भैरहवा प्लेअफमा : विराटनगरको अपराजित यात्रा जारी - Naya Patrika
eNaya Patrika
  • ePaper

भैरहवा प्लेअफमा : विराटनगरको अपराजित यात्रा जारी

समूहचरणका खेलहरू अन्तिम अवस्थामा पुग्दा एभरेस्ट प्रिमियर लिग इपिएलमा प्लेअफ पुग्ने टिमको टुंगो लाग्ने क्रम जारी छ । सोमबार भएको खेलमा भैरहवा ग्लाडियटर्स प्लेअफमा स्थान बनाउने दोस्रो टिमका रूपमा रह्यो ।

त्यसअघि भएको खेलमा काठमाडौं किंग्स ११ लाई पराजित गर्दै विराटनगर वारियर्स समूहचरणमा सबै खेलमा जित निकाल्दै प्रतियोगितामा शीर्षस्थानमा रहेर प्लेअफमा स्थान बनाउन सफल भयो । प्लेअफमा स्थान बनाउने सबै टिमको टुंगो मंगलबार लाग्नेछ ।

बाहिरियो काठमाडौं
प्रतियोगितामा हङकङका दुई ब्याट्सम्यानको सानदार प्रदर्शनको बलमा लगातार जित निकाल्दै आएको विराटनगर वारियर्स सोमबार पनि जित निकाल्द सफल भयो । काठमाडौंविरुद्धको खेलअघि नै प्लेअफमा स्थान बनाइसकेको विराटनरग विनादबाब मैदानमा उत्रिँदा काठमाडौंलाई भने अघिल्लो चरणको आसलाई कायम राख्न जित्नैपर्ने दबाब थियो ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको काठमाडौं फेरि एकपटक हङकङका कप्तानसमेत रहेका बाबर हायत र ओपनर ब्याट्सम्यान अन्सुमान रथको उत्कृष्ट प्रदर्शनमा काठमाडौंविरुद्ध १ सय ४७ रनको लक्ष्य प्रस्तुत गर्न सफल भएको थियो । जवाफमा काठमाडौं पूरै २० ओभरमा १ सय ३९ रनमा समेटियो ।

७२ रनको साझेदारी
विराटनगरलाई १ सय ४७ रनको अवस्थामा पुर्‍याउने क्रममा अन्सुमान रथले ३२ तथा बाबर हायतले ६७ रनको सानदार इंनिग खेल्दै दोस्रो विकेटका लागि ७२ रनको साझेदारी गरे । ओपनर अरिफ सेख शून्य रनमा पेभिलियन फर्किए पनि विराटनगरको संकट रथ र हायतले टारेका थिए ।

रथले २६ बलमा ४ चौका र १ छक्का प्रहार गर्दा हायतले ५० बलमा ५ चौका र ४ छक्का प्रहार गरेका थिए । यी दुई खेलाडी पेभिलियन फर्किएपछि भने विराटनगरको रनमा ब्रेक लागेको थियो । उसका लागि थप दोहोरो रनका रूपमा कप्तान पारस खड्काले २५ बलमा २ छक्का प्रहार गर्दै २६ रन बनाए ।

१ सय ४७ रनको लक्ष्य पछ्याएको काठमाडौंले ओपनर अमित श्रेष्ठलाई ६ रन तथा सागर पुनलाई १३ रनको अवस्थामा गुमाए पनि नरेश बढाएर र फरवेज महारुफले तेस्रो विकेटका लागि ३५ रनको साझेदारी गरे । यस्तोमा बुढाएर ३२ बलमा ४ चौकाको मद्दतमा ३० रन बनाएर पेभिलियन फर्किंदा महारुफले ३७ बलमा ४ चौकाको मद्दतमा ४२ रन बनाएका थिए । महारुफ आउट भएपछि भने काठमाडौं सम्हालिन सकेन । उसका लागि अन्तिमसम्म आशाको केन्द्रका रूपमा रहेका सिद्धान्त लोहनी दुई बल बाँकी रहँदा पेभिलियन फर्किएपछि काठमाडौं १ सय ३९ रनमा सीमित भयो ।

भैरहवाको सहज जित
दुई–दुई जित निकालेर आत्मविश्वासी देखिएका भैरहवा र पोखारा एक खेलअगावै प्लेअफमा स्थान बनाउन एकअर्काविरुद्ध उत्रिएका थिए । यस्तोमा भैरहवाले उत्कृष्ट बलिङ गरेपछि पोखरा १ सय ८ रनमै समेटियो ।

जवाफमा भैरहवाले १४ बल बाँकी छँदै लक्ष्य पूरा गर्‍यो । भैरहवाको जितमा कप्तान शरद भेषवाकर र आरिफ सेखले अविजित इनिङ खेले । भेषवाकरले ३७ बलमा ३ चौकाको मद्दतमा ३२ रन जोड्दा ४७ बलको सामना गरेका आरिफ सेखले ३ चौका र ३ छक्काको मद्दतमा ४८ रन बनाउँदै टिमलाई प्लेअफमा पुर्‍याएर पेभिलियन फर्किए । सेख म्यान अफ द म्याच घोषित भएका थिए । भैरहवाका ओपनर प्रदीप ऐरी पुनः एकपटक निष्प्रभावी रहे । उनी २ रनमै आउट हुँदा भारतीय खेलाडी प्रथम सलुनकेले १२ बलमा ४ चौकाको मद्दतमा २५ रन बनाएका थिए । भैरहवाले १७ ओभर ४ बलमा ३ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको पोखराका सुरुवाती तीन ब्याट्सम्यानले मात्र दोहोरो रनको स्कोर बनाए । जसमा पाकिस्तानी ब्याट्सम्यान इस्रारुल्लाहको ४१ रन सर्वाधिक रनका रूपमा रह्यो । इस्रारुल्लाहले ४० बलमा ६ चौकाको मद्दतमा ४१ रन बनाएका थिए ।

त्यस्तै, ओपनर सुनील धमलाले १६ बलमा १५ रन प्रहार गरे । त्यसैगरी, असिफ अलीको १० रन पनि पोखराका लागि दोहोरो स्कोरका रूपमा रह्यो । उसका आठ ब्याट्सम्यानले दोहोरो रनको स्कोर बनाउन सकेनन् । १८.३ ओभरमै पोखरा १ सय ८ रनको अवस्थामा अलआउट हुन पुगेको थियो । पराजयका बाबजुद पोखराको प्लेअफका लागि अझै एक मौका बाँकी छ । मंगलबार हुने समूहचरणको अन्तिम खेलमा जित निकाले पोखरा प्लेअफमा छनोट हुनेछ ।

तपाईको प्रतिक्रिया