एमाले–माओवादी एकताका आधार - Naya Patrika
eNaya Patrika
  • ePaper

एमाले–माओवादी एकताका आधार

यतिवेला एमाले र माओवादी केन्द्र एकताको संघारमा उभिएका छन् । परन्तु सामाजिक सञ्जाल र सञ्चार माध्यममा विभिन्न बहस तथा विवाद सतहमा देखिएका छन्, जसले एकातिर समग्र एकता प्रक्रियामै सन्देह पैदा गरेको छ भने नेपाली कम्युनिस्टलाई ‘फुटाऊ र राज गर’ भन्ने नीतिका आधारमा विभाजन गरेर सधैँभरि शासनसत्ता आफ्नो हातमा लिन पल्केको प्रतिक्रियावादी वर्गलाई सल्बलाउने बहाना र अवसर प्राप्त भएको छ ।

नहेन्द्र खड्का

एकताका प्रस्थानबिन्दु
१. यी दुवै राजनीतिक दललाई पार्टी एकताबाट भाग्ने छुट छैन । त्यसो गरेमा एकताविरोधी पार्टी वा नेता नेपाली जनताको नजरमा धोकेबाज तथा गद्दार साबित हुनेछ र उसको भविष्य समाप्त हुनेछ भने दुवै पार्टीका साथै नेपालको समग्र कम्युनिस्ट आन्दोलन कमजोर हुनेछ ।

२. यी दुई पार्टीबीच समानताका आधारमा एकता हुने र नयाँ पार्टी निर्माण हुने भएकाले दुवै पार्टीको नेतृत्व र आमकार्यकर्ताले बुझ्नु सोहीअनुसार व्यवहार गर्नु जरुरी छ । यहाँ एउटाले अर्कालाई आफ्नो कुरा लाद्न न सम्भव छ, न त आवश्यक नै ।

३. नयाँ बन्ने कम्युनिस्ट पार्टीको नाम पहिले छलफल गरेजस्तै ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्न सकिन्छ । यसले २००६ सालको नेकपाको बिरासतलाई पुनः फर्काउँछ ।

४. एकीकृत कम्युनिस्ट पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा माक्र्सवाद, लेनिनवाद र माओवादलाई स्थापित गर्नुपर्छ । माओवादी केन्द्रले जनयुद्धकालको प्रचण्डपथ र हेटौँडा महाधिवेशनद्वारा पारित ‘नयाँ संश्लेषण (न्यु सिन्थेसिस)’ लाई र एमालेले ‘जनताको बहुदलीय जनवाद’लाई मार्गदर्शक सिद्धान्त बनाउने दाबी गर्नु आवश्यक छैन । ‘नयाँ संश्लेषण’ क्रान्तिको कार्यक्रम हो भने बाँकी दुई जनवादी क्रान्तिकालका विचार हुन्, जसको चरण समाप्त भइसकेको छ ।

५. माओवादी केन्द्रको सबैभन्दा पछिल्लो महाधिवेशनका रूपमा रहेको ०६९ मा सम्पन्न तत्कालीन हेटौँडा महाधिवेशनले ‘नेपाली क्रान्तिको नयाँ संश्लेषण’को रूपमा नेपालमा नयाँ जनवादी क्रान्तिका मूल कार्यभार आफ्नै मौलिकतामा सम्पन्न भइसकेकाले अब समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्ने र जनवादी क्रान्तिका बाँकी कार्यभारलाई समाजवादी क्रान्तिकै रणनीतिअन्तर्गत पूरा गर्ने कार्यदिशा लिएको छ । त्यसको झन्डै २ वर्षपछि ०७१ सालमा भएको एमालेको नवौँ राष्ट्रिय महाधिवेशनले पनि संस्थागत रूपमा पहिलोपटक देशमा जनवादी क्रान्तिको चरण समाप्त भएको र अबको बाटो समाजवादी क्रान्तिको भएको निष्कर्ष निकालेको छ । यो नै दुवै कम्युनिस्ट पार्टीको एकताको वैचारिक प्रस्थानबिन्दु हो ।

