दुई करोडकाे लगानीमा रिर्सोट सञ्चालन - Naya Patrika
eNaya Patrika
  • ePaper

दुई करोडकाे लगानीमा रिर्सोट सञ्चालन

दुई करोडकाे लगानीमा रिसोर्ट सञ्चालन – एक बिघा क्षेत्रफलमा पोखरी । त्यही पोखरीमा २२ लाख विभिन्न प्रजातिका माछा । पोखरीको बीचमा रमणीय भौतिक संरचना । भरतपुर–१५ मंगलपुरमा रहेको चितवन फूलबारी एग्रो रिसोर्टको खास परिचय यहीँ नै हो ।

आगामी पुस १५ गतेबाट सञ्चालनमा आउन लागेको यस रिसोर्ट दुई करोड रूपैयाँ लगानीमा सुरू गरिएको सञ्चालक राजकुमार गुरूङले बताए । गुरुङसहित अन्य तीन जनाको त्यस रिर्सोटमा लगानी रहेको छ । अन्य सञ्चालकहरुमा मीनबहादुर थापा, भेषराज गौतम र मोहनराज थापा रहेका छन् । रिसोर्टको कुल क्षेत्र २ बिघा ६ कठ्ठा रहेको छ ।

रिर्सोटबीचमा रहेको पोखरी निकै ऐतिहासिक रहेको स्थानीय बताउँछन् । रिसोर्ट सञ्चालनका साथै पोखरी संरक्षणमा पनि ध्यान दिइएको सञ्चालक भेषराज गौतमले बताए । रिसोर्ट सञ्चालनमा आउन लागेको जानकारी दिने उद्देश्यले सोमबार गरिएको पत्रकार सम्मेलनमा होटल सञ्चालक मध्येका मिनबहादुर थापाले रिसोर्टमा रहेको पोखरीमा २२ लाख वटा माछाका भुराहरु छोडिएको बताउँदै रिसोर्टमा जाने व्यक्ति आफैले माछा मारेर समेत खान सकिने बताए ।

रिसोर्ट सञ्चालनको तयारी भइरहेको उल्लेख गर्दै २० वटा होम स्टेसमेत निर्माण गर्ने तयारी भएकोमा माघको दोस्रो हप्तासम्म सात वटा होम स्टे सञ्चालनमा ल्याइसक्ने थापाको भनाइ थियो । विवाह, व्रतबन्ध, जन्म दिन तथा शुभकार्यको लागि हलसहित क्याटरिङको समेत व्यवस्था गरिएको उल्लेख गर्दै थापाले रिसोर्टको आफ्नै बारीमा उत्पादन भएको खाद्यान्न खुवाइने जानकारी दिए ।

उक्त रिसोर्टको बजार व्यवस्थापन निर्देशक भेषराज गौतमले रिसोर्टले प्याकेजमा नै पर्यटकहरुलाई घुमाउने बताए । रिसोर्टमा जाने ग्रहाकले डुंगा सयर गर्दै खानपानमा रमाउन सक्ने उल्लेख गर्दै गौतमले रिसोर्टलाई सूचना र प्रविधिमैत्री बनाउनको लागि सुविधाहरु थप गर्दै लैजाने जानकारी दिए । मंगलपुरमा रहेको विद्यालय विश्वप्रकाश माविको जग्गामा रिर्सोट सञ्चालन गरिएको हो । १० वर्षको लागि एकमुस्ट भाडा तिरेर सञ्चालनमा ल्याइएको मुख्य सञ्चालक गुरुङले बताए ।

तपाईको प्रतिक्रिया