विवादको सेरोफेरो
eNaya Patrika
  • ePaper

विवादको सेरोफेरो

परम्परागत सामाजिक आर्थिक तथा राजनीतिक मूल्य छाडेर नयाँ मूल्य अपनाउन अभ्यास थालेको नेपाल यतिवेला अनेक खालका विवादको घेरोमा परेको देखिन्छ । दैनिक समाचारहरू नियाल्दा पनि यसबारे थाहा हुन्छ । राजनीति त विवाद र फरक मतको अर्को नाम नै भइहाल्यो । यहाँ कुखुरा पहिला जन्म्यो कि अन्डा भन्ने विवादले समेत हाम्रा केही वर्ष खाइदिन सक्छ भन्ने विषयमा नेपाली जनता विगतको दशकमा भुक्तभोगी नै भएका छन् । संविधानसभा पहिला कि गणतन्त्र, संविधान पहिला कि सेना समायोजन, संविधान पहिला कि संशोधन जस्ता विषयमा लामो बहस गरेका अहिलेका राजनीतिक दल एकअर्कामा साइनो नै नभएको राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचन कुन पहिले भन्ने विवादमा अल्झिरहेका छन् । यता राष्ट्रिय सभा निर्वाचनमा पनि विवाद छ, उता निर्वाचनमा गठबन्धन गरेर गएका वामपन्थी दलहरू निर्वाचनपछि केटाकेटीले खेलिसकेपछि कट्टी भनेर आआफ्ना घर फर्किन लागेको जस्तो व्यवहार देखाउँदै छन् । यी विवादलाई स्वाभाविक मान्ने हो भने पनि समाजका अरू पक्षमा देखिएका विवादले नै मानिसलाई हैरान पारिरहेका छन् ।

आमउपभोगका लागि राजनीतिक बखेडाबाजी गर्ने प्रचलनलाई धान्दै उपमेयरले निर्माण कार्य रोक्न रानीपोखरीभित्र प्रवेश गर्ने ढोकामा ताला लगाएको र मेयरले ताला फोडेको समाचारले काठमाडौं तरंगित भएको छ

काठमाडाैँको रानीपोखरीको विवाद पनि त्यस्तै एउटा हो । झन्डै तीन सय वर्ष पुरानो यो संरचनाको ऐतिहासिक, पुरात्विक र सांस्कृतिक महत्व नगुम्ने गरी पुनर्निर्माण हुनुपर्छ भन्ने आवाजबीच काठमाडाैँ महानगरपालिका भने कंक्रिटको पर्खाल लगाएर रानीपोखरीलाई आधुनिक ढंगले पुनर्निर्माण गर्ने र त्यसलाई व्यापारिक प्रयोजनका लागि तयार पार्ने अभियानमा सक्रियतासाथ लागेको छ । सार्वजनिक सरोकारको विषय भएकाले आमनागरिकले आफ्नो मत व्यक्त गरिरहेका छन् भने पुरातत्व विभाग र महानगरबीच मात्र होइन, महानगरका मेयर र उपमेयरबीचसमेत विवाद छताछुल्ल भएको छ । आमउपभोगका लागि राजनीतिक बखेडाबाजी गर्ने प्रचलनलाई धान्दै उपमेयरले निर्माण कार्य रोक्न रानीपोखरीभित्र प्रवेश गर्ने ढोकामा ताला लगाएको र मेयरले ताला फोडेको समाचारले काठमाडौं तरंगित भएको छ । पुरात्विक महत्वका सम्पदा भूकम्पले ध्वस्त भएपछि निर्माणको पर्खाइमा छन् । तर, यस्तै विवादको घेरामा परेर समयमै तिनको पुनर्निर्माण सुरु हुन सकेको छैन । यसै पनि नेपालको राजनीतिक प्रशासनिक संरचनामा छिटो र तोकिएको समयमा आफ्नो जिम्मेवारी पूरा गर्ने चलन बसेको छैन । त्यसमाथि अनेक सरोकारवाला निकायबीच तालमेल नमिल्दा र कतिपय वेला कमिसनको चक्करमा परेर पनि यस्ता कामले गति लिन सकेका छैनन् ।

यस्तै विवादको मारमा पर्नेमा रानीपोखरी छेउको ऐतिहासिक सम्पदा दरबार हाईस्कुल पनि परेको छ । भूकम्पले ध्वस्त भएको यसको संरचना नबन्दा सो विद्यालयका विद्यार्थी टहरामा पढ्न बाध्य छन् । यता सहरको मुख्य भागमा रहेको सो संरचनाको भग्नावशेषले हाम्रो निर्माणको गतिलाई गिज्याइरहेको छ । यसको पुनर्निर्माणको काम गर्न चीनले अग्रसरता देखाएको र त्यसका लागि उसले डिजाइनलगायत काम गरिसकेको भए पनि यो कसरी बनाउने र कस्तो सामग्री प्रयोग गर्ने भन्ने विषयमै नेपालका विभिन्न निकायबीच विवाद रहेकाले समयमै यसको निर्माण हुन नपाएको मात्र होइन, आउन लागेको सहयोगसमेत फिर्ता हुन सक्ने जोखिम पनि बढ्दै गएको छ । समाज र राज्य व्यवस्थाले यस्ता काम गर्ने जिम्मेवारी विभिन्न निकायलाई तोकेको हुन्छ । कमसेकम आफ्नो जिम्मेवारी सबैले समयमै पूरा गरिदिए यी दुःखबाट हामी मुक्त हुने थियौँ ।

तपाईको प्रतिक्रिया