६. दुवै पार्टीमा यतिवेला पनि जनताको बहुदलीय जनवाद मान्ने कि एक्काइसौँ शताब्दीको जनवादलाई मान्ने भन्ने बहस उठेको छ । दुवै पार्टीले जनवादी क्रान्तिको चरण समाप्त भएको निष्कर्ष निकालिसकेपछि कुनै एक पार्टीको जनवादी क्रान्तिको कार्यक्रम मान्ने वा दुवै पार्टीको जनवादी क्रान्तिको कार्यक्रमलाई मिलाएर कुनै नयाँ ‘खिचडी’ कार्यक्रम बनाउने भन्ने अनावश्यक र गैरराजनीतिक बहस हो ।

७. अब नेपालको सामाजिक क्रान्तिको कार्यदिशा समाजवादी क्रान्तिको कार्यदिशा हो र सोही आधारमा नेपाली क्रान्तिको रणनीति र कार्यनीति तय हुनुपर्छ । यसअन्तर्गत तीन प्रकारका कार्यनीति र कार्यक्रम हुनुपर्छ । पहिलो, वर्तमान (पुँजीवादी) व्यवस्थालाई समाजवादोन्मुख बनाउन र समाजवादी क्रान्तिको तयारीका लागि संक्रमणकालीन कार्यनीति र कार्यक्रम हुनुपर्छ । दोस्रो, समाजवादी क्रान्ति सम्पन्न गर्ने विधि र प्रक्रियासम्बन्धी कार्यनीति र कार्यक्रम हुनुपर्छ । तेस्रो, समाजवादी क्रान्ति सम्पन्न भइसकेपछि अपनाउने सामाजिक, आर्थिक र राजनीतिक व्यवस्थाबारे कार्यनीति र कार्यक्रम हुनुपर्छ । पहिला दुई कार्यनीति र कार्यक्रम समाजवादी क्रान्तिको तयारीसँग र पछिल्लो समाजवादी व्यवस्थाको चरित्रसँग सम्बन्धित हुनेछन् ।

८. वर्गसंघर्ष, क्रान्तिमा बल प्रयोगको सिद्धान्त, सर्वहारा वर्गको अधिनायकत्व र निरन्तर क्रान्तिको सिद्धान्त कुनै पनि कम्युनिस्ट पार्टीका आधारभूत वैचारिक मान्यता हुन् । यिनमा बहस र विवाद हुनु आवश्यक छैन । यी चार मान्यतालाई नमान्ने पार्टी कम्युनिस्ट पार्टी हुन सक्दैन ।

९. एकीकृत कम्युनिस्ट पार्टीले २००६ देखि हालसम्मका ऐतिहासिक झापा विद्रोह, ०४६ सालको जनआन्दोलन, दशवर्षे जनयुद्ध र ०६२-६३ को ऐतिहासिक संयुक्त जनआन्दोलनसहित नेपालका सबै कम्युनिस्ट पार्टी, समूह र तीसँग आबद्ध जनवर्गीय संगठनका साथै भीमदत्त पन्त र कामी बुढाजस्ता कम्युनिस्टको नेतृत्वमा भएकासमेत सबै सशस्त्र वा निःशस्त्र विद्रोह, संघर्ष र जनआन्दोलनलाई सम्मानपूर्वक स्वीकार गर्नुपर्छ ।

१०. एकीकृत पार्टीको राजनीतिक दर्शन ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवाद एवम् अर्थशास्त्रीय आधारभूत सिद्धान्तमा अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसंघर्ष र सामाजिक न्यायमा आधारित समाजवादी अर्थतन्त्रको पक्षधरता र नवउदारवाद तथा दलाल नोकरशाही पुँजीवादविरोधी नीति तथा कार्यक्रम हुनुपर्छ ।

११. पुष्पलालले भनेझैँ कम्युनिस्ट पार्टी नेताप्रधान नभएर नीतिप्रधान हुन्छ । त्यसका बाबजुद पनि नेतृत्वको विषय महत्वपूर्ण हुन्छ । यसपटक परिस्थितिवश दुईवटा कम्युनिस्ट पार्टी मिलेर पार्टी एकता गर्ने र बहुमतको सरकार बनाउने अवसर प्राप्त भएकाले आपसी सहमतिका आधारमा दुई पार्टीका अध्यक्षमध्ये एकले पार्टी अध्यक्ष र अर्काले सरकार प्रमुखका रूपमा समाजवादी क्रान्तिको नेतृत्व गर्ने अवसर प्राप्त छ । पार्टीगत वा गुटगत संकीर्णताबाट माथि उठेर यो अवसरलाई सदुपयोग गर्नुपर्छ ।

(खड्का माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन्)

तपाईको प्रतिक्रिया