कस्मिरमा आइएसको बढ्दो च्यानल
eNaya Patrika
  • ePaper

कस्मिरमा आइएसको बढ्दो च्यानल

कथित इस्लामिक स्टेट (आइएस) ले कस्मिरमा आफ्नो पकड बढाउने कोसिस गरिरहेको संकेत प्राप्त भएका छन् । आइएससित सम्बन्धित केही अनलाइन एकाउन्टबाट कस्मिरमा मुजाहिद्दिनले बनाएका संगठनप्रति समर्पणको शपथ लिँदै गरेका केही भिडियो सेयर गरिएका थिए । १३ मिनेट ४६ सेकेन्डको एउटा भिडियो २५ डिसेम्बरमा आइएसको नासिर न्युज नेटवर्कका तर्फबाट म्यासेजिङ एप्लिकेसन टेलिग्राममा ‘बेलायत कस्मिर’ ह्यासट्यागका साथ पठाइएको थियो ।

यस भिडियोमा नकाब लगाएका एक व्यक्ति अबु अल बारा अल कस्मिरी उर्दू बोल्दै गरेका देखिन्छन् । भिडियोमा अंग्रेजी सबटाइटल पनि छ । जसमा यिनले अबु बकर अल बगदादीका लागि निष्ठाको शपथ लिन्छन् । र, अन्य उग्रवादी संगठनलाई पनि यस्तै गर्न आग्रह गर्छन् । ‘अल कस्मिरी’ ले हालैमा अलकायदासित जोडिएको एक जिहादी गुट बनाएको कुरा बताएका थिए । अर्कातिर अन्सार गजावत उल हिन्दको नेतृत्व जाकिर मुसाले गरिरहेका छन् र उनी खलिफामा सामेल हुनका लागि आमन्त्रित गरिरहेका छन् ।

पाकिस्तानी आइएसआईको निन्दा
भिडियोमा नकाब पहिरिएका एक मानिसले पाकिस्तानी गुप्तचर एजेन्सी आइएसआई र जिहादी भएको दाबी गर्ने केही स्थानीय उग्रवादी संगठनको आलोचना गरेको देखिन्छ । यिनले यस्तै एक संगठन हिज्ब–लस्कर–जैस–तहरिकलाई फर्जी संगठन भएको बताएका छन् । भिडियोको अन्त्यमा नकाब पहिरिएका मानिसको समूह गल्लीमा इस्लामिक स्टेटको झन्डा र अबु बकर अल बगदादीका लागि समर्पणको नारा लगाउँदै गरेको देखिन्छ ।

यस भिडियोमा निदा हक र अल करार मिडियाको लोगो देखिन्छ । अल करार कस्मिरकेन्द्रित मिडिया संस्था हो, जो जम्मु कस्मिरमा इस्लामिक खलिफाको बफादार भएको दाबी गर्ने गर्छ । हालैका दिनमा यस संगठनले भारतमा टेलिग्रामका माध्यमबाट आक्रमण गर्ने धम्की दिएको छ । विगतका केही महिनामा कस्मिरमा इस्लामिक स्टेटको समर्थन गर्ने माध्यमको संख्यामा वृद्धि भएको छ । यसबाट कस्मिरमा आइएस समर्थक बढेको पनि आशंका गरिँदै छ ।

कस्मिरमा लडाकु भर्ती
जुन महिनामा इस्लामिक स्टेटमा कस्मिरमा लडाकु भर्ती गर्नेबारे एक लेख प्रकाशित भएको थियो । यसको एक महिनापछि एक आइएस समर्थक र आफूलाई ‘अन्सारुल खिलाफह जम्मु कस्मिर’ बताउने एउटा सानो संगठन अगाडि आएको थियो । यस संगठनले कस्मिरमा आइएस समर्थकलाई एकसाथ आगामी युद्धका लागि तयार हुन अपिल गरेको थियो ।

यसै महिना एउटा नयाँ अल कायदासित सम्बन्धित अन्सार गजावत उल हिन्द अगाडि आएको छ । नोभेम्बर महिनामा भारत प्रशासित कस्मिरमा भएको आक्रमणको आइएसले जिम्मेवारी लिएको थियो । आइएसले यसलाई ‘कमान्डो अपरेसन’ बताएको छ । जसमा एक प्रहरी अधिकारीको मृत्यु भएको थियो र एक घाइते भएका थिए ।

इस्लामिक स्टेटले ०१५ देखि नयाँ शाखाको घोषणा गरेको छैन । अतीतमा इस्लामिक स्टेटले यस्तो घोषणाका लागि एक खास तरिकाको प्रक्रिया पालना गर्ने गरेको देखिन्थ्यो । यी प्रक्रिया त्यस्तै देखिने गर्थे, जुन कस्मिरमा फलाइएको भिडियोमा देखाइएको छ । कुनै एउटा खास क्षेत्रबाट आइएस र यसका नेताप्रति समर्पणको संकल्प लिने गरिन्छ । यसपछि आइएस समर्थक लडाकुमध्येबाट मुखिया चुनिएको खबर घोषणा गरिन्छ । यसपछि मात्र आइएसको नयाँ शाखाको घोषणा गर्ने गरिन्छ ।
(बिबिसी हिन्दीका लागि बिबिसी मनिटरिङमा आधारित)
बिबिसी डट कम-हिन्दीबाट

तपाईको प्रतिक्रिया