१३ बैंक चुक्ता पुँजी पुर्‍याउन सफल, १५ बैंक कसरतमै - Naya Patrika
eNaya Patrika
  • ePaper

१३ बैंक चुक्ता पुँजी पुर्‍याउन सफल, १५ बैंक कसरतमै

चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार १३ वाणिज्य बैंकहरू ८ अर्ब चुक्ता पुँजी पुर्‍याउन सफल भएका छन् । राष्ट्र बैंकले दुई वर्षअघि समयसीमा तोकेर बैंक तथा वित्तीय संस्थालाई चुक्ता पुँजी वृद्धि गर्न निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार १७ वाणिज्य बैंकले मर्जर-एक्विजिसन, हकप्रद, बोनस, एफपिओलगायत वित्तीय उपकरणमार्फत आफ्नो पँुजी वृद्धि गरेका हुन् ।

दीर्घकालीन विकासका लागि आवश्यक पुँजी निर्माण गर्ने भन्दै राष्ट्र बैंकले ०७२-७३ को मौद्रिक नीतिमार्फत ०७४ असारसम्ममा बैंक तथा वित्तीय संस्थाले पुँजी वृद्धि गर्नुपर्ने व्यवस्था गरेको थियो । सोअनुसार सबै वाणिज्य बैंकले ८ अर्ब चुक्ता पुँजी पुर्‍याइसक्नुपर्ने हो ।

यद्यपि, पुँजी वृद्धिको प्रक्रिया सुरु गरिसकेका बैंक तथा वित्तीय संस्थाले भने आफ्नो लेखापरीक्षण गरिएको ‘ब्यालेन्स सिट’मा प्रकाशन गर्नुअघिसम्मलाई समयसीमा पाएका छन् । अर्थात्, ०७४ पुस मसान्तसम्ममा सबै बैंक तथा वित्तीय संस्थाले तोकिएको पुँजी पुर्‍याइसक्नुपर्ने हुन्छ । तर, बैंकहरूले कम्पनी रजिस्ट्रारको कार्यालयमा जरिवाना तिरेर साधारणसभा पुसपछि समेत गर्न सक्नेछन् । यसलाई हेर्दा पुँजी वृद्धिका लागि पुस मसान्त नै अन्तिम मिति हुने नदेखिएको राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डित बताउँछन् । राष्ट्र बैंकबाट स्वीकृति लिएर पुसपछि पनि साधारणसभा गरी बैंकहरूले चुक्ता पुँजी वृद्धि गर्ने लचकता भने विद्यमान छ ।

नेप्सेमा सूचीकृत २८ वाणिज्य बैंकमध्ये १५ वाणिज्य बैंकहरूले चुक्ता पुँजी पुर्‍याउन बाँकी छ । चुक्ता पुँजी बढाउन बैंकहरूले अन्य वित्तीय संस्थाहरूसँग मर्जर-एक्विजिसन पनि गरेका छन् ।

१५ बैंक अझै कसरतमा
राष्ट्र बैंकले तोकेअनुसार चुक्ता पुँजी पुर्‍याउन १५ वटा वाणिज्य बैंकले अझै कसरत गरिरहेका छन् । जनता बैंक, नेपाल एसबिआई, सिद्धार्थ बैंक, हिमालयन बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, प्रभु बैंक, बैंक अफ काठमाडौं, सेन्चुरी बैंक, सिभिल बैंक, एनसिसी बैंक, मेगा बैंक र नेपाल स्ट्यान्डर्ड चार्टर्ड बैंकले चुक्ता पुँजी पुर्‍याउन हकप्रद, बोनस, एफपिओलगायतका उपकरणहरू प्रयोग गरिरहेका छन् ।

सञ्चित पुँजी र नाफा पनि पुँजीकरण
हकप्रद, बोनस सेयरलगायतका उपकरणबाट समेत तोकिएको चुक्ता पुँजी नुपुग्ने केही बैंकहरूले सञ्चित पुँजी र अघिल्लो आर्थिक वर्षको नाफालाई समेत पुँजीकरण गर्ने भएका छन् । सिभिल बैंक, एनएमबि बैंक, सेन्चुरी बैंक, कुमारी बैंक, एनसिसीलगायत बैंकले आफूसँग भएको सञ्चित पुँजी र नाफालाई समेत पुँजीकरण गरी तोकिएको चुक्ता पुँजी पुर्‍याउने जनाएका हुन् ।

साधारणसभा कहिलेसम्म ?
पुँजी वृद्धिको प्रक्रिया सुरु गरिसकेका बैंक तथा वित्तीय संस्थाले आफ्नो लेखापरीक्षण गरिएको ‘ब्यालेन्स सिट’ प्रकाशन गर्नुअघिसम्मलाई समयसीमा पाएका छन् । अर्थात्, यही पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले तोकिएको पुँजी पुर्‍याइसक्नुपर्नेछ । साधारणसभा नगरेसम्म लेखापरीक्षण भएको ब्यालेन्स सिट प्रकाशन गर्न मिल्दैन । कम्पनी ऐनमा जुनसुकै कम्पनीले जरिवाना तिरेर साधारणसभा पुसपछि पनि गर्न सक्ने व्यवस्था रहेको कम्पनी रजिस्ट्रारको कार्यालयकी रजिस्ट्रार गीता हुमागाईंले बताइन् । यसर्थ, बैंकहरूले कम्पनी रजिस्ट्रारको कार्यालयमा जरिवाना तिरेर साधारणसभा पुसपछि समेत गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया