
औषधि लिमिटेडले एक महिनाभित्रै सिटामोल उत्पादन थाल्ने भएको छ । ट्याब्लेट उत्पादन एकाइको पुनर्निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिँदै माघको पहिलो साताभित्रै सिटामोल उत्पादन गर्ने तयारी भइरहेको औषधि लिमिटेडका सचिव टीकाराम अर्यालले बताए । ‘सिटामोल उत्पादनका लागि ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ, कच्चापदार्थको आयात, प्याकेजिङ तथा वितरणका लागि बोलपत्रसम्बन्धी कार्य सम्पन्न भइसकेको छ,’ उनले भने, ‘आउँदो माघ दोस्रो सातासम्म सिटामोल उत्पादन गरी बजारमा लैजाने तयारी छ ।’ औषधि लिमिटेडले प्रत्येक महिना थप एउटा उत्पादन सुरु गर्ने जनाएको छ । उद्योगले अत्यावश्यक १५ थरीका औषधि क्रमैसँग उत्पादन थाल्नेसमेत जनाएको छ ।

एक वर्षमा के–के भयो प्रगति ?
एक वर्षअघि नियुक्त महाप्रबन्धक सुवेदीले मंगलबार पत्रकार सम्मेलन गरी हालसम्म भएका प्रगतिको जानकारी गराएका छन् । उनका अनुसार हालसम्म उत्पादन शाखाका ट्वाइलेट तथा चेन्जिङ रुमहरूको स्तरोन्नति, कारखानाका झ्याल, ढोका तथा भित्ताहरूको रङरोगन, विद्युत् वायरिङ, प्लम्बिङ गरिएको, प्रशासनिक कार्यमा कम्प्युटर प्रविधिको सुरुवात, इलेक्ट्रोनिक हाजिरीको थालनी, जीवनजल र ट्याबलेट उत्पादन एकाइको पुनर्निर्माणलगायतका काम सम्पन्न भएका छन् । त्यस्तै, ग्लिसिरिन तथा डिस्टिल्ड वाटरको उत्पादन एक वर्षभित्रमा १५५ प्रतिशतसम्म वृद्धि भएको समेत उनले बताए । औषधिमा आत्मनिर्भर बन्ने उद्देश्यले २०२९ सालमा स्थापना भएको यस उद्योगले २०६० सालसम्म १२० प्रकारका औषधि उत्पादन गर्दै आएको थियो । तर, विश्व स्वास्थ्य संगठनको मापदण्ड जिएमपी पूरा गर्न नसकी २०६७ सालदेखि बन्द भएको थियो ।

तपाईको प्रतिक्रिया