‘ननभेज’ भुजियाको स्थलगत निकासीमा भारतले लगाएको प्रतिबन्ध हटाउन माग
eNaya Patrika
  • ePaper

‘ननभेज’ भुजियाको स्थलगत निकासीमा भारतले लगाएको प्रतिबन्ध हटाउन माग

नेपालमा उत्पादित ‘ननभेज’ भुजियाको स्थलगत निकासीमा भारतले लगाएको प्रतिबन्ध हटाउन उद्योगीहरूले माग गरेका छन् । भारतले केही महिनादेखि विशेष कारण देखाउँदै ‘ननभेज’ भुजियाको स्थलमार्गबाट भइरहेको निकासीमा रोक लगाएपछि उद्योगीहरूले फुकुवा गर्न भारतसँग माग गरेका हुन । सन् २०१४ मा भारतले बनाएको शंकास्पद खाद्य वस्तुहरूको सूचीमा नेपालका चाउचाउ उद्योगहरूले उत्पादन गर्ने ननभेज भुजिया पनि परेको थियो । सो समयमा कम्प्युटर सर्कुलेसन नहुँदा शंकास्पद सूचीमा परे पनि नेपाली भुजिया स्थलमार्गबाट सहज निकासी हुँदै आएको थियो । तर, सन् २०१७ बाट भारतले आफ्नो भन्सारमा कासिकुडा सिस्टम लागू गरेपछि प्रतिबन्ध लगाइएका सम्पूर्ण वस्तुहरूको सूची सार्वजनिक भयो । जसले गर्दा नेपालमा उत्पादित करिब एक वर्षदेखि ‘ननभेज’ भुजिया स्थलमार्गबाट निकासी गर्न भारतले पूर्ण रूपमा रोक लगाएको छ । स्थलमार्गमा व्यवस्थित खाद्य परीक्षण क्वारेन्टाइन नभएकाले हवाईमार्गबाट मात्र ‘ननभेज’ भुजिया निकासी गर्नुपर्ने भारतीय कस्टम विभागको परिपत्रमा उल्लेख छ ।

नेपाली ‘ननभेज’ भुजियाहरू भारतको बिहार, उत्तर प्रदेश र बंगाल राज्यमा बढी खपत हुन्छ । नेपालका विभिन्न उद्योगहरूले वार्षिक १५ करोड बढीको ‘ननभेज’ भुजिया भारतमा निकासी गर्ने एसियन थाइफुड्सका निर्यात प्रबन्धक प्रविणनारायण चौधरीले बताए । उनका अनुसार स्थलमार्गमा भएको प्रतिबन्ध फुकुवा नभएमा हवाई कार्गोबाट भुजिया निर्यात गर्न सम्भव छैन । प्रबन्धक चौधरीले भने, ‘भारतले शंकास्पद सूचीमा राखेका धेरै वस्तुहरूको प्रतिबन्ध फुकुवा गरिसकेको छ । भुजियामा कुनै अखाद्य वस्तु मिलावट नभएकाले ‘ननभेज’ भुजियाको प्रतिबन्ध पनि फुकुवा हुनुपर्छ ।’

स्थलमार्गबाट किन प्रतिबन्ध

नेपालमा सञ्चालित चाउचाउ उद्योगहरूले चिकन स्वादको भुजिया उत्पादन गर्दै आएका छन् । साना–साना प्याकेटमा समेत उपलब्ध यस्ता भुजियालाई ‘ननभेज’ भुजिया भनिन्छ । चिकेन फ्लेवरको स्वादिलो भएकाले यो भुजियाको भारतीय बजारमा माग अधिक छ । तर, भारतले भने भुजियामा जनावरको बोसो प्रयोग भएको आशंका गर्दै हानिकारक मानेर शंकास्पद खाद्य वस्तुको सूचीमा उल्लेख गरेर स्थलमार्गबाट निकासीमा प्रतिबन्ध लगाएको हो । उच्च तहको क्वारेन्टाइन चेक हुने भएकाले हवाई कार्गोबाट चाहिँ निकासी अनुमति दिइएको छ । तर, नेपालमा उत्पादित ‘ननभेज’ भुजियामा कुनै पनि जनावरको बोसो प्रयोग गरिएको हुँदैन । यसमा चिकेनको फ्लेवर प्रयोग गरिएको हुन्छ । यसैले पनि नेपालमा उत्पादित ननभेज भुजिया सहज रूपमा स्थलमार्गबाटै निकासी गर्न पाउनुपर्ने उद्योगीहरूको माग छ ।

तपाईको प्रतिक्रिया